जनार्जन खत्री
सर्लाही, मङ्सिर २१ गते । सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।
हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्बाको नाममा रहेको ज. १ च. १५५८ नम्बरको एम्बुलेन्सबाट लागु औषध गाँजा बरामद भएको हो ।
एम्बुलेन्समा राखेर गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी परिचालन भएको थियो । एम्बुलेन्सलाई पछ्याउँदै जाँदा पछाडिपट्टीको भागमा बोराभित्र लुकाइ राखिएको ५१ किलो ५०० ग्राम लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठा बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई नियन्त्रण लिएको छ । शनिबार राति बरामद भएको गाँजा, एम्बुलेन्स र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
सर्लाहीमा यसअघि इलाका प्रहरी कार्यालय लालबन्दीले शुक्रबार साँझ लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ केजी गाँजासहित एउटा पिकअप भ्यान र एक जनालाई पक्राउ गरेको थियो ।