• ७ मंसिर २०८१, शुक्रबार

स्वास्थ्य बीमा र अस्पताल, स्थानीय पालिकाको प्राथमिकता

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार २५ गते । झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गनै थालेको पाइएको छ ।

विशेष गरेर झापाको दमकमा रहेको स्थानीय सरकारी दमक अस्पतालमा कन्काई पु्लको वारी क्षेत्र अर्थात् दमक शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, गौरीगन्ज गाँउपालिका लगायतका पालिकाहरुका बिरामी आउने अवस्था छ । यहाँ दैनिक एक हजारभन्दा बढी बिरामीको चाप रहने गरेको छ ।

स्थानीय तहहरुले विपन्न समुदायको स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्दै उपचारका लागि आफ्नै पालिकामा अस्पताल बनाउने कार्य अघि बढाएको पाइएको हो । हामीले आर्थिक वर्षको शुरुवातदेखि नै कम्तिमा पाँच बेडका लागि आवश्यक विशेषज्ञसहितको अस्पताल शुरु गर्दैछाैं, गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो ।

बीमाको उपचारका लागि आवश्यक स्वीकृति पनि गाउँपालिकाले पाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभएको छ । यहाँ अस्पतालबाट सेवा शुरु भएपछि अन्यत्र राम्रो अस्पताल रेफर भएर जाने विरामीका लागि दमक अस्पताल जानु पर्ने बाध्यता टर्नेछ । 

गौरादह नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आगामी एक वर्षभित्रमा नै कम्तीमा पनि पाँच बेडको अस्पताल सुचारु गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । तीन जना विशेषज्ञ चिकित्सक सुविधासहितको अस्पताल शुरु गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनुभयो । 

गौरादहको स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सुचारु गरिने भएको हो । यहाँ ल्याव, एक्स–रेलगायतका आधारभूत स्वास्थ्य उपकरणहरु तत्कालै व्यवस्थापन गरिने पनि जनाइएको छ । अस्पतालमा उपचार हुन नसक्ने र बाहिर ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको सुवेदीको भनाइ छ ।

यसैगरी, गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको गौरीगञ्ज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रूपमा सञ्चालन गरिने र यसका लागि आवश्यक प्रक्रिया सकिएको गाउँपालिका उपाध्यक्ष पूजन कुँवरले बताउनुभएको छ । आर्थिक वर्ष २०७९÷८० को साउन १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको गौरीगंज अस्पतालको रूपमा स्वीकृति पाएर सञ्चालन हुने उहाँका भनाइ रहेको छ । बीमाका बिरामीहरुले यही उपचार पाउने अवस्था रहनेछ, उहाँले भन्नुभयो । 

अस्पतालका लागि डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्सको व्यवस्थापन हुने जनाइएको छ । गाउँपालिकाले अति विपन्नहरुको स्वास्थ्य बीमालाई आफ्नो नीति तथा कार्यक्रममा महत्वका साथ स्थान दिएको छ ।