वेदकालीन समाजमा क्रमशः परिवार, कुल, ग्राम, विश हुँदै राज्यको स्वरूप निर्माण हुँदै गएको थियो । राज्यको नेतृत्व गर्ने वर्ग तथा समूहलाई राजन्य भनिन्थ्यो खनि राज्यको नेतृत्व गर्ने व्यक्तिलाई राजा । राजा जन्मजात नभई जनताबाट छानिने चलन थियो । अयोग्य, अवगुणी र दुराचारी राजा जनताद्वारा पदच्युत तथा निर्वासित हुन सक्थे ।
राज्य सञ्चालनको आवश्यक खर्च यज्ञमार्फत प्राप्त हुने दान दक्षिणाबाट प्राप्त गरिन्थ्यो । वेदकालीन समयमा यज्ञले एक आर्थिक संस्थाका रूपमा कार्य गर्दथ्यो । यज्ञको नेतृत्व गर्ने वर्ग पुरोहित र ब्राह्मण हुन्थे । राज्य सञ्चालनका धार्मिक विधि विधान बनाउने शक्ति आर्जनका लागि पूजापाठ गर्ने काम पुरोहित वर्गले गर्दथे ।
उत्पादनमूलक कार्यमा विश वर्ग संलग्न हुन्थ्यो । विश (वर्तमानको वैश्य शब्द यही विश शब्दबाट निर्माण भएको हो ।) वर्गले उत्पादन गरेका वस्तु यज्ञमा चढाइन्थ्यो । त्यहीँ यज्ञमा चढाइएका वस्तुमध्येबाट पुरोहितको पारिश्रमिक एवं राज्य सञ्चालन खर्चको व्यवस्था गरिन्थ्यो । शक्ति विस्तारका क्रममा विभिन्न राज्यका बीचमा द्वन्द्व तथा युद्धसमेत हुने गर्दथ्यो । ऋग्वेदमा दशराज्ञ युद्धको चर्चाले त्यसलाई पुष्टि गर्दछ । युद्ध सफल बनाउन राजाले पुरोहित एवं सेनापति नियुक्त गर्ने चलन हुन्थ्यो ।
राज्यका पदाधिकारीहरू
वैदिक समयमा सेनापति, पुरोहित र ग्रामणी गरी प्रमुख तीन पदाधिकारी रहने गर्दथे । सेनानी सेनाको नायक तथा अध्यक्ष हुन्थ्यो र उसको नियुक्ति राजा आफैँले गर्दथे । सेनानीको प्रमुख कार्य सैनिक कार्यमा राजालाई सघाउने हुन्थ्यो । पुरोहित राजाको परामर्शदाता एवं राज्य कर्मचारीको प्रमुख व्यक्ति मानिन्थे । पुरोहितले सामूहिक कल्याणका लागि यज्ञ गर्ने, ऋचा तथा मन्त्रद्वारा आफ्नो राजा तथा राज्यको विजय कामना गर्ने, दैवी शक्तिको आह्वान गर्दै राजाको शक्तिको सुरक्षा गर्दथे ।
पुरोहित धर्मगुरुका साथसाथै राजमन्त्री, पथप्रदर्शक, दार्शनिक र वीर योद्धा हुन्थे । पुरोहितपछि गाउँको मुख्य अधिकारीका रूपमा ‘ग्रामणी’ हुन्थे । गाउँको शासनको सम्पूर्ण जिम्मा ग्रामणीको हुन्थ्यो ।
राजाको प्रमुख कर्तव्य शान्तिपूर्वक यज्ञ कर्मको अनुष्ठान गर्ने वातावरण मिलाउने, प्रजा तथा राज्यको सीमा रक्षा गर्ने हुन्थ्यो । राजा सेनाको सर्वोच्च पदाधिकारी हुन्थे । युद्धस्थलमा नेतृत्व गर्ने, धार्मिक उत्सव तथा सामाजिक अवसरको जुलुसको समयमा आफ्ना जनताको प्रतिनिधित्व गर्ने, प्रचलित न्यायविधान अनुसार न्याय दिने र अपराधीलाई दण्ड दिने आदि काम राजाको कर्तव्यभित्र पर्दथे ।
