जीवनमा कहिलेकाहीँ यस्तो यात्रा हुन्छ, जसले केवल दृश्य होइन, भित्रको मन पनि परिवर्तन गरिदिन्छ । से फोक्सुन्डो तालको हाम्रो यात्रा त्यस्तै एक अनुभव थियो, जहाँ प्रकृति, मित्रता, सङ्घर्ष र सौन्दर्य सबै एकसाथ मिसिएका थिए । सुरुवात– सपनाबाट यात्रातिर कहिलेकाहीँ कुनै ठाउँको नाम मात्र सुन्दा पनि हृदय हल्लिन्छ अनि लाग्छ, “जसरी भए पनि त्यहाँ पुग्नै पर्छ ।” से फोक्सुन्डो तालको नाम पनि हाम्रा लागि त्यस्तै थियो । सिन्धुलीको शान्त जीवनबाट म र भवानी एक दिन साहस जुटायौँ र ठान्यौँ, “अब कुरा होइन, यात्रा गर्ने समय आएको छ ।” यो केवल दुरी नाप्ने होइन, आत्माको गहिराइ छुन खोज्ने यात्रा थियो ।
हामी दुई जना मात्रै थियौँ– एउटै उत्साह, एउटै रहर र एउटै सपना । लामो समयदेखि से फोक्सुन्डो तालको सुन्दरता र त्यहाँको निलो पानीको कथा सुन्दै आएका थियौँ । अन्ततः एक दिन हामीले निर्णय ग¥यौँ, “अब सपना होइन, यात्रा गर्ने समय आएको छ ।”
सपनाको यात्रा
सिन्धुली रामटारको बिहान त्यो दिन बिछट्ट रमाइलो थियो । घाम त के, बिहानको ओसले भरिएको हावा नै नयाँ सुरुवातको सङ्केत दिँदै थियो । झोलामा केही लुगा, केही स्न्याक्स अनि हृदयमा अनगन्ती उत्साह बोकेर म एक्लै बाटो लागेँ । गन्तव्य थियो डोल्पाको दुनै हुँदै निलो स्वर्ग से फोक्सुन्डो ताल ।
धुलिखेल पुग्दा हावा चिसो तर मन तात्तिएको थियो । त्यहीँ पुगेर भवानी मिस चढ्नुभयो गाडीमा, जुन गाडीमा म थिएँ । त्यो क्षण, लाग्यो अब यो यात्रा केवल गन्तव्यसम्मको मात्र होइन, सम्झनासम्मको हुने छ । काठमाडौँको गोङ्गबु बसपार्कबाट डोल्पा दुनैको गाडी ११ बजे छुट्ने रहेछ । हामी समयमै पुगेका थियौँ । झोला मिलाउँदै, बाटोको जोसमा गफिँदै डोल्पा प्रस्थानका लागि गाडी अघि बढ्यो । त्यो गाडीमा केवल यात्रु थिएनन्, हरेक सिटमा सपना, उत्सुकता र साहसको कथा थियो । हरेकको सपना से फोक्सुन्डो थियो । गाडीको भाडा रु. छ हजार तर त्यो रकम केवल दुरीको मूल्य थिएन, यो यात्रा जीवनकै अनुभव बन्ने थियो ।
यताउताको चहलपहल देख्दादेख्दै गाडी छुट्यो । पहाडका मोड, नदीका किनार, बजारका कोलाहल सबैले हामीलाई सम्झाइरहेका थिए, “साँचो सौन्दर्य त बाटोमै लुकेको हुन्छ ।” दिन ढल्दै गयो, रात फैलिँदै गयो । गाडी कहिले चिया पसलमा रोकिन्थ्यो त कहिले खाना खाने ठाउँमा । कसैले भने, “यत्रो लामो बाटो त जीवनकै जस्तै रहेछ ।” सबै हाँस्यौँ र ती हाँसोले रातको निद्रा हराइरहेको थियो । रातको निद्रामा झस्किँदै, कहिले सडकका धुलोले, कहिले गीतले यात्रा तानिरह्यो र अन्ततः अर्को दिन साँझ ७÷८ बजे हामी ३६ घण्टाको यात्रापछि सुलिगढ पुग्यौँ । थकाइ थियो तर त्यो स्थानको हावा नै मन खुसी बनाउने थियो शुद्ध र शान्त । यहीँबाट सुरु हुने थियो हाम्रो साँचो से फोक्सुन्डो यात्रा ।
