गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते । नेपाल चिकित्सक सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आगामी माघमा हुने निर्वाचनका लागि बुधबार विभिन्न तीन समूहले उम्मेदवारी दर्ता गराएका छन् ।
एक समूहमा यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भइसक्नुभएका डा. मङ्गल रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । अर्को समूहबाट हाल राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै अर्को समूहबाट डा. नारायण भुसालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ किस्ट अस्पतालमा कार्यरत हुनुहुन्छ । डा. रावलको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा डा. कीर्तिपाल सुवेदीले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्ष तथा प्रदेश संयोजकमा कोशीबाट डा. टङ्क बाराकोटी हुनुहुन्छ । उहाँ स्वास्थ्य मन्त्रालयको निमित्त सचिवबाट राजीनामा दिएर सङ्घको उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
यस्तै मधेश प्रदेशबाट डा. उदयनारायण सिंह, बागमतीबाट डा. अरुण शाही, लुम्बिनीबाट डा. सन्तोष पोखरेल, गण्डकीबाट डा. यज्ञराज सिग्देल, कर्णालीबाट डा. रवीन खड्का, सुदूरपश्चिमबाट डा. नीरज अर्यालले मनोनयन दर्ता गर्नुभएको छ । डा. मङ्गलको समूहबाट महासचिव पदमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सहकोषाध्यक्षमा डा. सुवास गुरुङले उम्मेदवारी दर्ता गराउनुभयो । यस्तै डा. बद्री रिजाल समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले उम्मेदवारी दिनुभएको छ । उहाँ यसअघि महासचिव पदमा हुनुहुन्थ्यो । उपाध्यक्ष तथा प्रदेश संयोजकमा कोशीबाट डा. रोशन खड्का, मधेश प्रदेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, लुम्बिनीबाट डा. दिनेश चौधरी, गण्डकीबाट डा. नवराज लम्डारी, कर्णालीबाट डा. सुशील, सुदूरपश्चिमबाट डा. प्रमोद जोशीले उम्मेदवारी दिनुभएको छ । रिजालको समूहबाट महासचिव पदमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्लले उम्मेदवारी दिनुभएको छ ।
यस्तै डा. नारायण भुसालको नेतृत्वमा डा. अमृत भुसालले महासचिवमा उम्मेदवारी दर्ता गर्नुभएको छ । बागमती प्रदेशको उपाध्यक्षमा डा. एकानन्द सिंहले उम्मेदवारी दिनुभएको छ । चिकित्सक सङ्घको निर्वाचन काठमाडौँ उपत्यकाबाहिर माघ २ र ३ गते तथा काठमाडौँ उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुँदै छ ।