काठमाडौँ, मङ्सिर २० गते । कवि तथा गीतकार निरुपम श्रेष्ठले तेस्रो कृतिका रुपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याउनुभएको छ । यसअघिका दुई कवितासङ्ग्रह देश स्वप्न (२०६३) र बूढो समय (२०७९) बाबुराम श्रेष्ठका नाममा सार्वजनिक छन् । अब चाहिँ निरुपम श्रेष्ठका नाममा पाठकबिच कवि तथा गीतकार आउनुभएको छ ।
सिन्धुली जिल्ला मरिण गाउँपालिका–७ बाह्रबिसेका निरुपम अंग्रेजी विषयको माध्यमिक शिक्षकका रुपमा सक्रिय रहेर पनि नेपाली गीत तथा कविता लेखनमा उत्तिकै तल्लिन हुनुहुन्छ । गाउँमा बसेर बुझेको, भोगेको र अनुभूत गरेको समाज, जीवन र परिकल्पनामा उभ्याएको संसारलाई गीत मार्फत् गीतकार निरुपमले यस सङ्ग्रहमा उतार्नुभएको छ ।
गीतसङ्ग्रह कुमारी मायामा ७५ गीत संग्रहित छन् । गीतकार बसन्तराज अज्ञातको आकर्षक आवरण कलासहितको कुमारी आमा प्रा.डा. कृष्णहरि बरालले भूमिका मार्फत् लेख्नुभएको छ, ‘‘संरचनागत हिसावले हेर्दा यिनका गीतहरु स्थायी र अन्तरा भागमा विभक्त गरिएको छ भने धेरै गीतमा स्थायी अनि दुईवटा अन्तरा प्रयोग गरिएको छ । लयगत आधारमा भन्दा उनले आक्षेरिक लयलाई प्रयोग गरेका छन् ।’’