भोलिपल्ट बिहान लगभग ६ बजेको हुँदो हो, सुलिगढमा से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको प्रवेश टिकट काटियो । नेपालीका लागि एक सय रुपियाँ । त्यो टिकट हातमा लिएर हामीले हर्षसाथ फोटो खिच्यौँ किनभने त्यो एउटा कागज होइन, से फोक्सुन्डो पुग्ने अनुमतिपत्र थियो । हिँडाइ सुरु भयो । लट्ठीको सहारामा झोला बोकेर उकालोओरालो बाटोमा हामीले पाइला टेक्यौँ । झोलाले काँध दुख्थ्यो तर प्रकृतिको सुन्दरता देख्दा त्यो पीडा पनि रमाइलो लाग्थ्यो । वरिपरि हरियो वनस्पति, निलो खोला र बिस्तारै हराउँदै जाने बाटो, स्वप्नलोक जस्तो । हामीले महसुस ग¥यौँ, बाटोको कठिनाइभन्दा पनि सपना ठुलो रहेछ ।
बाटोमा नयाँ साथी !
यात्राको रमाइलोपन तब दोब्बर भयो जब बाटोमा धुलिखेलका १० जनाको समूह र तीन जना केटी साथी भेटिए । भवानी मिसको माइती धुलिखेल नै भएकाले उहाँका लागि केही परिचित थिए । म सबैसँग अपरिचित थिएँ तर यात्रा अघि बढ्दै जाँदा ती सबै साथी जस्ता बने । हाँसो, फोटो, गफ र सहयोग सबैले यात्राको स्वाद फरक बनायो । उनीहरूकै सहयोगले हामीले थकाइ बिस्र्यौं, बाटो छोटो भयो र हाम्रो हिम्मत अझै बढ्यो । यात्रामा भेटिएका ती साथी सम्झिँदा अहिले लाग्छ, “हामी त गन्तव्य खोज्न निस्किएका थियाँै तर बाटोमा भेटिएका सम्बन्धले नै यात्राको अर्थ बदलिदिए । थकाइका क्षणमा उनीहरूको हाँसो र सहयोगले हामीलाई अघि बढ्न हिम्मत दियो ।” पहिलो दिन नै थकाइले शरीर गलेको महसुस भयो तर वरिपरि फैलिएको प्रकृतिले हरेक दुःखाइ मेटाइरहेको थियो । नदीको कलकल आवाज, हावाको सुस्केरा र हिमालको टुप्पोबाट झर्ने बादल– त्यो दृश्य हेर्दा हिँड्ने शक्ति आफैँ आउँथ्यो ।
भवानी मिसको मुस्कान र उत्साहले कहिलेकाहीँ यात्रालाई मजाक जस्तै बनाउँथ्यो ।
बाटोमा भेटिने कसैले “थकाइ लाग्यो ?” भन्दा पनि हामी दुवै हाँस्दै उत्तर दिन्थ्यौँ, “थकाइ त शरीरमा मात्र हुन्छ, मन त अझै उडिरहेको छ ।” करिब दुई घण्टाको हिँडाइपछि हामी कागेनी पुग्यौँ । त्यहाँको सानो चौतारोमा बसेर चिया र बिस्कुट खायौँ । चिसो हावामा तातो चियाको स्वादले थकाइ पलभरमै हरायो । भवानी मिसले हाँस्दै भन्नुभयो, “चियाको स्वाद पनि यहाँ प्रकृतिले बनाइदिए जस्तो लाग्छ ।” म हाँसेँ, “हो, काठमाडौँको कफीले पनि यो मिठास दिन सक्दैन ।” सबै हाँस्यौँ अनि फेरि यात्रा सुरु भयो ।
