• २२ असार २०८२, आइतबार

मगर सङ्ग्रहालय स्थापना

blog

लीलाधर वली 

घोराही, असार २७ गते । आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले घोराही उपमहानगरपालिका–१३, नयाँ बसपार्कमा मगर जातिको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।नयाँ पुस्ताले विस्तारै मौलिक संस्कृति र परम्परा बिर्संदै गएकोमा चिन्तित देखिनुहुन्छ, मगर समुदायका अगुवा प्रेम बुढामगर ।नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय स्थापना गरिएपछि उहाँ खुसी हुनुहुन्छ ।

उहाँले वर्षौंदेखि आफ्नो जातीय भाषा, धर्म, वेशभूषा, कलासंस्कृति र परम्परा जगेर्ना गर्नुपर्छ भन्दै आउनुभए पनि राज्यले सहयोग नगर्दा सङ्ग्रहालय स्थापना हुन सकेको थिएन । यसले गर्दा मगर समुदायको कला, संस्कृति, वेशभूषाका बारेमा नयाँ पुस्तालाई जानकारी नहुने अवस्था आउन थालेको थियो । आधुनिकतासँगै विदेशी संस्कृति र परम्परामा नयाँ पुस्ता लागेकाले आफ्नो भाषा, धर्म र संस्कृति लोप हुन्छ कि भन्ने चिन्ता उहाँसँगै धेरै अग्रजमा थियो । 

मगर सङ्ग्रहालयमा  परम्परागत धनुष,  नरसिङ्गा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुलाजस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिले हातले बुनेका कपडा राखिएको छ । यसैगरी मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरूसँग जोडिएका कला, संस्कृति, वेशभूषालगायतका सामग्री सङ्ग्रहालयमा राख्न सङ्कलन गर्न पनि सुरु गरिएको छ । 

“मौलिकता झल्काउने सामग्री उपलब्ध गराउन सबैमा आग्रह गरेका छौँ,” मगर सङ्घ लुम्बिनी प्रदेशका मुख्य उपाध्यक्ष शीतलाल पुनमगरले भन्नुभयो, “सङ्ग्रहालय स्थापना गर्नुपर्दा हामी दुःखी छौँ । सङ्ग्रहालय भनेको लोप हुन लागेका सामग्री राखिने ठाउँ हो । हाम्रो जातीय मौलिक संस्कृति र परम्परा लोप हँुदै जाओस् भन्ने इच्छा त थिएन तर त्यसका लागि सङ्ग्रहालय स्थापना गर्न बाध्य भयौँ ।” 

बाहिर जति आफ्नो कलासंस्कृतिको जगेर्ना गर्ने कुरा गरे पनि व्यावहारिक रूपमा प्रयोगमा ल्याउन नसक्नु मुख्य चुनौती बनेको उहाँले बताउनुभयो । आधुनिकतासँगै आफ्नो भाषा, धर्म, संस्कृति र परम्परा बिर्सन नहुने उहाँको भनाइ छ ।

सङ्ग्रहालय निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले आठ लाख रुपियाँ उपलब्ध गराएको हो । अहिले केही सजावट गरेर आंशिक रूपमा मगर संस्कृति झल्कने खालका सामग्रीहरू राखिएको नेपाल मगर सङ्घ दाङका अध्यक्ष खलु पुनमगरले बताउनुभयो । उहाँले मगर समुदायको बाहुल्य भएका रोल्पा, रुकुमजस्ता ठाउँमा मगर परम्परा बोकेका सामग्रीको खोजी भइरहेको बताउनुभयो ।

“हामी ऐतिहासिक महत्त्वका सामग्रीको खोजीमा छौँ, सार्वजनिक रूपमा सबैलाई आह्वानसमेत गरेका छौँ,” उहाँले भन्नुभयो, “मगर जातजातिका वेशभूषा, संस्कृति र रीतिरिवाज झल्कने गरी सङ्ग्रहालय बन्छ ।” मगर जातिको बाहुल्य रहेका रोल्पा, रुकुमजस्ता ठाउँबाट बसाइँसराइ गरेर दाङमा आउने बढ्दै गएकाले सङ्ग्रहालयमा मगर समुदायको पहिचान दिलाउने सामग्रीबाट उहाँहरू पनि प्रेरित हुनुहुनेछ भन्ने विश्वास लिएको उहाँको भनाइ छ । सबै जातजातिको मौलिक संस्कृति र परम्परा जोगाउन सबै जातजाति एकजुट भई सङ्ग्रहालय निर्माण गर्न सके जिल्लाको पर्यटकीय क्षेत्रलाई समेत फाइदा पुग्ने खलु पुनले बताउनुभयो ।