काठमाडौँ, पुस ११ गते । वरिष्ठ स्रष्टा तथा गायक शम्भुकुमार मिलनको नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ प्राडा वासुदेव त्रिपाठी तथा मीरा राणालाई प्रदान गरिएको छ ।
वरिष्ठ गायक तथा स्रष्टा शम्भुकुमार मिलनको पाँचौँ वार्षिक स्मृति दिवसका अवसरमा सो सम्मान प्रदान गरिएको हो । सम्मानितद्वयलाई २१ हजार १०१ रुपियाँसहित सम्मानपत्रले समानित गरियो ।
कार्यक्रममा साहित्यकार जगत प्रेक्षितले प्राडा त्रिपाठी र डा. टीका भण्डारीले गायिका राणाका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा प्रविज्ञा नेपालबाट प्राडा त्रिपाठीरचित कविता वाचन गरिएको थियो भने गायिका राणाको गीत सीता थापाले गाउनुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राडा देवी नेपाल, प्रा. भरतराज पन्त, विष्णुविभु घिमिरे, रेडियो नेपालका पूर्वनिर्देशक खगेन्द्र खत्री, संस्थाका संरक्षक निर्मला रेग्मीलगायतको उपस्थिति थियो ।