गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । शुभ अवसर ग्रामले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकबारे आर्थिक वर्ष २०८१/०८२ गरेको अध्ययनले ५६ प्रतिशत श्रमिक १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ ।
महिला तथा बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्घन गर्ने उद्देश्यले स्थापना गरिएको सो संस्थाको पुनस्र्थापना केन्द्रमा यस आर्थिक वर्षमा राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी र विभिन्न स्थानीय तहको समन्वयमा मनोरञ्जन क्षेत्रबाट उद्धार गरिएका श्रमिकको अध्ययन गर्दा सो नतिजा आएको हो ।
शुभ अवसर ग्रामले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको अवस्था तथा सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले यस क्षेत्रमा अझै पनि १८ वर्ष मुनिका बालबालिकाले काम गर्न वाध्य भएको देखिएको छ । शुभ अवसर ग्रामको परियोजना संयोजक रन्जना शर्माले सो अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै दौतरी समुहसँग आवद्ध भएका तथा शुुभ अवसर ग्राम नेपालले सहजिकरण गरेका मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको अवस्थाको विश्लेषण गर्दा ४५ प्रतिशत किशोरी २६ देखि ३५ वर्ष उमेर समुहका रहेको पाईएको छ ।
उहाँले शुभ अवसर ग्रामले पियर गु्रप (दौतरी समुह) बनाएर रात्रीकालिन मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिकसम्म पुगेर उहाँहरुको अवस्थाबारे अध्ययन गर्ने परियोजनाको सहयोगमा गरिएको अध्ययनमा धेरै श्रमिकको नागरिकता नबनेको र कतिपयको जन्मदर्तासमेत नभएको पाइएको पनि बताउनुभयो । अध्ययनअनुसार ५८ प्रतिशतले मनोरञ्जन क्षेत्रमा काम गर्नु आफ्नो बाध्यता भएको र करिब २ प्रतिशतले मात्र यस क्षेत्रमा आफ्नो इच्छाले काम गरिरहेको बताएका छन ।
त्यसमध्ये ३८ प्रतिशतले आफूमाथी श्रम शोषण भएको, १० प्रतिशतले आफूलाई कुनै न कुनै प्रकारको यौन दुव्र्यवहार र मनोसामाजिक समस्या झेलिरहेको बताए भने ६२ प्रतिशत श्रमिक मौन बस्न रुचाए । प्रहरी निरिक्षक विनय अर्यालले कार्यपत्र प्रस्तुत गर्दै रात्रीकालिन व्यवसाय तथा मनोरञ्जन क्षेत्रमा कार्यरत समस्यामा परेका र प्रहरीले उद्धार गरेका श्रमिकको तथ्याङ्क प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा उद्धार गरिएको श्रमिकमा ४१ जनामध्ये २६ जना १८ वर्ष मुनिका, आर्थिक वर्ष २०८१/८२ मा १०२ जना श्रमिक उद्धार गरिएकोमा ८१ जना बालिका र आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४ महिला र ५३ जना बालिकालाई प्रहरीले उद्धार गरेको बताउनुभयो ।
उहाँले प्रहरीले जोखिममा परेर उद्धार गर्दा जाहेरी दिने सङ्ख्या भने अत्यन्त न्यन रहेको बताउँदै व्यवसाय सञ्चालकले पनि उमेर खुल्ने प्रमाण नभई श्रमिकलाई काममा राख्न नहुने विचार व्यक्त गर्नुभयो । प्रहरी निरीक्षक अर्यालले कानुनबारे थाहा नभएर राखेको भन्न नपाइने उल्लेख गर्दै प्रहरीले मानव बेचविखन विरुद्धको कानुन, श्रम ऐन र बालबालिका सम्बन्धी कानुनलगायत सम्बन्धीत अन्य कानुन नीतिअनुसारको कारबाही गर्ने भएकाले आफ्नो व्यवसायलाई मर्यादित बनाउन पनि बालश्रमिक नराख्न र श्रमिकलाई कानुनअनुसारको सुविधा दिन व्यवसायीलाई सुझाव दिनुभयो ।
शुभ अवसर ग्रामका कार्यक्रम व्यवस्थापक विकास ढुङ्गानाले वि.स.२०५५ सालमा स्थापना भएको यस संस्थाले काठमाडौँ, रुपन्देही र कास्कीको पोखरामा बेचबिखन, यौन शोषण, यौन दुव्र्यवहार तथा हिंसाबाट प्रभावित वा त्यसको उच्च जोखिममा रहेका बालिका, किशोरकिशोरी तथा महिलाको अधिकारको संरक्षण, पुर्नस्थापना र पुनःएकिरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उहाँले राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी र स्थानिय तहले जोखिममा परेका बालबालिका र महिलाको उद्धार गरी पठाएका प्रभावितलाई अस्थायीरुपमा राख्ने बालगृह र सुरक्षित आवास गृहमा राखेर आवश्यक सेवा प्रदान गर्दै आएको र सरोकारवाला रोजगारदाता र श्रमिकबिच हक, अधिकार र कर्तव्यबारे छलफल गरी नीतिगत सुधारको पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सहभागी व्यवसायी, मनोरञ्जन क्षेत्रका व्यवसाय सञ्चालकले श्रमिकको सेवा र सुविधामा वृद्धि गरिए पनि श्रमिक नटिक्ने, ठाउँ सर्दै काम गर्ने प्रवृत्ति र प्रशासनले दिने दुःखले स्वेदशमै रोजगारी सिर्जना गर्ने यस व्यवसाय सञ्चालनमा पनि समस्या आइरहेको बताएका छन् ।