• ३ असार २०८१, सोमबार

नेपालगञ्जमा इद धूमधाम मनाइयो

blog

नेपालगञ्जको इदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगञ्ज, असार २६ गते। इस्लाम धर्मावालम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजाह (बकराइद) बाँकेमा धूधामका साथ आइतबार मनाइएको छ। तीन दिनसम्म मनाइने यो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ।

 स्थानीय इदगाहमा बकराइदको सामूहिक नमाज पढेर सुरु भएको सो पर्व तीन दिनसम्म खसी, भेडा, दुम्बा, भैंसी, राँँगा जस्ता जनावर हलाल गरेर कुरबानी गरेर तेस्रो दिन समापन गरिने धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो। 

उहाँले त्याग, बलिदान र कुरबानीको पर्वका रुपमा मनाइने यो पर्वको विशेष महत्त्व रहेको बताउनुभयो। इदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सद्भाव, शान्ति तथा अमनचैनको कामना गर्दै दुआ मागिएको थियो। 

इदगाहमा  नमाज पढ्न पुग्नुभएका नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद इस्तियाक राईले धार्मिक र सामाजिक सद्भावलाई बलियो बनाउँदै विकास निर्माणमा जुट्नु यति बेला देशको आवश्यकता भएको बताउनुभयो। 

उहाँले सद्भाव र शान्ति विना विकासको कल्पना गर्न नसकिने जनाउँदै अबको समय विकासका लागि प्रतिस्पर्धा गर्ने समय भएको बताउनुभयो।

 नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले इद जस्ता पर्वले एकअर्काबीच भाइचारा बढाउन सहयोग गर्ने बताउनुभयो।

  बकराइदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले कुरबानीको क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा, दुम्बा, भैंसी, राँगा जस्ता जानवरको कुरबानी गरेका छन्। 

भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको नाममा मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैंसी, उँट जस्ता ठूला जनावरमा सात जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको धार्मिक गुरु मौलाना मन्जरीले बताउनुभयो। 

उहाँले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिनुभयो।

मुस्लिम सुमदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको धनसम्पत्ति छ। कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकराइदमा कुर्वानी गराउनुपर्ने धार्मिक नियम  छ।