• ४ पुस २०८२, शुक्रबार

गोरखापत्रकर्मीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र

blog

काठमाडौँ, पुस ४ गते । गोरखापत्र संस्थानले करार तथा अस्थायी सेवामा कार्यरत सञ्चारकर्मी र कर्मचारीलाई औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरेको छ । 

संस्थानले बिहीबार आयोजना गरेको गोरखापत्र ‘डिस्कोर्स अन रिकोभरी एन्ड रेजिलेन्स’ को उद्घाटन कार्यक्रममा तीन जना कर्मचारीलाई साङ्केतिक रूपमा परिचयपत्र उपलबध गराएर यस कार्यको सुरुवात गरिएको हो । कार्यक्रममा पत्रकारिता सेवाबाट भेषराज बेल्वासे, प्रशासन सेवाबाट सुनम भट्टराई र प्राविधिक सेवाको तर्फबाट सुमन आचार्यलाई सामजिक सुरक्षा कोषमा आबद्धताको परिचयपत्र वितरण गरिएको थियो । संस्थान सञ्चालक समितिले संस्थानमा मासिक रूपमा तलब लिने सम्पूर्ण करार तथा अस्थायी पत्रकार कर्मचारीलाई कोषमा आबद्धता गराउने औपचारिक निर्णय यसअघि नै गरिसकेको छ । केही दिनअघि सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको  उपस्थितिमा संस्थानले आफ्ना कर्मचारीलाई कोषमा आबद्धता गराउने विषयमा सम्झौता गरेको थियो ।  

बिहीबारको कार्यक्रममा मन्त्री खरेलले पत्रकार तथा कर्मचारीलाई कोषमा आबद्ध गराएर गोरखापत्र संस्थान अन्य सरकारी सञ्चार माध्यमभन्दा अगाडि भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साथै यस कार्यका लागि संस्थान व्यवस्थापनलाई उहाँले  धन्यवादसमेत व्यक्त गर्नुभयो । 

सोही अवसरमा मन्त्री खरेलले लामो समयदेखि अड्किएको गोरखापत्र संस्थानको सङ्गठन तथा सर्वेक्षण व्यवस्थापनसम्बन्धी प्रतिवेदन मन्त्रालयको तर्फबाट पारित भएको जानकारी गराउनुभयो ।