• १४ असार २०८१, शुक्रबार

जनताप्रति जिम्मेवार भएर काम गर्न अध्यक्ष ओलीको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुहुँदै जनताप्रति गम्भीर भएर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । छवि कार्कीको १२ औँ स्मृति सभालाई शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । 

बजेट बनाउँदा तत्कालिन अर्थमन्त्रीले धेरै कमजोरीको काम गरेकाले राजिनामा दिनुपरेको उहाँले बताउनुभयो । यद्यपि आफूले राजिनामा नमागेर उहाँको गलत कामको छानविन गर्न माग गरेको प्रष्ट पार्नुभयो । हरेक गलत चिजको छानविन गरिनुपर्छ भन्नुहुँदै उहाँले सरकारको काम नागरिकले मूल्याङ्कन गरिरहेको चर्चा गर्नुभयो ।

अध्यक्ष ओलीले माओवादीले गरेको हिंसा जनयुद्ध नभएको पनि दाबी गर्नुभयो । नीहित स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि सो युद्धभएको उहाँको भनाइ छ । जनयुद्धको नाममा नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र युद्ध गरेको उहाँले टिप्पणी गर्नुभयो । माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उहाँले आरोप लगाउनुभयो ।