• १ पुस २०८२, मङ्गलबार

पोखरा सडक महोत्सव टोली चितवनमा

blog

पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्न चितवन आएको टोली । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, पुस १ गते । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेक साइटमा गरिँदै आएको पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्न महोत्सव टोली मङ्गलबार चितवन आइपुगेको छ ।

रेवान पोखरोको आयोजनामा हुँदै आएको यो महोत्सवको बारेमा जानकारी दिँदै आएको टोलीले मङ्गलबार बिहान चितवनको भरतपुरमा एक पत्रकार भेटघाट कार्यक्रम गरि आगामी पुस १३ देखि १७ गतेसम्म हुने पोखरा सडक महोत्सवको बारेमा जानकारी दिएको हो ।

पोखराको पर्यटन ब्राण्ड र गौरवमय इतिहासको अभिन्न हिंसा बनिसकेको यस पटकको महोत्सव २७ औं शृङ्खला हो । सुरुवातदेखि परिस्कृत हुँदै आएको महोत्सव यस पटक विशेष महत्व रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस पटक पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ अवसरमा आयोजित यस कार्यक्रमको छुट्टै महत्व रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

सडक महोत्सव २०२५ का संयोजक वसन्त गौतमका अनुसार नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकीहरू, मौलिक भेषभूषा र परम्परागत नृत्यहरूको प्रदर्शन यो महोत्सव सांस्कृतिक हस्तान्तरण र संरक्षणको एक महत्वपूर्ण मञ्च हुनेछ । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने व्यवस्था गरिँदै आएको महोत्सवमा साहसिक तथा खेलकुद गतिविधि र पर्यटक लक्षित गतिविधि गरिनेछन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको मुटु लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा यो महोत्सव सञ्चालन गरिँदै आएको छ ।

आयोजकमा अनुसार कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्याण्ड जाने परम्पराले यो समय पोखराको पर्यटनमा शून्यता छाउँथ्यो । पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यको स्थापित गर्न सफल भएको दाबी आयोजकको छ ।

हरेक सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छु भन्ने सन्देश विश्वसामु प्रवाह गर्न यो महोत्सवले सञ्जीवनीको भूमिका खेलेको बताइन्छ । पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईका अनुसार जेनजी आन्दोलनपछिको पोखराको अवस्थाबारेमा डिजिटल मार्केटिङ गरेर महोत्सवको बारेमा निर्णय लिइएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हाम्रो मार्केटिङले पोखराको पर्यटनमा आकर्षण पनि छ । सुरक्षित पनि छ भन्ने निष्कर्ष निकालेको छ ।’

क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरूले नेपालमै बसेर रमाउन सक्ने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष सहयोग पुर्याउन सफल पोखरा सडक महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि छ भने, बोटलर्स नेपाल (तराई) लि., दि नेपाल डिष्टिलरी, यति डिष्टीलरी, नेपाल टेलिकम सहआयोजक छन् । 

गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका (पोखरा भ्रमण वर्ष २०२५) र पोखरा पर्यटन परिषद्को प्रवर्धन छ ।