• २६ मङ्सिर २०८२, शुक्रबार

गोठमै पुग्छन् पशु प्राविधिक

blog

काठमाडौँ, मङ्सिर २६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–७ का ५७ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी घोडा चढेर गोठ गोठमा पुगी किसानलाई सेवा दिनुहुन्छ । 

करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले घरमै औषधीसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको उल्लेख गर्नुभयो । उहाँ किसानको घरमा समयमै पुग्न र ज्यानकै जोखिममा परेका पशुको उपचारमा सहज होस् भनेर घोडा किनेको बताउनुहुन्छ । उहाँसँगै सो वडामा रहनुभएका पशु प्राविधिकले पशुधनको सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । 

काभ्रेपलाञ्चोक मण्डनदेउपुरका हरिकृष्ण श्रेष्ठ तीन दशकदेखि पशु प्राविधिकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकासम्म पुगेर सेवा दिनुहुन्छ । विशेष गरेर नस्ल सुधारमा क्रियाशील उहाँले ब्याउन नसकेका हजारौँ गाईभैँसीको उपचार गरी ज्यान जोगाइदिनुभएको छ । 

किसानको घरसम्म जान मोटरसाइकलको प्रयोग गर्ने श्रेष्ठले पशुलाई स्वस्थ बनाउन नियमित रूपमा नाम्ले र जुकाको औषधी खुवाउने परामर्श पनि दिने गर्नुहुन्छ । पशुको जाँच गर्ने भएकाले श्रेष्ठलाई स्थानीयले डाक्टर भनेर पनि बोलाउँछन् । 

सिन्धुपाल्चोकको मेलम्चीका पशु प्राविधिक चेतप्रसाद घोरासैनी दिनरात नभनी किसानको गोठमा पुग्नुहुन्छ । ब्याउन नसकेर मृत्युको मुखमा पुगेका भैँसीका माउ पाडाको ज्यान जोगाइदिने उहाँले स्थानीय कुलप्रसाद लुइटेलको एक लाख ६० हजार रुपियाँको पशुधन जोगाइदिनुभयो । 

पर्वतको मोदी गाउँपालिकाले कृषकको सहजताका लागि भन्दै पशु प्राविधिकलाई कृषकका घर घरमा पठाउन सुरु गरेपछि त्यहाँका किसानले लाभ उठाएका छन् । अधिकांश नागरिक पशुपालनमा रहेकाले पालिकाले पनि कृषकलाई सोही अनुसारको सुविधा पु¥याउने उद्देश्यले पशुसम्बन्धी कुनै पनि समस्या परेमा कृषकका गोठमा नै प्राविधिक पुग्ने प्रबन्ध गरेको पशु चिकित्सक गोपाल पासीले जानकारी दिनुभयो । 

काभ्रेपलाञ्चोक मण्डनदेउपुरका पशु प्राविधिक राजेश लम्साल पनि किसानको फोन आउनेबित्तिकै दिनरात नभनी सेवामा सक्रिय हुनुहुन्छ । दिउँसोको समयभन्दा रातको समयमा किसानको फोन धेरै आउने र उहाँ जुनसुकै समयमा पनि किसानको पशुधन जोगाउन सक्रिय बन्नुहुन्छ । 

पशुको ज्यान नै जाने सङ्केत देखेपछि किसानले तत्कालै पशु प्राविधिकलाई फोन गरिहाल्छन् । “महिनामा २० वटासम्म गाईभैँसीको ज्यान जोगाएका छौँ,” लम्सालले भन्नुभयो । स्थानीय सरकारको ‘एक वडा एक पशु प्राविधिक’ का रूपमा कार्यरत लम्साल त्यहाँका पशुपालक किसानको साथी बन्नुभएको छ । 

पशुमा देखिने समस्या समाधान गरेर ग्रामीण पशु प्राविधिकले किसानको मुहारमा खुसी ल्याउने गरेका छन् । ७५३ वटै स्थानीय तहका पशु प्राविधिकले किसानको गोठमै पुगेर सेवा दिन थालेपछि किसानको मुहारमा खुसी छाउन थालेको हो । 

धवलागिरि गाउँपालिका–६ म्याम्दीका वडाध्यक्ष अशोक खत्रीले पशुको स्वास्थ्यमा आएको समस्या समाधान गर्न पशु प्राविधिकले खेलेको भूमिकाले किसानले मुहारमा खुसी ल्याएको बताउनुभयो । 

नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार देशभरका पशु प्राविधिकले दैनिक हजारौँ किसानको मुहारमा खुसी ल्याउने गरेको उल्लेख गर्नुभयो । पशु प्राविधिकले किसानको लाख रुपियाँभन्दा धेरै रुपियाँ पर्ने पशुधन जोगाइदिने मात्रै नभएर पशुपालक किसानको स्नेह पाउने गरेको बताउनुभयो । 

औपचारिक र अनौपचारिक रूपमा झन्डै एक लाख जनशक्ति पशुसेवाको क्षेत्रमा क्रियाशील छन् । पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्मा भने १३ हजार १०३ जनाले मात्रै सदस्यता लिएका छन् । प्राविधिकलाई परिषद्मा आबद्ध गराएर अझै जिम्मेवार बनाउन सके पशुधनको सुरक्षामा टेवा पुग्ने किसान बताउँछन् । 

पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्का रजिस्ट्रार जनकबहादुर रावलले देशभरका एक लाखभन्दा धेरै पशु प्राविधिकले सेवा पु¥याइरहेको उल्लेख गर्नुभयो ।

पशुलाई छोएर, स्नेह गरेर मात्रै उपचार सम्भव भएकाले पशु प्राविधिकले किसानको गोठमै पुगेर सेवा दिँदा पशुधनको सुरक्षामा योगदान पु¥याएको उहाँको भनाइ छ ।  

   

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।