सन्तोष दहित
दाङ, मङ्सिर २२ गते । थारु समुदायको विवाह (भ्वाज) संस्कारमा अनिवार्य रूपमा गाउँदै आएको मागर गीत विस्तारै हराउँदै गएको छ । पहिलापहिला थारु समुदायको विवाह (भ्वाज) मा मागर गीत बिनै अधुरो मानिन्थ्यो ।
विवाहको समयमा घरभित्रैदेखि आँगनसम्म मागरको भाका सुनिन्थ्यो । “अझ महिला, पुरुषहरुको आआफ्नै समुह बनाएर पालैपालौ मागर गीत गुञ्जिदा गाउँभरी विवाहमय हुन्थ्यो । तर आजकाल परिस्थिति बदलिएको छ, घोराही १७ का जगविर थारु “चिल्द्रह्वाले भन्नुभयो, परम्परागत मागरको भाकाको ठाउँमा डिजे धुनले स्थान लिँदै जाँदा मागर गीत बिस्तारै हराउँदै गएको छ ।”
“विवाहमा दुलहा र दुलहीले लगाउने थारु समुदायको आफ्नै मौलिक वेशभुषा, पहिरण गरगहना हुन्थ्यो, त्यो पनि अहिले लोप भएको छ, उहाँले भन्नुयभो, जब दुलहाले सेतो पहिरणको जामा र शिरमा पगरी (पगिया) बाँधिन्छन्, त्यसपछि सवैले टाढैबाट दुलहा भएको चिन्थे, अब त, दुलहा र जन्ती बगाल पनि टाइसुट लगाउछन्, छुत्याउने गाह्रो हुन्छ । ” “दुलाहले लगाउने कपडा जब दुलाहले लगाउन सुरु गर्छन, त्यसपछि मागर गीत सुरु हुन्छ, जगविरले भन्नुयभो, दुलाहाले दुलहीको घरमा गएर दुलहीलाई घरमा भिक्र्याइसकेपछि पर्छिडासम्म मागर गीत गाउने थारु समुदायको परम्परागत चलन, संस्कार थियो, अब हराउँदै गएको छ ।”
उहाँका अनुसार विवाहमा विविध संस्कार र कार्य गर्दा सोही अनुसार थरिथरिका मागर गीत गाउने चलन छ । जस्तै दुलाहले देउता कोठा डिउह्रार कोन्टी० मा पगडी (पगिया) बाँध्नेबेला गीत यस्तो छ ।
हरि डेओ मायर मोर मठ सिर पगिया
कटि डुर बाट रि, डुलहिक नगरिया
त्यस्तै जन्त जाने बेला गाउँले तथा इष्टमित्रहरुले बाटोमा छेकेर मिठो मिठो खुवाउने चलन छ । जसलाई थारु समुदायमा पर्छौकी खुवइना भनिन्छ, त्यहि बेला यसरी माँगर गीत गाइन्छ ।
हरि जिनि छेंको रि, जिनि छेको
मोर गाँकहि कटवाल ।
जिनि छेँको मोर गाउँकहि गवँलिया ।।
टोही मैँ पुछुँ भेँरि चहु्रइया,
कटि डुर बाट मोर ढनिके नगरिया ।
मैँ नाहिँ जनटुँ, डुलाहा टोर ढनिके नगरिया ।।
यस्तै भाकामा थारु समुदायका विवाह संस्कारमा दुलहा–दुलही खोज्नेदेखि विवाहको सुरुवाति देखि (ठकौनी खइना) र अन्त्यसम्म मागर गीत गाउने प्रचलन रहेको थारु अगुवा बेझलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार थारु समुदायमा विवाहका विभिन्न पद्धतिहरू छन । बर्का भ्वाज, सट्टापट्टा भ्वाज, झंगाहा भ्वाज, डमाह भ्वाज, उर्हि भ्वाज, भौजही भ्वाज, भ्वाँर भ्वाँज लगायत छन् ।
तर अहिले बर्का भ्वाज (मागी विवाह) र उर्हि भ्वाज (भगाएर ल्याउने विवाह) मात्र गर्ने चलन रहेको उहाँले बताउनुभयो । त्यस्तै थारु समुदायमा फागुन र वैशाख महिनामा विशेषगरि विवाह गर्ने परम्परा रहेको बेझलालले जानकारी दिनुभयो । “हाम्रो समुदायमा विवाहको शुभ साइत फागुन महिना मानिन्छ, त्यो पनि बुधबारको दिन अझ उपयुक्त हुन्छ, उहाँले भन्नुभयो, फागुनमा छुटेकाले वैशाख महिनामा गर्छन, तर, अहिले मंसिर, माघमा पनि गर्न थाले ।”
“जुनसुकै किसिमको विवाह भए पनि थारु समुदायमा मागर गीत अनिवार्यजस्तै थियो । तर, अहिले त्यो परम्परागत मागर गीत हराउँदै छ,” उहाँले भन्नुभयो । पहिले मागर गीत नसुनेसम्म विवाह नै विवाह जस्तो लाग्दैनथ्यो, बेझलाले त्यतिबेलाको कुरा सम्झनुभयो, “तर अहिले त्यही मौलिकता हराउँदै गएको छ, युवापुस्ताको ध्यान आधुनिकता र डिजेतर्फ मोडिएपछि मागर गीत बज्न छाडेको हो ।”
“युवा पुस्ताले मागर गीत गाउन जान्दैनन्, त्यसैले पनि मागर हराउँदै गएको हो, घोराही–७ का युवा विकास चौधरीले भन्नुभयो्, मागर गीत गाउन जानिएको भए आफ्नै कला–संस्कृति संरक्षण हुन्थ्यो । नजानेपछि विवाहलाई उत्सवमय बनाउनका लागि देखासिकी गर्दै थारु समुदायको विवाहमा पनि डिजेले प्रवेश पाउन थालेको छ ।” “परम्परागत रूपमा चल्दै आएको मागर गीत गाउने परम्परा हराउँदै जानु भनेको गीत मात्र हराउनु होइन, थारु समुदायको पहिचान नै मेटिँदै जानु हो,” उहाँले भन्नुभयो, “त्यसका लागि युवाहरू सचेत भएर अघि आउनुपर्छ । मागर गीत पुस्तौँपुस्तासम्म जोगाइराख्न पुस्तान्तरका लागि युवाहरू जागरूक हुनु आवश्यक छ,” उहाँको भनाइ थियो ।