राज्यका निकाय
ऋग्वैदिक समाजको प्रारम्भिक एकाइ गृह अथवा कुललाई मानिन्थ्यो । कुलका प्रमुखलाई कुलपा भनिन्थ्यो । कुलपा परिवारको ज्येष्ठ सदस्यबाट छानिन्थ्यो । घरमा रहने सबै परिवारका सदस्यले उनको अनुशासनभित्र रहनु पर्दथ्यो । ऋग्वेद तथा अथर्ववेदमा गृह शब्दको प्रयोग आवास अथवा घरको अर्थमा भएको पाइन्छ ।
गृह कुल तथा परिवारको समूहलाई ग्राम भनिन्थ्यो । ग्रामको नेतृत्व गर्ने व्यक्तिलाई ग्रामणी मानिन्थ्यो । गृह, कुल तथा परिवारका प्रमुखमध्येबाट ग्रामणीको मनोनयन गरिन्थ्यो । गृह, कुल, परिवार तथा ग्राम खास शासकीय एकाइका रूपमा नभएको तर्क केही विद्वान्ले उल्लेख गरेका छन् ।
ग्रामभन्दा उपल्लो राजनीतिक एकाइलाई विश भनिन्थ्यो । विशको प्रमुख तथा मुखिया विशपति कहलिन्थे । विशको अर्थ बस्ती भन्ने बुझिन्थ्यो । ऋग्वेदमा पशुपालन एवं पशु चरनको सन्दर्भ धेरै पटक उल्लेख भएको छ । वैदिक आर्यहरू आफ्ना पशुको झुन्ड लिएर चरनको खोजीमा घुमिरहन्थे । आर्यको कृषिमा आधारित जीवन पूर्ण तथा व्यवस्थित भइसकेको थिएन । आर्य कविला पशुपालनको क्रममा फरक फरक स्थानमा पर बस्ने, फर्की आउने, पुनः प्रवेश गर्ने बस्तीको अर्थमा ऋग्वेदमा विश शब्दको प्रयोग भएको पाइन्छ ।
वेदकालीन आय आफ्नो आरम्भिक कालमा घुमन्ते जीवन बिताउँदथे । त्यस अवस्थामा घुमन्ते कविला समूहलाई जन भनिन्थ्यो । जन गोत्रमा आधारित सबैभन्दा ठुलो एकाइ मानिन्थ्यो । जनका सदस्य गणका परस्पर रक्तसम्बन्धका नाता अन्तर्गतका हुन्थे । स्थायी रूपमा बसोबास गर्न थालेपछि कविला प्रमुखका रूपमा मुखिया, पुरोहित तथा अन्य अगुवा रहन्थे । जनले कालान्तरमा बृहत् भौगोलिक एकाइका रूपमा विकसित भई राज्यको रूप ग्रहण गर्दथ्यो भन्ने तर्क विद्वान् हरिशरण दुवेले गरेका छन् ।
वेदकालीन समाजमा राज्य सञ्चालनको एकाइका रूपमा सभा तथा समितिको व्यवस्था भएको तथ्य पाइन्छ । समिति सम्पूर्ण विशको संस्था थियो । जहाँ वयस्क मानिस सम्मिलित हुन्थे । सभाबाट राजनीतिक, प्रशासनिक, न्यायिकलगायतका कार्यसम्पादन हुन्थ्यो । सभाले अदालत तथा न्याय सभाका रूपमा कार्य गर्दथ्यो । यसको प्रमुख न्यायाधीशका रूपमा राजा र सभासद, न्यायाधीश, प्रहरी साक्षीका रूपमा रहन्थे ।
