‘नमन’ नम्रता र विनयको पर्याय हो । यही नम्रता र विनयशील प्रवृत्तिको उपजका रूपमा पत्रकार तथा साहित्यकार जयदेव भट्टराईको ‘नमन’ शीर्षकको कृति प्रकाशमा आएको छ । नेपालका विविध क्षेत्र (साहित्येतर) मा सव्रिmय भई आआफ्नो क्षेत्रमा सार्थक योगदान दिन सकेका ३९ जना नमनीय साधकप्रति नमित भई तयार गरिएको ‘नमन’ शीर्षकको यो कृति एउटा अनुभवजन्य कृतिका रूपमा प्रकाशित हुन पुगेको पाइन्छ । लेखक तथा प्रकाशकद्वारा विविध क्षेत्रका साधकको शब्दचित्रको संज्ञा दिएर प्रकाशित गरिएको यो कृतिमा स्पष्ट रूपमा विधागत वर्गीकरण नगरिएको भए तापनि यो कृति चित्रकाव्यात्मक गुणयुक्त निबन्धात्मक शैलीमा लेखिएको छ । साधारणतया यो जीवनीपरक कृति जस्तो देखिए पनि उपर्युक्त तथ्यलाई मनन गर्दा यो तत्कालीन समसामयिक समाज, सामाजिक अवस्था र परिवेश आदि सम्बद्ध निबन्धात्मक कृतिका रूपमा प्रकाशित हुन पुगेको पाइन्छ ।
कुनै पनि विषयलाई कल्पनात्मक वा वस्तुगत पाराले निबद्ध गरिएको रचना नै निबन्ध हो । यसलाई मनन गर्ने हो भने आरब्ध प्रकाशनले प्रकाशमा ल्याएको यो कृतिले एउटा सशक्त निबन्धकारका रूपमा जयदेव भट्टराईलाई उभ्याउने काम गर्न सकेको पाइन्छ । यो कृतिले अनुभूत विषयवस्तुलाई वर्णनात्मक अनि ध्वन्यात्मक शब्दचित्रका रूपमा राम्ररी अभिव्यक्त गरेको छ । अभिव्यक्तिमा विविध किसिमका शब्दालङ्कारको प्रयोग भएको छ । तिनमा शब्दाडम्बरको अलिकति पनि प्रयोग भएको पाइँदैन । भन्नुको तात्पर्य के हो भने लामा लामा वाक्य, अत्यन्त जटिल र अप्रचलित शब्दको प्रयोग नभएर अत्यन्त सरल, सहज र बोधगम्य भाषामा विचारको सम्प्रेषण गर्ने कार्यमा कृतिले सफलता पाएको छ । यी विचारमा मनका सोचाइ र यसमा आधारित अनुभव र अनुभूतिको गहिरो चिन्तन अभिव्यक्तिन पुगेकाले पनि यसलाई व्यक्तिकेन्द्रित जीवनीमूलक कृति वा संस्मरणात्मक कृतिका रूपमा भन्दा बढी एउटा विशुद्ध निबन्धात्मक कृतिका रूपमा ग्रहण गर्नुपर्ने देखिन्छ ।
अनुभूतिजन्य लेखाइमा आधारित ‘नमन’ शीर्षकको यो कृति कल्पनाशक्तियुक्त मानसिक अनुभव र विचारको बाहुल्यताले भरिएको छ । मानिसका कल्पना, मनोदशा, मनस्थिति, संवेदना, दुःख, हर्ष, आनन्द, पीडा आदिका व्रिmयाप्रतिव्रिmयाको घनीभूत विचार वर्णन यसमा पाइन्छ । यसले अप्रत्यक्ष रूपमा घनत्ववादी विचार र दर्शनमा आधारित व्यापकताको कलात्मक वर्णन गर्न सकेको छ । मानिसका जीवनका अनुभूतिजन्य सत्यको यथार्थाभिव्यक्तिका व्रmममा जीवन हेर्दै जीवनकै कतिपय पक्षको आलोचना, प्रत्यालोचना, प्रत्याख्यान र व्याख्यासमेत गर्ने काम ‘नमन’ मा सङ्ग्रहित कतिपय निबन्धले गरेका छन् ।
