• २५ मङ्सिर २०८२, बिहिबार

कांग्रेस लमजुङबाट प्रत्यक्षतर्फ १० जना आकाङ्क्षी

blog

प्रत्यक्षतर्फ उम्मेदवारका लागि दाबी पेश गर्नुभएका नेपाली कांग्रेस लमजुङका नेताहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर २५ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जना आकाङ्क्षी देखिएका छन् । नेपाली कांग्रेस लमजुङले उम्मेदवार बन्नका लागि आह्वान गरेको समयसिमा भित्र प्रत्यक्षतर्फ १० जनाले दाबी पेश गर्नुभएको हो । उम्मेदवार बन्न आकाङ्क्षी राख्नेहरुमा विद्यार्थी नेतादेखि संविधानसभा सदस्यसम्म रहेका छन् ।

प्रत्यक्षतर्फ पुरुषले मात्र आकाङ्क्षा देखाएका छन् । उम्मेदवार सिफारिसका लागि मनोनयन गर्नेमा संविधान सभा सदस्य एवम् पूर्व सभापति चन्द्रबहादुर कुँवर, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व उपसभापति गमप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि एवम् तरुण दल केन्द्रीय सदस्य वृषराज गुरुङ, तरुण दलका पूर्व महासचिव यमबहादुर गुरुङ, पूर्व क्षेत्रीय सभापति विष्णुप्रसाद धिताल, काठमाडौँ जिल्ला बार एशोसिएशनका अध्यक्ष सुबोधबाबु चिलुवाल रहनुभएको छ ।

त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेविसंघ लमजुङका पूर्व अध्यक्ष शैलेन्द्र घिमिरे र हाल नेविसंघ केन्द्रीय सदस्य राजकुमार गुरुङ समेतले प्रत्यक्षतर्फ मनोनयन गर्नुभएको छ ।

समानुपातिकतर्फ रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती, सुरेन्द्रप्रसाद पौडेलले मनोनयन गर्नुभएको छ ।

राष्ट्रियसभामा गर्जबहादुर गुरुङ, विष्णुमाया न्यौपाने धिताल र शुभनाथ मिश्रले मनोनयन गर्नुभएको नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय समितिले हालै जारी गरेको परिपत्रअनुसार तल्ला तहबाट उम्मेदवार सिफारिस गर्नुपर्ने समयसीमा तोकिएपछि नेपाली कांग्रेस लमजुङले मङ्सिर २४ गतेसम्मको समयसिमा तोकेर दाबी पेश गर्न अनुरोध गरेको थियो ।

कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । नेपाली कांग्रेस लमजुङले सोसम्बन्धी निर्णय गर्न मङ्सिर २७ गते जिल्ला समितिको बैठक राखेको छ । बैठकपछि केन्द्रमा नाम सिफारिस गरिने नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले बताउनुभयो ।