गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । नेपाल र दक्षिण कोरियाबिच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पान नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा कोरिया–नेपाल सहकार्य विस्तारसम्बन्धी छलफलमा पाँच दशक लामो दुई देशबिचको कूटनीतिक सम्बन्धलाई ऊर्जा सहकार्यका क्षेत्रमा थप घनीभूत बनाउन आवश्यक रहेको औँल्याइएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले नेपाल र कोरियाबिच रणनीतिक लगानी र निजी क्षेत्रकेन्द्रित साझेदारी विस्तार गर्नुपर्ने औँल्याउनुभयो । उहाँले स्वच्छ ऊर्जा, जलविद्युत् र सुदृढ प्रसारण पूर्वाधारलाई दुई देशबिचको सहकार्यको मुख्य आधार बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
सचिव चटौतले कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको अप्पर त्रिशूली–१ जलविद्युत् आयोजनालाई नेपालमा वैदेशिक प्रत्यक्ष लगानीको सफल उदाहरणका रूपमा उल्लेख गर्दै यसले कोरियाको प्राविधिक क्षमता र नेपालप्रतिको लगानी विश्वास प्रमाणित गरेको उल्लेख गर्नुभयो ।
कोरियाली लगानीकर्ताका लागि ठुला जलविद्युत् आयोजना, उच्च क्षमताको प्रसारण लाइन तथा ग्रिड आधुनिकीकरण र हरित हाइड्रोजन तथा भविष्यका ऊर्जा समाधानमा सहकार्यको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले नेपाल र ऊर्जा सहकार्यको प्रचुर सम्भावना रहेको भन्दै यस्ता सम्मेलनमार्पmत दुई देशका लगानीकर्ताबिच सम्बन्ध तथा ज्ञान विस्तारमा सहयोग गर्ने बताउनुभयो । उहाँले नयाँ परियोजना अध्ययन तथा सम्भाव्यताका विषयमा सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।