‘नमन’ भित्र गणित, कला, समाजसेवा, पत्रकारिता, शिक्षा, सङ्गीत, पुस्तकालय, विज्ञान, अभिनय, गायन, रङ्गमञ्च क्षेत्रमा सव्रिmय नमनीय व्यक्तित्वमाथि प्रकाश पारिएको छ । यसै गरी चलचित्र निर्देशक, कलाकार, पुस्तक व्यवसाय, हास्यव्यङ्ग्य, कलासंस्कृति, कार्टुनिस्ट आदिका जीवन सन्दर्भका कतिपय रोचक प्रसङ्ग र विचार यसभित्र समाहित छन् । विविध शीर्षकका निबन्धभित्र डुबुल्की मार्दा र विषयवस्तुलाई मनन गर्दा यसभित्र एउटा युग नै समेटिन पुगेको प्रतीत हुन्छ । यही युगवर्णनकै कारण यो कृतिले निबन्धात्मक स्वरूप प्राप्त गरेको छ । स्वयम् लेखकले नै ‘प्रस्तुत कृतिभित्र साधक मात्र समेटिनुभएको छैन, उहाँहरूले बाँचेको युग पनि समेटिएको छ’ भन्ने विचार लेखकीय मन्तव्यमा अभिव्यक्त गर्नुभएको छ । लेखनका व्रmममा अभिव्यक्त भएका विचारले पनि यो कृतिलाई निबन्धात्मक कृतिका रूपमा परिभाषित गरेको छ । उहाँले लेख्नुभएको छ,
“मान्छेले गर्न सक्ने उमेरसम्म भविष्यको कल्पना गर्छ र गर्न नसक्ने अवस्थामा पुगेपछि विगतको सम्झना गरिरहन्छ ।” (बिर्सन थालेको एउटा प्रतिभा– पृष्ठ १३२)
“वर्तमानमा न्याय नपाएर उपेक्षित जीवन बाँचेकालाई मरेपछि पनि इतिहासले न्याय गर्दो रहेनछ ।” (आफ्नै कथा, आफ्नै व्यथा– पृष्ठ १३८)
उपर्युक्त किसिमका कतिपय मननीय विचार यो कृतिमा अभिव्यक्त भएका छन् । कृतिभित्र नमनीय व्यक्तित्व इन्द्रनाथ अज्र्याल, उत्तम नेपाली, उर्मिला गर्ग, काशीराम पाण्डे, कुलमानसिंह भण्डारी, कृष्णप्रसाद रिमाल, कृष्णबहादुर मानन्धर, कृष्णमान डङ्गोल, केशव दुवाडी, गजेन्द्रनाथ रेग्मी, गणेशबहादुर भण्डारी, गुणदेव भट्टराई, गोवर्धनविव्रिmम शाह, झलकमान गन्धर्व, मनबहादुर मुखिया, डा. तीर्थबहादुर श्रेष्ठका सुकार्यका सम्बन्धमा मननीय विचार सम्प्रेषण गरिएका छन् ।
त्यसै गरी दानबहादुर शाही, नूपुर भट्टाचार्य, प्रचण्ड मल्ल, प्रदीप रिमाल, बलराम थापा, बेखानारायण महर्जन, भुवन थापा, भैरव रिसाल, रत्नदास प्रकाश, रत्नप्रसाद श्रेष्ठ, राजपाल थापा र धु्रव हाडा, रामजीप्रसाद शर्मा, रामशरण दर्नाल, लक्ष्मण राजवंशी, विजया शर्मा, शकुन्तला शर्मा, शङ्करनाथ रिमाल, शशि शाह, शान्ति ढकाल, शिवशङ्कर मानन्धर, सत्यनारायणबहादुर श्रेष्ठ र होनीमायाका जीवन भोगाइ अनि सुकर्मका अनेकौँ यथार्थ र विचार पुस्तकभित्र समेटिएका छन् ।
