काठमाडौँ, पुस १ गते । सीता श्रेष्ठ वर्ष २२, मन्दिरमा चढाइएका फूल सङ्कलन गरेर धूप तथा सुगन्धित वस्तु उत्पादन गर्दै आउनुभएको छ । ‘फूल’ नामको ब्रान्डमार्फत उहाँले खेर गइरहेका फूल सङ्कलन गरेर देशमै राम्रो आम्दानीको स्रोत बनाउनुभएको छ । सबै साथीहरू बाहिर पढ्ने र रमाउने बहानामा विदेश जाँदै गर्दा उहाँलाई भने देशमै केही गरौँ अनि परिवारसँगै देशमै रमाउँ भन्ने भावनाले छाडेन । उहाँले भन्नुभयो, “तर के गर्ने र कसो गर्ने भन्ने अन्योल उस्तै थियो, यसरी नै कुनै प्रदर्शनी हेर्न जाँदा फुरेको आइडियालाई अहिले आफ्नो पेसा बनाएँ ।”
सीताको समूहले पशुपतिनाथको मन्दिर, नक्सालको साइबाबा मन्दिर, अग्रवाल भवन तथा स्वयम्भूनाथलगायत विभिन्न मन्दिरमा श्रद्धालुले चढाएपछि फ्याँकिन तयार भएका फूल सङ्कलन थाल्यो । अहिले अनलाइनमार्फत पनि फूलप्रसाद डटकमबाट धूप तथा सुगन्धित वस्तु बिक्री थाल्नुभएको छ । उहाँ जस्तै युवापुस्तालाई देशमै रोजगार सिर्जना गर्न सुषमा शर्मा, शशाङ्क वस्ती, संवीद बस्ती र ग्रीष्मा अधिकारीले कार्यकारी भूमिकामा सघाउनुभएको छ । आफू मात्र रोजगार नभई आमसुमदायका महिलालाई आयआर्जनमा सहभागी गराउँदै तालिमसहित आबद्ध गर्दै दैनिक प्रयोग हुने धूप तथा अन्य सुगन्धित वस्तु उत्पादन गर्दै आएको छ । अर्का युवा अरबिन पौडेल पनि नेपालमै केही गरौँ भन्ने हुटहुटीका साथ ग्रिन फाउन्डेसन नेपालमार्फत नेपाली अर्गानिक वस्तु आमसमुदायसमक्ष पस्कन थाल्नुभएको छ ।
उहाँले सुनाउनुभयो, “हाम्रो भान्सा र घरमा दैनिक प्रयोग हुने वस्तु तेल, बेसार, चिया, मसला बढी जसो आयातित हुन्छन ।” जसमा अर्गानिक खाद्यवस्तुको मात्रा न्यून रहन्छ । अभौतिक वस्तुको मिश्रणले भान्सा र स्वास्थ्य दुवैमा असर पारिरहेको विभिन्न अध्ययनले देखाएको छ । त्यही अर्गानिकपनको पूर्ति गर्ने ध्येयका साथ गाउँबाट सङ्कलन गरिएका स्थानीय उत्पादनलाई सहरका उपभोक्तासम्म पु¥याउने माध्यम आफू बनेको अरबिन बताउनुहुन्छ । यसले नेपाली किसानलाई प्रवर्धन मात्र होइन, युवापुस्तालाई नेपालको कृषि र खाद्यान्न उत्पादनसँग पनि नजिक बनाउने दाबी उहाँ गर्नुहुन्छ ।
अर्कोतर्फ सुदूरपश्चिमका युवा महिलाको समूह मिलेर केराको रेसाबाट बनेका सामग्री बजारमा ल्याइरहेका छन् । आरजु श्रेष्ठ, इच्छा मकाजु, सिद्धि न्यौपाने त्यसरी उत्पादित वस्तुको प्रवर्धन गर्नुहुन्छ । कान्दुक इन्डस्ट्रीका नाममा फाइबर उत्पादित वस्तु अनलाइन तथा प्रत्यक्ष व्यापार गरिन्छ । आफू मात्र होइन, गाउँका महिला समूहलाई आबद्ध गराएर उत्पादनमा लगाउनुभएको छ । विगत दुई वर्षदेखि केरा, लोक्ता, सिस्नुलगायत प्रयोग गरेर ब्याग, जुत्ता, ल्यापटपको खोल, चस्मा तथा पैसा राख्ने साना झोला तथा अन्य लत्ताकपडासमेत बनाइने गरिन्छ । माग अनुसार काठमाडौँसहितका प्रमुख सहरमा सिलाइ सेन्टर स्थापना गरेर पनि उत्पादनलाई आवश्यकता अनुसार बढावा दिइने गरेको संस्थापक प्राश्ना मकाजू बताउनुहुन्छ ।
त्यस्तै गरेर जनकपुरका २२ वर्षीय महम्मद रेहान नेपालका बहुमूल्य भिरमह, चिया तथा अर्गानिक जडीबुटीजन्य वस्तुलाई ब्रान्डिङ गरेर बजार ल्याउन खटिनुभएको छ । नेपालको ५० भन्दा बढी क्षेत्रका वस्तु सङ्कलन गरेर कतिपय आफैँ त्यसलाई उपभोगमुखी वस्तुका रूपमा रूपान्तरण गरेर माइदा नामको कम्पनीबाट प्रवर्धन गरिएको उहाँले जानकारी दिनुभयो । युवाले कृषि र खाद्य क्षेत्रमा राम्रो अवसर सिर्जना गर्न सरकारले ध्यान दिने हो भने कोरिया, इजरायल जस्ता देशमा अरूले लगाएको खेती तथा वस्तु स्याहार्न जानु नपर्ने उहाँ तर्क गर्नुहुन्छ ।