सन्तोषी रावल
बाजुरा, मङ्सिर २१ गते । बाजुरामा सातदिने सीप-केन्द्रित तालिम सम्पन्न भएको छ ।
बडिमालिका नगरपालिकाको सहयोगमा, प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालद्वारा सञ्चालित ‘किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि’ परियोजनाअन्तर्गत सदरमुकाम मार्तडीमा सञ्चालन भएको सातदिने आवासीय तालिम शुक्रबार सम्पन्न भएको हो ।
व्यावसायिक तरकारी खेती, बाख्रा तथा कुखुरा पालनसम्बन्धी सीप विकास गराउने उद्देश्यले मंसिर १३ गतेदेखि १९ गतेसम्म प्रशिक्षण आयोजना गरिएको थियो ।
तालिममा बडिमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकाका १८–२४ वर्ष उमेर समूहका ४० जना युवा तथा किशोरीहरू सहभागी थिए। सहभागीमध्ये २० जना बाख्रा पालन, १३ जना व्यवसायिक तरकारी खेती तथा ७ जना कुखुरा पालन समूहमा वर्गीकृत गरी प्रशिक्षण प्रदान गरिएको थियो ।
सप्ताहव्यापी तालिममा सैद्धान्तिक ज्ञानसहित व्यावहारिक अभ्यासमार्फत सीप हस्तान्तरण गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा आधुनिक खोर निर्माण, रोग नियन्त्रण, जात सुधार, लोकल कुखुराको व्यवसायिक पालन, सुली निर्माण, बेमौसमी तथा अफसिजन तरकारी खेती, नर्सरी व्यवस्थापन, जैविक मलविषादी प्रयोगदेखि बजार अभिमुखीकरणसम्मका विषयमा सहभागीहरूले प्रत्यक्ष अभ्यास गरेका थिए।
तालिमको सहजीकरण कृषि ज्ञान केन्द्र बाजुरा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिकहरूले गरेका थिए ।
समापन समारोहका प्रमुख अतिथि तथा बडिमालिका नगरप्रमुख अमर खड्काले सीप– आधारित तालिमले युवालाई उद्यमशीलतामा उन्मुख गराउने विश्वास व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।
“समृद्धिको आधार व्यवसाय हो। सिकेको सीप प्रयोग गरेर बाजुरामै उदाहरणीय उद्यमी बन्नुहोस्, नगरपालिका सधैँ तपाईंहरूको साथमा रहन्छ,” उहाँले भन्नुभयो।
विशिष्ट अतिथि तथा नगर उपप्रमुख नन्दा थापाले तालिमलाई ‘ज्ञानको बिउँका रूपमा व्याख्या गर्दै अहिले देखिनै सीपलाई खेतबारी र गोठमा लागू गर्न प्रेरित गरिन्।
“व्यवसाय सुरु गर्दा आउने चुनौती समाधानमा नगरपालिका सधैँ सहयोग गर्नेछ,” उहाँले भन्नुभयो । प्लान इन्टरनेशनल नेपाल तथा पीसविन नेपालका प्रतिनिधिहरूले पनि सहभागीहरूको आत्मविश्वास बढाउने खालका शुभकामना व्यक्त गरे।
सहभागीहरूका अनुसार तालिमले आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गरेको छ। उनीहरूले चाँडै नै व्यवसायिक रूपमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन सुरु गर्ने जनाएका छन् ।
स्थानीय स्तरमै तरकारी, मासु तथा अण्डाको उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयआर्जन बढाउन तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।