• १ पुस २०८२, मङ्गलबार

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोमा एक हजार खेलाडी

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, पुस १ गते । १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) पुस ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

आईओएफटीसी नेपाल स्थापना दिवसको २५औँ वर्ष अर्थात् रजत जयन्तीका अवसरमा प्रतियोगिता नेपालमा आयोजना गरिन लागिएको आईओएफटिसीका निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हडकङ, चीन, मेक्सिको, माल्दिभ्स, बङ्गलादेशलगायत देशका खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा करिब एक हजार जना खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ । जसमा नेपालबाट सात सयदेखि आठसय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो संस्करण सन् २००० मा सम्पन्न भएको थियो । 

वर्ल्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने यस प्रतियोगितामा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश गरिएको छ । यस प्रतियोगिता सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको छनोट पनि हो ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौल, जुनियरतर्फ महिला र पुरुष गरी १०–१० र क्याडेट वर्गमा १०–१० तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा गराइनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि राखिएको छ । प्रतियोगितामा कुल २२२ स्वर्ण, २२२ रजत र ४४४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सात लाख २५ हजार रुपियाँ पुरस्कार रासी रहेको प्रतियोगितामा हरेक स्पर्धाको विजेता र टिमलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपियाँ खर्च हुने बताईएको छ ।