• १३ साउन २०८१, आइतबार

सबै विद्यालयमा कम्प्युटरको पहुँच

blog

कपिलवस्तु, असार २५ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रमअन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ । विद्यालयको प्रशासनिक काम कम्प्युटरकृतका लागि कम्प्युटर प्रदान गरेको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । आगामी आर्थिक वर्षमा माध्यमिक तहका सबै शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

पालिकाभित्रका ५९ विद्यालय कम्प्युटरको दायरामा आएको नगर उपप्रमुख मीरा थारूले बताउनुभयो । हस्तान्तरण गरेको कम्प्युटरलाई प्रयोगमा ल्याई सबै शिक्षकलाई सीप सिकाउन उपप्रमुख थारूले अनुरोध गर्नुभएको थियो । पालिकाले शिक्षाको सुधारका लागि थप योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताउनुभयो ।

विद्यालयलाई कम्प्युटर सेट, प्रिन्टर हस्तान्तरण गरिएको थियो । प्रतिविद्यालय ७० हजार रुपियाँ बराबरका सामग्री सहयोग गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले बताउनुुभयो । नगरपालिकाको सहयोगपछि विद्यालयमा पहिलो पटक कम्प्युटरको पहुँच भएको रामेश्वर आधारभूत विद्यालयका शिक्षक अपिल पोखरेलले बताउनुभयो ।