नर्वेलाई अनुशासनप्रिय देशका रूपमा लिइन्छ । एक नेपाली भुक्तभोगीले मलाई बताए– नर्वेको समाजलाई विघटन हुनबाट जोगाउने नै यहाँको नियम कानुन कार्यान्वयन गर्नका निम्ति गरिने कडाइ हो । समाज स्वतन्त्र छ, विवाह गरेर बच्चा जन्माउनेभन्दा विवाहपूर्व नै बच्चा जन्माउने प्रचलन छ । विवाह त केही समयपश्चात् पनि हुन सक्छ, नहुन पनि सक्छ । विवाह नै नभएपछि कसरी सम्बन्धविच्छेद हुन्छ र ? सम्बन्ध बन्नु र भत्कनु सामान्य कुरा हो तर पनि नर्वेली समाज शान्त देखिन्छ, कुनै हलचल नभए जस्तो ।
लैङ्गिक समानता छ, सामाजिक न्यायको प्रत्याभूति छ र आधारभूत आवश्यकताको जोहो सरकारले पनि गर्छ, नागरिक आफैँ पनि आफ्ना लागि मेहनत गरेर बाँच्ने कुरामा विश्वस्त छन् । करोडपति बाबु वा आमाका सन्तानले पनि आफ्नो व्यवस्था आफैँले गर्नु जरुरी छ । नाबालिग हुँदा अभिभावक र सरकारको जिम्मा बालक हुन्छ, बालिग भएपछि उसको जिम्मा आफैँले लिन्छ या सरकारले लिन्छ । बेरोजगारी भत्तादेखि सम्पूर्ण सुविधा सरकारले दिनै पर्छ । शिक्षा जति पढे पनि निःशुल्क छ, भर्ना हुनका लागि आवश्यक क्षमता आफूमा हुनु चाहिँ अनिवार्य हुन्छ ।
नर्वेको सार्वजनिक यातायातमा टिकट अनिवार्य लिनै पर्छ । टिकट नभए के हुन्छ ? नियम कडा छ । बिनाटिकट यात्रा गरिन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । यो एउटा खुकुलो नियमभित्रको कडा नियम हो । एकघन्टे टिकट, २४ घन्टे टिकट, हप्ताभरका लागि, महिनाभरका लागि र वर्षभरिका लागि टिकटको व्यवस्था गरिएको हुँदो रहेछ । टिकटको मूल्यमा छुट दिँदै मूल्य निर्धारण गरिएको हुँदो रहेछ । यातायातका रूपमा रेल, ट्रिक, बस, फेरी वा बोटको व्यवस्था हुन्छ । एउटै टिकटको समयावधिभित्र यात्रा सम्पन्न गर्नु पर्छ । उदाहरणका लागि एक घण्टाका निम्ति टिकट लिइएको छ भने त्यो एक घण्टामा जति यात्रा सम्पन्न गर्ने हो गरिसक्नु पर्छ, यात्रा सुरु गरेको समयबाट ।
यहाँ पनि इमानको कुरा आउँछ । बसमा या ट्रिकमा चढ्दा त्यहीँ नै टिकटको समय गणना थाहा पाउने यन्त्र राखिएको हुन्छ । अर्थात् त्यो टिकट त्यो यन्त्रमा छुवाएपछि समयको गणना सुरु हुन्छ । यन्त्रमा नछुवाएसम्म टिकटको समय सुरु हुँदैन । जबसम्म टिकटलाई त्यो स्वचालित यन्त्रमा छुवाइँदैन, त्यो टिकट लिएर हिँड्ने यात्री टिकट नलिएसरह हुन्छ । टिकट प्रयोग हुँदा या नहुँदा वैध रहने समय पनि त्यही टिकटमा अभिलेखित हुन्छ ।
त्यहाँ पनि केही त्यस्ता यात्री हुने रहेछन्, जसले सकेसम्म टिकट स्वचालित यन्त्रमा नछुवाई टिकट बचत गर्ने अर्थात् फेरि किन्नु नपरोस् । त्यस्ता यात्री सामान्यतया विकासशील देशबाट गएका विद्यार्थी तथा कामदार हुने रहेछन् । अनि त्यस्ता यात्रीलाई सधैँ कन्ट्रोलको डर हुने रहेछ । कन्ट्रोल अर्थात् टिकट चेक गर्ने र टिकट नकिनी चढ्ने या किनेर पनि स्वचालित समय गणना गर्ने यन्त्रमा नछुवाईकन राख्नेहरूलाई कारबाही गर्ने । या टिकटमा तोकिएको समयभन्दा बढी समयको यात्रा गर्ने या पहिलेको टिकट प्रयोग गरेको पत्ता लगाउने र दण्ड गर्ने । कन्ट्रोलको डरले पनि मानिसहरू टिकट किनेर स्वचालित यन्त्रमा टिकटलाई छुवाएर समयको घेराभित्र आफूलाई राख्छन् । विधिको अव्यक्त भय ।