समितिले धेरैजसो गैरराजनीतिक कार्य गर्दथ्यो । समितिले विद्वान्हरू जम्मा गरेर दार्शनिक बहस पनि गराउँथ्यो । धार्मिक उत्सव तथा स्तुतिजन्य कार्यमा पनि समितिले सहमति जुटाउने कार्य गर्दथ्यो ।
राज्यका प्रकार
ऐतरेय ब्राह्मणको सन्दर्भ दिँदै वेदकालीन समयमा साम्राज्य, भोग्य, स्वराज्य, वैराज्य परमेष्ठय, महाराज्य, आधिपत्यमय र सामन्तपर्यायी गरी आठ प्रकारका राज्य रहेको तथ्य विभिन्न विद्वान्ले चर्चा गरेका छन् ।
वेदकालीन समयमा साम्राज्य भनेर वर्तमानको जस्तो औपनिवेशिक साम्राज्य नभएर युद्धमा जितेपछि आफूले त्यस राज्यमाथि आधिपत्य नजमाएर हार्ने पक्षलाई नै राज्य फिर्ता दिने चलन पनि हुन्थ्यो । त्यस खालको राज्यलाई साम्राज्य भनिन्थ्यो ।
भोग्य राज्यलाई दुई अर्थमा उल्लेख गरिएको छ । एक अर्थमा भोग्य भन्नाले पृथ्वीको नैसर्गिक मर्यादाद्वारा परिवेष्ठित राज्य भन्ने बुझिन्छ । जसले निश्चित भौगोलिक सीमालाई सङ्केत गर्दछ । भोग्यको दोस्रो अर्थ जनताको आवश्यकता पूर्ति गर्नु र तिनलाई समृद्ध तुल्याउँदै जानु भन्ने बुझिन्छ ।
स्वराज्य भन्नाले संयमी, मानववादी आचरणयुक्त, राजव्यवस्था भएको राज्य भन्ने उल्लेख गरिएको छ । कल्याणकारी राज्यको स्वरूपलाई स्वराज्यको रूपमा लिइएको छ ।
वैराज्य भन्नाले राजाबिनाको देश तथा राज्यलाई अथ्र्याइएको छ । एउटै भाषा र समान सामाजिक व्यवस्था भएको सानो समुदायले आफ्ना जेठा बुढापाकाको सल्लाहमा आफ्नो समाज व्यवस्था चलाउने राज्यलाई वैराज्यका रूपमा उल्लेख गरिएको छ ।
पारमेष्ठी नामक राज्य व्यवस्थालाई आदि मानव समाज तथा सामाजिक व्यवस्थाका रूपमा चर्चा गरिएको छ । यस व्यवस्थालाई सत्य युगको पनि प्रारम्भकालीन गुण सम्पन्न समाज मानेमा अत्युक्ति नहुने तर्क मदनमणि दीक्षितको रहेको छ ।
साना साना र निकै सङ्ख्यामा रहेका राज्यले स्वैच्छिक रूपमा एकत्रित भई महासङ्घ जस्तो महाराज्यको व्यवस्था गर्दथे । त्यस्ता राज्यलाई महाराज्यका रूपमा उल्लेख गरिएको छ ।
कर्मचारीतन्त्रको अधीनमा चल्ने राज्यलाई आधिपत्यमय राज्यका रूपमा चर्चा गरिएको छ । पति र अधिपति प्रशासन यन्त्रका प्रमुख अधिकृतहरू हुन्थे । तिनै राज्य अधिकारीहरूको अधीनमा चल्ने राज्य व्यवस्थालाई आधिपत्यमय राज्य भनिएको छ ।
त्यसै गरी सामन्तको अधीनमा रहने राज्यलाई समन्तपर्यायी राज्यका रूपमा चर्चा गरिएको छ ।
