• १४ असार २०८१, शुक्रबार

विद्यार्थीसँग छैन अझै पाठ्यपुस्तक

blog

धनगढी, असार २५ गते । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बित्नै लाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आवश्यकतानुसार पुस्तक उपलब्ध गराउन नसकिएको जनाएको छ । पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अनुसार एक शैक्षिक सत्रमा प्रदेशभरि २० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ तर अझै ४० प्रतिशत पुस्तक अभाव रहेको जनाइएको छ । 

जनक शिक्षा सामग्रीले मागभन्दा निकै कम पाठ्यपुस्तक पठाउने गरेको महासङ्घका अध्यक्ष मेखराज दाहालले बताउनुभयो । “अझै पनि ४० प्रतिशत पुस्तक अपुग छ,” उहाँले भन्नुभयो, “मागभन्दा निकै कम पुस्तक आउने गरेकाले हामीले सबै विद्यार्थीका हातमा अझै पाठ्यपुस्तक पु-याउन सकेका छैनौँ ।” 

महासङ्घले आवश्यकतानुसार पुस्तक उपलब्ध नभएमा जनक सामग्री केन्द्रबाट पुस्तक नउठउाने चेतावनी दिएको छ । यहाँको मागलाई धान्ने गरी पुस्तक उपलब्ध गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशका पुस्तक व्यवसायीले केन्द्रको धनगढीस्थित कार्यालयमा केही दिनअगाडि तालाबन्दीसमेत गरेका थिए । जनक शिक्षा सामग्रीले विभिन्न बहाना देखाएर सुदूरपश्चिममा आवश्यकतानुसार पुस्तक आपूर्ति गर्नमा आलटाल गर्दै आएको व्यवसायीको आरोप छ । कहिले कागज अभाव त कहिले कमिसनको बहाना गरेर पुस्तक आपूर्तिमा आनाकानी गर्दै आएको उनीहरूले जिकिर गरेका छन् ।

जिल्लामा मागअनुसार पुस्तक पु-याउन नसक्दा विद्यार्थीको पढाइको स्तर खस्किने चिन्ता बढेको कञ्चनपुरस्थित पुनर्बासका पुस्तक व्यवसायी भूपेन्द्र अधिकारीले बताउनुभयो । आफ्नो जिल्लामा अझै ४० हजार पुस्तकको माग रहे पनि एक÷दुई हजार मात्रै आउने गरेको उहाँले बताउनुभयो । “कालो बजारीमा पुस्तक बिक्री भइरहेका छन्,” उहाँले भन्नुभयो “तर, हामी व्यवसायीलाई पुस्तक दिइँदैन ।

” सूचीकरण भएका पुस्तक व्यवसायीको हातमा पुस्तक नपुग्दा विद्यार्थीलाई समस्या भइरहेको अधिकारीको भनाइ थियो । किताब नपुगेका क्षेत्रमा कालो बजारीका पुस्तक बिक्री हुने गरेको कैलालीको लम्कीका पुस्तक व्यवसायी टुर्जबहादुर बोगटीको जिकिर छ । पुस्तक वितरण प्रणाली चुस्त नहुँदा कालोबजारी गर्नेले फाइदा उठाइरहेको उहाँको भनाइ थियो । “अहिले पनि कक्षा ९ को अङ्ग्रेजी किताब लम्कीमा दुई सयमा बिक्री भइरहेको छ । जबकी त्यसको मूल्य १३९ रुपियाँ हो,” उहाँले भन्नुभयो, “हामी व्यवसायीसँग नभएको पुस्तक कसरी यहाँ बिक्री भइरहेको छ, त्यो छानबिन गर्नुपर्दैन ?” 

आफूहरूले समयमा पाठ्यपुस्तक दिन नसके विद्यार्थीको सिकाइमा असर पर्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले जतिसके चाँडै आवश्यकतानुसार पुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रलाई आग्रह गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले आइतबारसम्म धेरै पुस्तक उपलब्ध गराउन सकिने बताउनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशभरि मागअनुसार पाठ्यपुस्तक पठाउने गरेको जिकिर गर्नुभयो । “हामीले मागअनुसार नै पाठ्यपुस्तक पठाइ रहेका छौँ,” उहाँले भन्नुभयो ।