टिकटको मूल्य यात्रा गर्ने ठाउँको दुरीका आधारमा निर्धारण गरिएको हुँदो रहेछ । एउटा सीमाबद्ध क्षेत्र या जोनबाट अर्को जोनमा जानुपर्दा मूल्य बढी हुन्छ तर एउटै जोनमा जानेका लागि न्यूनतम मूल्यबाटै जान सकिन्छ । तोकिएको समयभित्र जुनसुकै यातायातका साधनमा यात्रा गर्न सकिन्छ । सामान्यतया कसैले सोध्दैन । टिकट किन्न या कुनै तोकिएको पसलबाट यन्त्रमार्फत किन्न पाइन्छ या त ठाउँ ठाउँमा स्टेसनहरूमा कार्ड या पैसा (व्रmोन÷व्रmोनर) बाट किन्न पाइन्छ ।
मैले ओस्लोको भ्रमण २६ मे २०१९ देखि अगस्त २० सम्म गरेको थिएँ– श्रीमती देवकीदेवी अधिकारीसहित । त्यो बेलामा ओस्लोको सार्वजनिक यातायातको एउटा जोनका लागि अर्थात् ओस्लो सहरभरिका लागि एक घण्टाका निम्ति ३६ व्रmोनर थियो । वृद्ध, अपाङ्गता भएका व्यक्ति र नाबालकका लागि आधा मात्र लाग्थ्यो । त्यहाँ ज्येष्ठ नागरिक भनेको ६७ वर्षका नागरिकलाई मानिँदो रहेछ, किनकि त्यहाँको नियम अनुसार पेन्सन पाउनका लागि उमेर ६७ हुनुपर्दो रहेछ । नर्वेमा ज्येष्ठ नागरिकको सुविधा पाउन त्यहाँकै नागरिक हुनुपर्ने रहेछ । ओस्लो जस्तो सामाजिक न्यायको प्रत्याभूति भएको सहरमा किन विश्व नागरिकका लागि सुविधा नदिएको होला ? त्यो त सोचनीय त छ तर त्यस्तो विधि त्यो बेलामा बनेको थिएन ।
ओस्लो विश्वकै महँगो सहरमा पर्दो रहेछ तर यहाँको कमाइ पनि राम्रै रहेछ । श्रमिकका लागि नर्वेलाई राम्रो देशको रूपमा लिइँदो रहेछ । श्रमको मूल्यमा कुनै ठगी हुँदैन भन्ने चलन रहेछ ।
यस पटक मैले सार्वजनिक यातायातको बिनाटिकटको कुरा गर्न आँटेको हुँ । यो हरफ लेख्दासम्म सार्वजनिक यातायातको सबैभन्दा कम मूल्य भनेको एक घण्टाको ३६ व्रmोनर छ; जुन कुरा माथि नै मैले लेखेको छु । बालक, विद्यार्थी, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, सुरक्षा सेवाका व्यक्तिका लागि छुटको व्यवस्था छ । विद्यार्थी जो ३० वर्षभन्दा बढीका लागि कुनै पनि छुट पाइने रहेनछ । ज्येष्ठ नागरिकका रूपमा उमेर ६७ वर्ष पुगेको हुनुपर्ने रहेछ । कुनै सार्वजनिक यातायातको टिकट लिएको मानिसले तोकिएको समयभन्दा २० मिनेटसम्म पनि सार्वजनिक यातायात खास गरी बस, रेल नआएर काममा बाधा पुगेको सप्रमाण उजुर गरेमा उसलाई ट्याक्सी खर्चबापत ५५० व्रmोनर दिनैपर्ने रहेछ ।
टिकट नलिई यात्रा गरेको कन्ट्रोलले फेला पारेमा तत्काल नगद दिने भए नौ सय व्रmोनर दण्ड तिर्नु पथ्र्यो तर दण्डपछि बिस्तारै तिर्छु भन्नेलाई निश्चित समयसम्ममा तिर्ने गरी एक हजार एक सय व्रmोनरको दण्ड थियो– त्यो बेला ।
मलाई पनि लाग्थ्यो, यति महँगो टिकट लाग्छ तर कहिल्यै पनि कन्ट्रोल त देखिँदैन ? तर ५ अगस्त अर्थात् साउन २० गते मसहित परिवारका सबै सदस्य सोङ्भान गएका थियौँ, भाइ प्रेम परियारको जन्मदिन मनाउन । अनि सँगै रहेको मेरो विद्यार्थी मिसर लामिछानेको फ्ल्याटमा पनि छि¥यौँ किनभने मेरो रक्तचापका बारेमा जानकारी लिनु थियो, जुन सहयोग मिसरकी पत्नी ज्ञानु लामिछानेले गरिन् । उनी चिकित्सा विज्ञानकी विद्यार्र्थी हुन् र हामी म, देवकी, छोरी अर्चना, ज्वाइँ नवराज सापकोटा र नातिनी अदिति सबै नै गएका थियौँ ।
