नन्द सिंह
रलिङ (हुम्ला), पुस ११ गते । सर्केगाड गाउँपालिका– २ स्थित रिप गाउँमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो ।
फडेराका अनुसार बिहीबार राति ११ बजे लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते हुनुभएको छ ।
आगोमा परेर दुवैजनाको शरिर निकै जलेको र घाइेते दुबैजनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउने तयारी भइरहेको छ ।
आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ति फडेराको घर जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
‘‘क्षतिबारे एकिन विवरण छैन,’’ आगलागि नियन्त्रणमा खटिनुभएको बिजय फडेराले भन्नुभयो, ‘‘राति आगलागी भएका कारण नियन्त्रणमा समय लागेको थियो ।’’
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिनुभयो ।
अगालागीको जानकारी पाउने वित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘‘सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण एकिन गर्न सकिएको छैन’’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इनिस्पेक्टर विष्णु श्रेष्ठले भन्नुभयो, ‘‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भइरहेको छ भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।’’
घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीना लगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ ।