यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), मङ्सिर २० गते । बर्दियाको बाँसगढी नगरअस्पतालमा स्वास्थ्य बिमा गरेका नागरिकहरूका लागि प्रथम सेवा विन्दु सेवा सुचारु भएको छ । बाँसगढी नगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच सहमति भएपछि सेवा सुरु भएको हो ।
सेवा सुरु भएपछि बाँसगढी नगरपालिकाका स्वास्थ्य बिमा गरेका नागरिकहरू सेवा लिन बाँकेको बैजनाथ गाउँपालिको प्रथामिक स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यता हटेको छ । यस अघि बाँसगढी नगरवासी उपचार मात्र नभएर रेफर गर्नका लागि समेत बाँके जिल्ला धाउनु पर्ने बाध्यता थियो ।
बाँसगढी नगरपालिकामा छ हजार छ सय ३२ घरपरिवारका २० हजार पाँच सय ३४ जनाले स्वास्थ्य बिमा गरेका छन् । उनीहरू मध्ये तीन हजार दुई सय ६१ जना ज्येष्ठ नागरिक रहेका छन् । दुई हजार तीन सय ३० घरपरिवारले पूरा बिमा शुल्क तिरेर स्वास्थ्य बिमा गरेको स्वासथ्य बिमा बोर्ड बर्दियाका संयोजक डिके्रन्द्रबहादुर बिष्टले बताउनुभयो ।
बाँसगढी नगरपालिकाले स्वास्थ्य बिमा लागू भएको आठ वर्षपछि नगर अस्पताललाई प्रथम सेवा बिन्दुमा सूचिकृत गराउन सफल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर खनालले बताउनुभयो । नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर नगरअस्पताल स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको थियो । बाँसगढी नगरअस्पताल २०७७ सालमा स्थापना भएको हो ।
बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले लामो समयको प्रयास पछि स्वास्थ्य बिमा बोर्डमा नगरअस्पताललाई सूचिकृत गराउन सफल भएको बताउनुभयो । “अब बाँसगढी नगरपालिकाका सेवाग्राही बाँकेमा सेवालिन जानुपर्ने बाध्यता हटेको छ ।” उहाँले भन्नुभयो, “गरिब तथा विपन्न वर्गलाई कसरी स्वास्थ्य बिमामा समेट्न सकिन्छ भन्ने विषयमा योजना बनाउँदै छौँ । छिट्टै नै त्यो काम पनि सुरु गर्ने छौँ ।”
यस अघि गोरखापत्र दैनिकमा भदौ १३ गते बिमा सुविधा नहुँदा बिरामी मर्कामा भन्ने शीर्षकमा समाचार प्रकाशन गरेका थियौँ ।