यसबाहेक पनि जनराज्य, गणराज्य र विराट् अविराज्यबारे पनि वैदिक संहितामा चर्चा पाइन्छ । विराट् राज्यका रूपमा हिमाली प्रदेशमा रहेका जनराज्य, भोज राज्य भनेर दक्षिण प्रदेशका राज्यलाई सङ्केत गरिएको तर्क मदनमणि दीक्षितको छ ।
राज्यको नेतृत्व
वेदकालीन समाजमा राज्यको नेतृत्व कुन वर्गले गर्दथ्यो भन्ने कुरा बुझ्नका लागि त्यस बेलाको वर्ग व्यवस्थाबारे थाहा पाउनु आवश्यक हुन्छ । मूलतः वर्ण व्यवस्थाले त्यस समयमा सामाजिक वर्गको स्वरूप लिएको देखिन्छ । प्रारम्भमा वर्ण जन्मजात थिएन वर्गीय रूपमा थियो । त्यस समयमा परिवारको समूहबाट कुल, कुलको समूहबाट ग्राम, ग्रामको समूहबाट विश, विशको समूहबाट जनको निर्माण हुँदै राज्य निर्माणको प्रव्रिmया अगाडि बढेको देखिन्छ ।
त्यस समय राज्यको नेतृत्व गर्ने व्यक्तिको समूहलाई राजन्य भनिन्थ्यो । राजा प्रारम्भमा जन्मजात नभएर जनबाट निर्वाचित हुन्थे । पछि राजा हुने प्रक्रिया जन्मजात हुँदै गयो । यसरी हेर्दा राज्यको नेतृत्व राजन्य वर्गले गर्दथ्यो तर वर्ण व्यवस्था जन्मजात नभएर श्रमका आधारमा निर्माण हुन्थ्यो भन्ने कुरालाई आधार मान्दा विश तथा शुद्र वर्गका मानिस पनि नेतृत्वमा पुग्न सक्दथे भन्ने देखिन्छ ।
आर्थिक हिसाबले हेर्दा विश र शुद्र समूह उत्पादन र सेवा कार्यमा संलग्न हुने तथा उत्पादन भएका वस्तु यज्ञमा अर्पण गर्ने गरिन्थ्यो । यज्ञको नेतृत्व पुरोहित (ब्राह्मण) वर्गले गर्दथे भने पुरोहितको नियुक्ति राजन्यबाट हुन्थ्यो । जसले गर्दा त्यस बखत खास कुन वर्गको शासन चल्दथ्यो भन्ने जिज्ञासा रही नै रहन्छ ।
पशुधन तथा जमिन विस्तृतीकरण गर्न युद्ध क्षेत्रमा खटिरहनुपर्ने र त्यहीँ प्रक्रियाबाट आफ्नो कुलको रवाफ, सम्पत्ति, सीमा, क्षेत्रको विस्तार हुने भएकाले युद्ध मोर्चामा रहने वर्गले नै राज्यको नेतृत्व लिन्थ्यो भन्ने तर्क गर्न सकिन्छ ।
न्याय तथा दण्ड व्यवस्था
न्यायका सर्वोच्च अधिकारी राजा हुन्थे । उनले पुरोहित तथा अन्य परामर्शदाताको सहायता र सहयोगमा न्याय दान गर्दथे । वैदिक कालमा पशुधन चोरी, डकैती, द्रव्य चोरी, लेनदेनका झगडा, सामाजिक परम्पराको उल्लङ्घनलाई अपराध मानिन्थ्यो । धेरै जसो अपराधमा शारीरिक दण्ड उपयुक्त मानिन्थ्यो । यद्यपि मृत्युदण्डको चलन पनि थियो । अपराध प्रमाणित गर्न या निर्दोष साबित गर्नका लागि अग्निपरीक्षा, जलपरीक्षाको समेत प्रचलन रहेको तथ्य छन् ।
–युवामञ्च