• १३ साउन २०८१, आइतबार

हतपतको काम लतपत

blog

रामेछाप, असार २५ गते । हिउँदभरि चुपचाप बसेका निर्माण व्यवसायी र सरकारी कर्मचारी असार लागेपछि निकै व्यस्त छन् । असार मसान्तसम्म काम सक्ने र भुक्तानी लिन-दिन चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई छ । त्यसैले हतार–हतार काम सक्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका कर्मचारी लागेका छन् । 

हतपतको काम लतपत भन्ने नेपाली उखान जिल्लाका अधिकांश विकास निर्माणको कामलाई हेर्दा मिल्छ । असारे विकासको सबैभन्दा ठूलो प्रभाव सडक क्षेत्रमा परेको छ । अहिले सडक निर्माण, मर्मत सम्भारलगायतका नाममा जिल्लाको विभिन्न स्थानमा सडक र नाली ठाउँ–ठाउँमा भत्काइएका छन् ।

नाली र सडक भत्काएर सडकमा माटो थुपारेका कारण अधिकांश सडक रोपाइँ गर्न ठिक्क पारेको खेतजस्तै भएका छन् । सडकको दुरवस्थाका कारण यातायातका साधन घण्टौँ फस्ने गरेका छन् । सडकको दुरवस्थाकै कारण तोकिएको समयमा निर्धारित स्थानमा पुग्न नसकिने मन्थली नगरपालिका–९ का चालक सुनील श्रेष्ठ बताउनुहुन्छ । सडकमा जथाभावी फालिएको माटोले घण्टौँसम्म गाडी घोटेर बस्नुपर्ने बाध्यता छ, जसका कारण गाडी र समयको सत्यनाश हुन्छ, उहाँले भन्नुभयो । 

जिल्लाको गोकुलगङ्गा गाउँपालिकाअन्तर्गतको नामाडी–बेताली सडकखण्डको अवस्था अहिले त्यस्तै छ । असारको बेलामा सडक निर्माण गर्ने भन्दै निर्माण व्यवसायीले हलुवा क्षेत्रमा सडक किनारमा नाली खनेर त्यसको माटो सडकमा थुपारिदिएको छ । सो सडक हुँदै रस्नालु, बाम्ती, प्रीतिलगायतका क्षेत्रमा जाने सवारीसाधन घण्टौँ फस्ने गरेका छन् ।

काम विशेषले उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीति जाने क्रममा आफू सो सडकमा चार घण्टासम्म फसेर बस्नुपरेको नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले गुनासो गर्नुभयो ।निर्माणको कामले गोकुलगङ्गा गाउँपालिका–४ बेताली, भुजीलगायतका क्षेत्रमा सडक धेरै बिग्रिएको भए पनि वडा नं. ४ नामाडी क्षेत्रको सडक सुधारोन्मुख रहेको गोकुलगङ्गा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले बताउनुभयो ।

“सुरु गरिएको कामलाई रोक्न पनि सकेनाँै, राम्रै हुन्छ कि भनेर सडकमा भइरहेको सोलिङ तथा वाल (पर्खाल)को कामलाई असारमा पनि निरन्तरता दिएका छौँ, अहिले सोही कामका कारण सडक हिलाम्मे बन्दा सबैलाई समस्या भएको छ,” कार्कीले भन्नुभयो । सडकका कारण नागरिकले भोग्नुपरेको समस्यामा आफूहरू गम्भीर भएको र गाउँपालिकाले पनि सडकमा थुप्रिएका हिलो तथा गेगर पन्छाउने र ढुङ्गा बिछ्याउने काम गरिरहेको उहाँको भनाइ छ । असारे विकासकै कारण नामाडी–बेताली सडकमा दैनिक सयौँ यात्रीले हैरानी खेप्नुपरेको छ ।