कोकिला ढकाल
इलाम, पुस १ गते । दुर्लभ वन्य जन्तु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलाममा आयोजित इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनको प्रथम पुरस्कार गजेन्द्र राईले हात पार्नुभएको छ।
इलाम सदरमुकामस्थित चोक बजारदेखि ३६३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो पर्यटकीय स्थल सन्दकपुर सम्मको ४४.२ किलोमिटरको दूरी चारघण्टा १२ मिनेटमा पार गर्दै राईले प्रतियोगिताको प्रथम पुरस्कार हात पार्नुभएको हो ।
यस्तै धावक करण रावलले चार घण्टा १३ मिनेटमा उक्त दुुरी पार गरेर प्रतियोगिताको दोस्रो विजेता बन्नुभएको छ । अर्का धावक कर्णवीर रोकाले चार घण्टा १९ मिनेटमा सो दूरी पार गरेर प्रतियोगिताको तेस्रो विजेता बन्नुभएको छ । प्रतियोगितामा ६२ पुरुष र ११ महिला धावक सहभागी भएका थिए ।
यस्तै दुर्लभ वन्य जन्तु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले आयोजित इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनको महिलातर्फ खोटाङकी निर्मला राई प्रथम हुनुभएको छ । इलाम सदरमुकामस्थित चोक बजार महिला र पुरुषकोसँगै सुरु भएको म्याराथनमा निर्मलाले पाँच घण्टा ४० मिनेट ३६ सेकेन्डमा तोकिएको ४४.२ किलोमिटरको दुुरी पार गर्नुभएको थियो ।
महिलातर्फ त्रिभुवन आर्मीकी सुनसरी रोकायाले पाँच घण्टा ४० मिनेट ३९ सेकेन्डमा उक्त दूरी पार गरेर दोस्रो हुनुभयो । यस्तै कल्पना बुढाले पाँच घण्टा ४० मिनेट ५७ सेकेन्डमा दूरी पार गरेर तेस्रो हुनुभयो भने त्रिभुवन आर्मी क्ल्बकी राज्यलक्ष्मी शाक्यले पाँच घण्टा ४४ मिनेट २७ सेकेन्डमा उक्त दूरी पार गरेर चौथो स्थान हासिल गर्नुभएको छ ।
विजेता धावकहरुले महिला र पुरुषतर्फ उत्तिनै रकम अर्थात् पहिलो पुरस्कार एक लाख ५० हजार, एक लाख, ५० हजार, चौथो २० हजार रुपियाँ प्राप्त गर्नुभएको छ । विजेताहरुलाई सन्दकपुरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पुरस्कार प्रदान गरिएको छ ।
रेडपाण्डा संरक्षणमा सक्रिय रहेको दिपज्योति युवा क्लबको आयोजना भएको प्रतियोगितामा रेडपाण्डा संरक्षित क्षेत्र इलाम, पाँचथर र ताप्लेजुुङलाई भने स्थानीयतर्फ सहभागी गराइएको थियो ।
स्थानीयतर्फ भने त्रिभुवन आर्मी क्लबका पाँचथरका राजन म्यायाङ्गो चार घण्टा ३९ मिनेट १० सेकेन्डमा ४४.२ किलोमिटर दूरी पार गरि प्रथम हुनुभयो । पाँचथरका विशाल राई चार घण्टा ४३ मिनेट १८ सेकेन्डमा दूरी पार गरि दोस्रो हुनुभएको छ ।
यस्तै चार घण्टा ४९ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै इलामका राजेन्द्र लिम्बू तेस्रो हुनुभएको छ भने पाँच घण्टा ३ मिनेट ५७ सेकेन्डमा दूरी पार गरेर ताप्लेजुङका रमेश लिम्बू चौथो हुनुभएको छ ।
धावकहरुका लागि आयोजकले पुरुषतर्फ चार घण्टा ३० मिनेट र महिलातर्फ छ घण्टा ३० मिनेटको समय निर्धारण गरेको थियो । निर्धारित समयभित्रै धावकहरुले तोकिएको दूरी पार गरेको आयोजकले जनाएको छ ।