• २ पुस २०८२, बुधबार

अर्जुनचौपारीमा बृहत् स्वास्थ्य शिविर हुने

blog

अर्जुनचौपारी गाउँपालिका

अर्जुन काफ्ले
स्याङ्जा, पुस २ गते ।
अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागेको हो ।

गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा हुने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली खटिने छ ।

शिविरमा मुटु तथा मिर्गौलासम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच र उपचार सेवा उपलब्ध गराइने र आवश्यक औषधी समेत निःशुल्क वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनेछ भने इसिजी र अन्य आवश्यक प्रयोगशाला परीक्षणहरू पनि निःशुल्क गरिने व्यवस्था गरिएको छ ।

शिविरमा महिलाका लागि पाठेघरको क्यान्सर जाँच, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रेको निःशुल्क उपलब्ध हुनेछ ।

जटिल स्वास्थ्य समस्या देखिएर शिविरमार्फत रिफर गरिएका बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरामा औषधीमा पाँच प्रतिशत र उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।

पुस ५ गते बिहान ८ देखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि सबैलाई सहभागी हुन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आग्रह गर्नुभएको छ ।