• १ पुस २०८२, मङ्गलबार

बालमैत्री नयाँगाउँ पूर्ण सरसरफाइयुक्त वडा घोषणा

blog

धुर्कोट गाउँपालिका–१ लाई पूर्ण सरसफाइयुक्त पालिका घोषणा गरिदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस १ गते ।
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बालमैत्री स्थानीय शासनयुक्त र पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको छ । गत असारमा गुल्मीकै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो । त्यसको पाँच महिनापछि धुर्कोट गाउँपालिका नयाँगाउँमा रहेका आठओटा टोल विकास संस्थाअन्तर्गतका घरधुरी, संघ संस्था, कार्यालय गरी कुल सात सय ८८ स्थानमा हरियो स्टिकर टाँस गरेपछि नयाँगाउँलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको हो ।

नयाँ गाउँलाई गाउँपालिका प्रमुख भुपाल पोखरेलले पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्नु भएको छ । घोषणापछि वडाध्यक्ष चेतमान कुँवरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका प्रमुख पोख्रेलले अभियानको निरन्तरताको शुभकामना दिनुभयो । पोखरेलले सरसफाइका छ वटा सूचकहरु पुरा गर्नु सामान्य बिषय नभएकाले नयाँगाउँ दुई वटा महत्त्वपूर्ण राष्ट्रिय अभियानमा सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले गाउँपालिकाभित्र रहेका सम्पूर्ण घर, परिवार, संघ संस्था, कार्यालयमा सरसफाई गुरुयोजना २०६८ र पूर्ण सरसफाई मार्गदर्शन २०७३ लाई आधार मानि पूर्ण सरसफाइयुक्त टोल, वडा र पालिका घोषणा गर्ने पालिकाले उद्देश्य रहेको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपप्रमुख सीता गिरीले स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण भएकाले अन्य वडाहरु पनि पूर्ण सरसफाइयुक्त वडा घोषणाको काममा लागेको बताउनुभयो । यसले समाजको दिगो र प्रभावकारी विकासमा पनि सहयोग पुग्ने भएकोले वडावासीलाई बधाई दिनुभयो । पूर्ण सरसफाईयुक्त वडा घोषणाको लागि नयाँगाउँमा टोल विकास संस्था गठन भई क्रियाशिल भएको, सबै टोलमा सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी अभिमुखिकरण अभियान चलाइएको, साविकको वडा नम्बर ५, ६ र ७ मा शौचालय नभएका विपन्न परिवारलाई पाइप र साइफन वितरण गरिएको छ ।

त्यसैगरी, सात सय ८८ घरधुरीमा चाङ निर्माण गरिएको, विपन्न परिवारलाई पालिकाको सहयोगमा शौचालय निर्माण गरिदिएको, विभिन्न पर्यटकीय स्थलहरुमा सार्वजनिक शौचालय निर्माण, सबै विद्यालयहरुमा छात्र/छात्रा शौचालयको निर्माण, सार्वजनिक स्थानहरुमा फोहोर जलाउने खाल्डाहरु निर्माण एवम् आठओटै टोललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा लगायतका काम भएको वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिनुभयो ।

नयाँगाउँमा पहिलो पटक भाँखर्क टोल विकास संस्था २०८० असार २३ गते र अन्तिम पटक सिद्धस्थान टोल विकास संस्था गत भदौ १९ गते पूर्ण सरसफाइयुक्त टोल घोषणा भएका थिए । कार्यक्रमकै अवसरमा पूर्ण सरसफाइयुक्त वडा घोषणाका लागि योगदान दिने सबैलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । नयाँगाउँ धुर्कोटमा पूर्ण सरसफाईयुक्त वडा घोषणा हुने दोस्रो वडा हो ।

यसभन्दा पहिले वडा नम्बर ६ रजस्थललाई सरसफाइयुक्त वडा घोषणा गरिएको थियो । सामाजिक विकासका विभिन्न सूचकहरुमध्ये नयाँगाउँले आफुलाई अब्बल सावित गर्दै आएको छ ।

धुर्कोट गाउँपालिकाका वडा नं ६ रजस्थलले पहिलो पटक सरसफाइयुक्त वडा घोषणा गरेको धुर्कोट गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिनुभयो । सवै वडामा अभियान सञ्चालन भएकाले क्रमश घोषणा गर्दै जाने विश्वकर्माले बताउनुभयो ।