बाटो उकालो र ओरालो दुवै । लट्ठीले टेक्ने ठाउँ खोज्दै, हामी अघि बढ्यौँ । हावा साँच्चिकै स्वच्छ थियो– फोक्सुन्डोको जादु जस्तै मात्र हिँड्दा पनि आत्मा शान्त हुने । केही घण्टापछि छेक्पा पुग्यौँ । त्यहाँको गाउँ शान्त, नदी नजिकै बगिरहेको, वरिपरि हरियो जङ्गल र काठका घर त्यहीँ हामीले खायौँ दाल, भात, तरकारी र चिसो पानी । थकाइले शरीर भारी थियो तर त्यो भोक मेटाउने स्वादिलो खाना त मानौँ वरदान नै थियो । भवानी मिसले हाँस्दै भन्नुभयो, “हिँड्दा हिँड्दा यो खाना त होटेलभन्दा पनि परिकार जस्तो लाग्छ ।” सबै हाँस्यौँ, कसैले भन्यो, “यो हाम्रो ट्रेकिङ इनर्जी ड्रिङ्क हो ।” छेक्पाको मिठो खाना खाएर हामी रेन्चीतिर लाग्यौँ । बाटो झन् साँघुरो, खोला किनारबाट हिँड्दा कहिले पानीको आवाज, कहिले भेडाच्याङ्ग्राको घन्टीको टुनटुन । साँझपख हामी करिब छ घण्टाको हिँडाइपछि रेन्ची पुग्यौँ– एउटा सानो, रमणीय बस्ती, वरिपरि हरियो वन र हिउँले ढाकिएका डाँडा, शरीर थाकेको, खुट्टा पोलिरहेको तर त्यो ठाउँले दिएको शान्तिले सबै दुखाइलाई क्षणभरमै बिर्सायो । हाम्रो टोली अहिले १५ जना पुगेको थियो– सुरुमै भेटिएका धुलिखेलका साथी पनि अहिले पूरै समूहको हिस्सा भइसकेका थिए । सबै जनाको बोलचाल, ठट्टा र गफले वातावरण झन् रमाइलो बनाएको थियो । साँझको चिसोमा सबैले मिलेर आगो बाल्यौँ । आगोको उज्यालो अनुहारमा परेपछि हरेक थकाइ पग्लिँदै गयो । कसैले हात तताइरहेको, कसैले गफको विषय पकाइरहेका बेला भवानी मिसले भन्नुभयो, “आगो त केवल शरीर तताउन होइन, हृदय न्यानो पार्नका लागि पनि हो ।”
सबै हाँस्यौँ, त्यही हाँसोमा थकाइ हरायो ।
शरीरले भने विश्राम खोज्दै थियो । खुट्टाको दुखाइले थकित हामीमध्ये केहीले तेल लगाएर गोडा मालिस गर्न थाले । म पनि आगोछेउमा बसेर खुट्टा मालिस गर्दै सोच्दै थिएँ, “ट्रेकिङको आनन्द त यही हो, पीडामा पनि हर्ष खोज्नु ।” रेन्ची पुग्दा थकानले शरीर गलिसकेको थियो तर त्योभन्दा पनि ठुलो समस्या थियो– मलाई खाना नै रुचेन । सायद लामो बाटो, उकालोओरालो र अनौठो स्वादका कारणले होला, थालमा आएको खाना हेरेर बसिरहेँ ।
भवानी मिसले तुरुन्तै नजर लगाइदिनुभयो,
“के भयो ? किन नखाई बस्नुभएको ?”
