• १ पुस २०८२, मङ्गलबार

प्लास्टिक निषेधित क्षेत्र

blog

देवघाटधाममा स्नान गर्न आएका भक्तजन ।तस्बिर :शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन,पुस १ गते  । धार्मिक पर्यटकीय स्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने तयारी गरिएको छ । देवघाट क्षेत्र विकास समितिले तीन वटा पालिकासँग समन्वय गरी प्लास्टिकमुक्त बनाउन लागेको हो ।

देवघाटधामको पाँच हजार ४३४ हेक्टर क्षेत्रफललाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न समितिले प्राविधिक सहयोग गरेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले जलचर, थलचर एवं मानवीय सभ्यतालाई जोगाउन देवघाटबाट सन्देश दिने गरी प्लास्टिक निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो । 

“नारायणी नदीलाई शुद्ध बनाउने हाम्रो प्रयास हो । फोहोर व्यवस्थापन हामी सबैको दायित्व पनि हो । यसलाई जिम्मेवारीका रूपमा लिएर तीन वटा पालिकासँग समन्वय गरी देवघाटलाई प्लास्टिकमुक्त बनाउछौँ,” उहाँले भन्नुभयो, “भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकासँग छलफल गरी छिट्टै नै प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने छौँ ।” विभिन्न सूचक तयार गरी त्यसमा काम भइरहेको छ । प्लास्टिकमुक्त स्थल बनाउन करिब छ हजार पाँच सय किलो फोहोर सङ्कलन, १६ वटा सार्वजनिक शौचालय निर्माण, खानेपानीको पर्याप्त सुविधा, सबै भूभाग सडकसँग जोडिएका क्षेत्रमा फोहोर सङ्कलन गर्ने भाँडो र सूचना बोर्ड ठाउँ ठाउँमा राखिएको छ ।

प्लास्टिक निषेधित क्षेत्र घोषणाको तयारी अन्तर्गत प्लास्टिक फोहोर व्यवस्थापनका लागि सन्देशमूलक अडियो दुई स्थानबाट प्रसारण, विद्युतीय शवदाहगृह निर्माण, प्लास्टिक झोला विस्थापित गर्न ७५० वटा कपडाका झोला वितरण, मेटल बिन, ब्लेड बिन, प्लास्टिक बोटल बिन, डस्ट बिन वितरण, १२ हजार हस्ताक्षर सङ्कलनलगायत काम सम्पन्न भएका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाटको शवघाटमा दिनमा २२ वटासम्म शवको अन्त्येष्टि गरिन्छ । शवको अन्त्येष्टि गरिँदा मृतकले मृत्युअघि प्रयोग गरेका कपडा, औषधीलगायत वस्तु जथाभाबी फाल्दा नदी प्रदूषित भएको बताउनुहुन्छ । समितिका अध्यक्ष होमनाथ सुवेदीले प्रकृतिमा आधारित समाधान परियोजना अन्तर्गत देवघाट क्षेत्र विकास समितिको आयोजनामा देवघाटलाई प्लास्टिकमुक्त बनाउन खोजिएको बताउनुभयो । सहमतिले नदीसँगै हामी अभियान अन्तर्गत नारायणी नदी संरक्षणको काम गरिरहेको छ ।

“देवघाट देशकै एउटा महìवपूर्ण तीर्थस्थल भएकाले यसले राष्ट्रव्यापी सन्देश दिन्छ भन्ने सोचेर प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । देवघाटमा ४० माइव्रmोनभन्दा पातलो प्लास्टिक रोक्न सक्यौँ भने ठुलो उपलब्धि हुने छ,” उहाँले भन्नुभयो । बेटर चितवनले सहमति संस्थासँगको सहकार्यमा गत वर्ष भरतपुरतर्फको नारायणी किनारमा फोहोरको जाँच गरेको थियो । 

भरतपुरका विभिन्न आठ स्थानमा गरिएको जाँचका व्रmममा देवघाट क्षेत्रमा मात्रै १५.४ प्रतिशत फोहोर भेटिएको थियो । नारायणगढतर्फ नदी किनारमा १७.२ प्रतिशत र नगर वनक्षेत्रमा २२.७ प्रतिशत फोहोर भेटिएको थियो । नदीको तल्लो भेगभन्दा माथिल्लो भेगमा गरिने फोहोरले पार्ने असर बढी गम्भीर हुन्छ ।