• १ पुस २०८२, मङ्गलबार

‘गोरखापत्र डिस्कोर्स’ बिहीबार

अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । गोरखापत्र संस्थानको आयोजनामा आगामी बिहीबार ‘गोरखापत्र डिस्कोर्स’ आयोजना हुने भएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ नाममा आयोजना हुने यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन हुने छ ।

नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास–रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबिच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले सो ‘डिस्कोर्स’ गर्न लागिएको हो । गोरखापत्र दैनिकको १२५ औँ (शताब्दी रजत) वर्ष तथा दी राइजिङ नेपालको ६१ औँ वर्ष प्रवेशका अवसरमा नयाँ किसिमबाट कार्यक्रम आयोजना गर्न लागेको संस्थानले जनाएको छ । 

गोरखापत्र डिस्कोर्सको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने छ । यस्तै डिस्कोर्सका विशिष्ट अतिथिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल रहनुहुने छ । कार्यक्रममा सम्बन्धित मन्त्रालय/विभागका सचिव, प्रमुख, निजी क्षेत्रलगायतका सरोकारवालाको सहभागिता रहने छ । पहिलो पटक हुन लागेको यस ‘डिस्कोर्स’ मा तीन वटा छलफल सत्र हुने छन् । 

‘स्मार्ट पूर्वाधार : विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल ?’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ विषयमा शीर्षकगत छलफल सत्रको तयारी संस्थानले गरेको हो । पहिलो सत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी सुशील ज्ञवाली, एफवन सफ्टका निर्देशक सुवास शर्मा र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का कार्यकारी सदस्य सुमन जोशी बहसकर्ता रहनुहुने छ । 

यस्तै दोस्रो सत्रमा मुख्य वक्ताका रूपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र वक्तामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञावली, एनसेल प्रालिका निर्देशक डिल्लीराम श्रेष्ठ र युवा व्यवसायी निकिता आचार्य रहनुहुने छ । 

यस्तै तेस्रो सत्रका वक्तामा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र अर्थशास्त्री डा. पारस खरेल रहनुहुने छ । गोरखापत्र संस्थान नेपालकै पहिलो र सबैभन्दा पुरानो सञ्चार माध्यमलाई संस्थागत गर्ने संस्था हो । विसं १९५८ मा प्रकाशन सुरु भएको नेपालकै पहिलो समाचारपत्र गोरखापत्र हो । 

गोरखापत्र संस्थानको संयोजन र ‘गोरखापत्र एकेडेमी’ आयोजनामा यो बहस आयोजना गरिएको हो ।