मैले हाँस्दै भनेँ, “थकाइ लाग्यो, अलिक मन छैन ।”
तर उहाँको स्नेह त आमा झैँ कहिले पानी ल्याइदिनु, कहिले चम्चा मिलाइदिनु, कहिले थोरै भए पनि खाइहाल न भन्दै मनाउन खोज्नु । अन्त्यमा उहाँको त्यही सानोतिनो आग्रहले भोक नलाग्दा पनि म मुस्कुराउँदै खान थालेँ ।
“खाना नखाई हिँड्ने होइन है, भोलि अझ लामो बाटो छ,” भवानी मिसको त्यो वाक्य अझै कानमा बज्छ । त्यो बेला लाग्यो, साँचो साथी भनेको केवल हाँस्ने बेलामा साथ दिने होइन, थकाइ, भोक र उदासीमा पनि ख्याल राख्ने मान्छे हो तर त्यो रात एउटा रमाइलो घटना पनि भयो । मैले थकाइले र भोक नलागेर केही खान नसकेको देखेर एक जना दाइ अलिक गम्भीर हुँदै भन्नुभयो–
“खाना नखाने भए फर्किए हुन्छ नि !”
त्यो वाक्यले एकछिन सबैलाई हाँसो लाग्यो । भवानी मिसले हल्का झर्को स्वरमा हाँस्दै भन्नुभयो,
“अब इखैले भए पनि खानु पर्छ ।” त्यसपछि म पनि मुस्कुराउँदै भन्न पुगेँ, “ठिक छ, अब यो थाल खाली गरेरै सुतौँला ।” इखैले भए पनि खाइयो खाना, दाल र अलिक मसिनो तरकारी । थकाइको बेला त्यो साधारण खाना पनि अमृत जस्तै लाग्यो तर सादा खानाको मूल्य यहाँ अलि बढी थियो ४५० रुपियाँ प्रतिथाली । त्यो पनि जायज थियो किनकि बाटो कठिन थियो, खच्चडमार्फत सामान बोकेर लैजानुपर्ने अवस्था थियो । राति आकाशमा तारा चम्किरहेका थिए, आगोको मुस्कानमा हामी हाँस्दै थकाइलाई सुताउँथ्यौँ ।
भोलिपल्ट बिहान ६ बजे उठेर यात्रा सुरु गर्ने योजना बनाइयो । सबै जना ओछ्यानमा ढले, कोही अझै गफ गर्दै, कोही मोबाइलका तस्बिर हेर्दै । बिस्तारै अँध्यारो र न्यानो भयो । सबै मिठो निद्रामा पुगे । रेन्चीको बिहान शान्त थियो । पहाडमाथिबाट घामको पहिलो किरण परेपछि हामी फेरि यात्राको तयारीमा जुट्यौँ । गाडीको आवाज होइन, यहाँ त खोला, चरा र हावाको मात्र सङ्गीत सुनिन्थ्यो । थकित शरीर तर मनमा नयाँ जोस तेल लगाएर दुखेका खुट्टा अझै पोलिरहेका थिए तर त्यो पोलाइमा पनि आनन्द थियो किनकि त्यो साहसको पोलाइ थियो । हामी बिहानै निस्कियौँ झोला काँधमा, लट्ठी हातमा । रेन्चीबाट केही समयको हिँडाइपछि एउटा सानो गाउँ भेटियो सम्झना होटल । त्यो नामले नै मनमा अपनत्व ल्यायो । त्यहाँको स्थानीय तितेफापरको रोटी र तातो चियाले शरीरमा ताजगी ल्यायो । भवानी मिसले मुस्कुराउँदै भन्नुभयो,
“यहाँको फापरमा त पहाडको स्वाद छ ।”
म हाँसेँ,
“रोटी होइन, यो त हाम्रो इनर्जी बुस्टर हो ।”
सबै हाँस्यौँ, रोटीको मिठासले यात्रा अझै मिठो बनायो ।