मौलिक लेखन र सहसम्पादनमा समेत संलग्न साहित्यकार भट्टराईका हालसम्म १२ वटा जति कृति प्रकाशमा आइसकेका छन् । गोरखापत्रका साथै मुकुट, मधुपर्क, गरिमा, भावना, आरब्धसहित अन्य साहित्यिक पत्रपत्रिकामा संलग्न भएर साहित्यिक पत्रकारिताको क्षेत्रमा उहाँले सार्थक भूमिका निर्वाह गर्दै आउनुभएको छ । यसरी भाषा, साहित्य र सञ्चारका क्षेत्रमा निरन्तर संलग्न र सव्रिmय रहँदै आएका उहाँ यससम्बन्धी २२ भन्दा बढी पुरस्कार र सम्मानद्वारा सम्मानित हुनुभएको छ ।
‘नमन’ भित्र विविध साधकको चर्चा गर्ने व्रmममा उनीहरूसँग सम्बद्ध रोचक घटना प्रसङ्ग पुस्तकको आकर्षण बन्न सकेको छ । विगतका कतिपय होनहार साधकले राजनीतिक चेपमा परेरै आफ्नो वयसन्धि पार गर्नु परेको अवस्थाको मार्मिक चित्रण पनि यसभित्र छ । यस व्रmममा राजनीति र अन्य षड्यन्त्रमूलक दाउपेचयुक्त व्रिmयाकलापले प्रवेश गरेकै कारण साधकको सिर्जना यात्रामा गतिरोध उत्पन्न हुन पुगी राष्ट्रले प्राप्त गर्न सक्ने उपलब्धि प्राप्त हुन नसकेको चर्चा पनि पुस्तकमा छ । यसरी विगतका कतिपय रोचक घटना प्रसङ्ग पुस्तकको थप आकर्षण बन्न सकेको छ । यस व्रmममा विगतका ऐतिहासिक तथ्य र राजनीतिक सत्य, नेपालको गौरवमय परम्परा र संस्कृति, तत्कालीन समयको देश, काल, परिस्थिति र वातावरण आदि विविध पक्षमा पनि प्रकाश पारिएको कारण पुस्तक पठनीय बन्न सकेको छ ।
३८ शीर्षकका साहित्येतर ३९ जना साधकको साधनासम्बद्ध विषयमा केन्द्रित भएर प्रकाशमा आएको ‘नमन’ शीर्षकको यो निबन्धसङ्ग्रहमा मानिसका जीवनका जिज्ञासा, जीवन प्रयोजन र यस व्रmममा अकृत्रिम आनन्द प्राप्तिका व्रmममा गरिने वा गरिएका जीवनसङ्घर्षका अनेकौँ पाटा समावेश छन् । नमनीय व्यक्तित्वको जीवन सन्दर्भका यी पाटा प्रेरणादायी विषय बन्न सकेका छन् । जीवन केवल बाँच्नु, खानु, सुत्नु र मर्नुको व्रmम मात्र होइन, सद्वृत्तिप्रतिको जागृति पनि हो । ज्ञान, विवेक, धैर्य, आत्मसंयम आदि सद्गुणका माध्यमबाट आफूभित्रको मनोविकारलाई हटाएर आफैँमा सद्वृत्तिलाई जागृत गर्नु र यसका माध्यमबाट आत्मविकासतर्फ अग्रसर हुनु नै जीवनको उद्देश्य र लक्ष्य बन्न सक्नु पर्छ भन्ने सन्देश यसमा सङ्गृहीत निबन्धले दिएका छन् । यसरी यसभित्र विविध किसिमका जीवन भोगाइ र अनुभवमा आधारित यथार्थको व्याख्या विश्लेषण गरिएको पाइन्छ । सरलता, रोचकता र मौलिकता यो निबन्धसङ्ग्रहको विशेषता नै बनेको छ । यसरी जयदेव भट्टराईको यो निबन्धसङ्ग्रह आफैँमा विविध किसिमका भाव र विचारको अनुपम सङ्ग्रहका रूपमा प्रकाशित हुन पुगेको पाइन्छ ।