• २८ मङ्सिर २०८२, आइतबार

विश्व बक्सिङमा पदक विजेता चन्द्रको स्वागत

blog

पदक विजेता चन्द्रबहादुर थापा ।

काठमाडौँ, मङ्सिर २८ गते । युएइमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार भव्य स्वागत गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासङ्घका पदाधिकारी, राष्ट्रिय खेल सङघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । 

डिसेम्बर ३ देखि १४ तारिखसम्म प्रतियोगिताको ५४ केजी तौलसमूहमा राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले  अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य पक्का गर्नुभएको थियो । कांस्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गर्नुभएको थियो । 

सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौँ स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित हुनु भएको थियो । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केवाज हुनु हुन्छ । 

चन्द्रसँगै प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी थिए । ४८ केजी लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोकामगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नु भएको थियो ।

लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जित्नु भयो । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए । प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनमगर रहनु भएको थियो । 

यस्तै आइतबारै युएइमा भएको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि स्वागत गरिएको थियो ।

सदस्य–सचिव मेहता, राखेप कार्यकारी समितिका सदस्य भट्टराई, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटीका पदाधिकारी, अखिल नेपाल टेबलटेनिस सङ्घका पदाधिकारीलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नु भएको थियो ।