त्यो आरामका केही क्षणपछि फेरि हिँडाइ सुरु भयो । सामुन्ने बाटो अब झन् कठिन बन्दै गयो । खोलाको आवाज, अप्ठ्यारा पाखापहरा र बिच बिचमा निलो खोला बगेको दृश्य सबैले हामीलाई रोकिरहन बाध्य बनाउँथ्यो । कोही भिडियो खिच्दै थिए, कोही चुपचाप दृश्य नियाल्दै । प्रकृतिको यस्तो स्वरूपले मानौँ हरेक आत्मालाई न्यानो स्पर्श दिइरहेको थियो ।
हामी ‘झर्ना भिलेज’ हुँदै अघि बढ्यौँ, लक्ष्य थियो रिग्मो भिलेज पुग्ने । बिहानै त्यहाँको खाना अर्डर गरिसकेका थियौँ । सबैलाई भोक पनि लागिसकेको थियो र प्रत्येक पाइला अब ‘खाना र दाल भात’ तिरै गइरहेको अनुभूति हुन्थ्यो । उकालोओरालो, ढुङ्गाको बाटो, कसैले गीत गाइरहेको, कसैले केवल हावा सुन्दै हिँडिरहेको, भवानी मिसले हल्का हाँस्दै भन्नुभयो,
“खानाभन्दा अघि हिँड्दा यो बाटो झन् लामो लाग्छ ।”
मैले जवाफ दिएँ, “खाना देखेपछि त शरीरमा फेरि ब्याट्री चार्ज हुन्छ ।”र अन्ततः करिब १२ः३० बजेतिर हामी रिग्मो भिलेज पुग्यौँ । थकाइको सीमा नागेको थियो तर त्यो गाउँ देख्नेबित्तिकै सब थकाइ हरायो । रिग्मो भिलेज– सानो तर सुन्दर गाउँ, काठका घर, आँगनमा सुक्दै गरेका जौ र फापरका गेडा । वरिपरि से फोक्सुन्डोको निलो छाया जस्तो चित्रकारले रङको भाषामा बनाएको सपना । त्यहाँको खाना साधारण थियो तर आत्मा भिजाउने । हामी सबै थकाइ मेटाउँदै खाना खाँदै थियौँ तर मन भने अब एउटै कुरा सोच्दै, “अब केही छिनमै से फोक्सुन्डो ताल, त्यो निलो स्वर्ग हाम्रोसामु हुने छ ।”
से फोक्सुन्डो झल्को
यो ताल ३,७३९ मि उचाइमा अवस्थित रहेको छ । जब हामी से फोक्सुन्डो तालनजिक पुग्यौँ, शब्द नै हराए । निलो पानी, वरिपरि हरिया पहाड र आकाशसँग मिसिएको शान्त दृश्य । त्यो क्षण बिर्सनै नसकिने त्यो तालमा हेरिरहँदा लाग्थ्यो, समय रोकिएको छ । हावा पनि त्यही शान्ति लिएर बहिरहेको थियो । हामीले केहीबेर मौन भएर प्रकृतिसँग कुरा ग¥यौँ, आत्मासँग भेट ग¥यौँ ।
प्रकृतिको असीम सौन्दर्य से फोक्सुन्डोको सुन्दरता केवल आँखाले होइन, आत्माले महसुस गर्नुपर्ने सौन्दर्य हो । तालमा परावर्तित बादल, ससाना पन्छीको स्वर अनि वरिपरि हिउँले ढाकिएका चट्टानले त्यो स्थानलाई स्वर्ग जस्तो बनाउँछन् । तालको शान्त पानीमा फर्केर हेर्दा आफ्नै अनुहार देखिन्थ्यो शान्त, थकित तर सन्तुष्ट । ट्रेकमा भेटिएका १५ जना साथी र जोसुकैको साथको आत्मीयता, सहयोग र हाँसोले यात्रा अझ स्मरणीय बनायो । सबैले हाँसो र ठट्टासँग कठिनाइलाई सहज बनाएको । त्यो पल, त्यो स्थान र त्यो अनुभव साँच्चिकै मनमा कोरिने याद, जुन सबैलाई से फोक्सुन्डो जाने प्रेरणा दिने खालको थियो । त्यहाँको स्थानीय जनजीवन पनि मनमोहक थियो । सरल, आत्मीय र प्रकृतिसँग मेल खाएको । स्थानीयले पकाएको तातो दाल भात खायौँ, त्यो स्वाद अहिले पनि मनमा बसिरहेको छ । से फोक्सुन्डोमा रात बिताएर, बिहान उठ्दा सबै अझै हर्षित थिए । होटेलको कोठामा हल्का चिसो, बाहिर पखेरु झैँ हिउँले छरियो । हामी चिया पिउँदै, हिउँको सामीप्यतामा मनमोहक शान्ति महसुस गरिरहेका थियौँ । पहिलो पटक हिउँमा उफ्रँदै, खेल्दै, फोटो र भिडियो खिच्दा रमाइलो साँचिकै अविस्मरणीय भयो ।