त्यहाँको भूमिगत रेललाई ‘टी–बाहन’ भन्दा रहेछन्, जसलाई स्थानीयस्तरमा थेबान भन्छन् । त्यहाँबाट फर्कंदा पहिलो स्टेसन (थेबान) मै कन्ट्रोल आयो । हामीले त आफ्नो वैधानिक टिकट देखायौँ तर केही यात्रुलाई त्यहाँ छटपटी भएको हामीले देख्यौँ । सायद त्यस्तै गरे होलान् कन्ट्रोलले, या नगद लिए होलान्, नौ सय व्रmोनर या त पछिसम्म तिर्ने गरी ११ सय व्रmोनरको बिल दिए होलान् । कन्ट्रोल पनि त इमानदार हुने नै भए किनभने उनीहरू पनि अरूको इमान जाँच्न खटिएका थिए ।
हल्का हरियो ओस्लो बसमा टिकटको कन्ट्रोल स्वयम् ड्राइभरले गर्ने रहेछन् । यात्रुहरू ड्राइभरनेरबाट चढ्नुपर्ने अनि ड्राइभरले टिकट चेक गर्ने रहेछन् । समयावधि वैध भएको वा नभएको, पासका रूपमा पहिल्यै रकम तिरेको, मोबाइलबाट टिकट किनेको सबै चेक गरेर मात्र भित्र प्रवेश दिइने रहेछ ।
सामान्यतया महिनाको कार्ड किनेर हिँड्नेहरू धेरै हुँदा रहेछन् किनभने कहिलेकाहीँ टिकट किन्न नपाउँदा या हतारमा कतै जानुपर्दा मुस्किल पर्ने हुनाले कसैले केही टिकट लिइराख्ने या महिना, तीन महिना या छ महिनाको टिकट किनेर राख्ने रहेछन् । निश्चित समयका लागि लिइएको टिकटका बारेमा त टिकट रिन्यु गर्ने कुरा मात्र रहेछ तर किनेको टिकट नछुवाएपछि हुने कुरामा त्यो हरियो बसमा बिनाटिकट कुनै यात्री फेला परे ड्राइभरलाई दण्ड हुने रहेछ, किनभने उसले चेक नगरेको अर्थमा लिइँदो रहेछ । कन्ट्रोल त कहिलेकाहीँ मात्र हुने हो तर कन्ट्रोलको डरले सबैले टिकट लिने रहेछन् किनभने फेला परेपछि त नौ सय व्रmोनर पो तिर्नु पर्छ भनेर । यसरी सार्वजनिक यातायात रेल, थेबान, ट्रिक, बस, फेरी यसै गरी सञ्चालन भएका छन् र नाफामा चलेका छन् । यातायात निर्बाध रूपमा सञ्चालनमा छन्, मिनेटको फरक पर्दैन । यति बजे आउने र यति बजे पुग्ने भन्ने समयसारिणी छ, त्यसका फरक पर्दैन तर बिदाका दिन भने समयसारिणीमा केही परिवर्तन हुन्छ तर पनि सट्टा वाहनको व्यवस्था गरिएको हुन्छ । कुन रुटमा कुन बस वा ट्रिक वा रेल चल्ने छ भन्ने सूचना दिइएको हुन्छ । हामी नर्वेजियन नबुझ्नेका लागि कहिलेकाहीँ अप्ठ्यारो पर्ने रहेछ तर सूचना चाहिँ हुँदो रहेछ ।
कतिपय व्यापारिक संस्थाले सहरबाट आफ्नो पसलसम्मका लागि बसको सेवा निःशुल्क गरेका हुँदा रहेछन् । जस्तो कि इकिया भन्ने व्यापारिक संस्थाले ओस्लोको मध्य भाग जहाँबाट सम्पूर्ण यातायात परिचालन हुन्छ; सेन्ट्रमबाट आफ्ना पसल जहाँ जहाँ छन्; त्यहाँसम्मका लागि बससेवा बिदाका दिनबाहेक सञ्चालन गरेका रहेछन् । त्यस्ता अरू पनि होलान् तर मलाई जानकारीमा आएकोलाई मात्र मैले यहाँ प्रस्तुत गरेको हुँ । एकातिर खुकुलो देखिन्छ; जो जहाँबाट चढे पनि हुने, टिकट काटेर चढ्नैपर्ने तर कसैले चेक गरेको नदेखिने, बिनाटिकट चढेको पाइए दण्ड पनि कडाइसाथ असुल्ने । अनि जायज तर्कको पनि सुनुवाइ हुने र गरिएको दण्ड पनि मिनाहा हुन सक्ने । सायद त्यसैलाई भनेका होलान्– नर्वे नियमले बाँधिएको समाज हो । नियमले नै सबैलाई संयमित र अनुशासित बनाएको अनि सामाजिक नियम मान्नैपर्ने अनुशासनको पाठ पढाएको । त्यसैले त यो मुलुक विकसित देशका रूपमा चिनिएको छ ।