कोही हिउँमा हाँस्दै लड्थे, कोही दौडन्थे अनि सबैको अनुहारमा चमक तर केहीबेरमा आयो चेतावनी, “आजै फर्किएन भने हिउँ झन् बढ्छ, बाटो गाह्रो हुन्छ ।” त्यो चेतावनीले हामीलाई निर्णय लिन बाध्य पा¥यो । दुई दिनको ट्रेक अब एक दिनमै पूरा गर्नुपर्ने अवस्था आयो । मनमा अलिक निराशा भए पनि यात्रा सुरक्षित रहनु पर्छ भन्ने निष्कर्ष हाम्रो थियो । हामी फेरि झोला लिएर, प्लास्टिक ओढेर, हिउँमा चिप्लिँदै यात्रा सुरु ग¥यौँ । उकालोओरालो गर्दै, खोलाको मनोरम दृश्य अवलोकन गर्दै, पहाडका मोड, हरियो वन र नदीका किनारले मन न्यानो पारिरहे । फिर्ती यात्रा अझै चुनौतीपूर्ण थियो । रेन्चीमा छोडेका केही थान कपडा झोलामा राखेर, सादा खाना खाएर हामी अघि बढ्यौँ । थकाइको सीमा पुगिसकेको थियो तर मन भने उत्साहित र उत्सुक, रातको करिब ९ः३० बजे हामी दुनै पुगेका थियौँ । हाम्रो शरीर लगभग चल्न नसक्ने अवस्थामा थियो । भोलिपल्ट बिहान ८ बजे गाडी चढ्न झोला पुनः व्यवस्थित गरियो । पानी, खानेकुरा र अन्य आवश्यक सामग्री बोकेर गाडीमा यात्रा गर्न थाल्यौँ । यात्राका व्रmममा गाडी रोकिने हरेक स्टपमा हामी रमाइरहेका थियौँ । साना गाउँ, खोलाको किनार, चिया पसल हरेक स्टपमा फोटो खिच्ने, हाँसो ठट्टा गर्ने र आराम गर्ने अवसर पाइयो तर हरेक रोकिने बेला मनमा अलि निराश पनि थियो, “किनभने यो रमाइलो यात्रा सकेर काठमाडौँ पुग्दा छुट्टिनु पर्ने छ ।” त्यो विचारले मन अलि गहिरो भयो । यात्रा लामो थियो ।
हरेक मोडमा गाडीको आवाज, बाटोको धुलो, कहिले कहिले ससाना हावा तर साथीसँगको रमाइलो, ठट्टा र फोटो, भिडियोको मज्जा यात्रा स्मरणीय बनायो । हाम्रो यात्रा केवल गाडीको यात्रा मात्र होइन, साथीको साथ, हाँसो र साझा अनुभवको यात्रा पनि थियो ।
अन्ततः काठमाडौँनजिक पुग्दा मन अलिक निराश भयो । यात्रा रमाइलो थियो, प्रकृतिको सुन्दरता अविस्मरणीय थियो तर फर्किनुपर्ने क्षणले अलिक गहिरो खालीपन दिलायो । “अब टाढा यात्रा, निलो ताल, हिउँ, रेन्ची र रिग्मोको दृश्य सँगै छैनन्,” भन्दै मनमा हल्का उदासी छायो । भविष्यमा सम्झनामा रहने ती रमाइला पलले मनमा सधैँ उत्साह, खुसी र अनुभवको अमूल्य स्मृति बनाइरहेको छ । त्यो यात्राले केवल एउटा गन्तव्य देखाएको थिएन, जीवन बुझ्ने नयाँ दृष्टिकोण पनि दिएको थियो । हामीले सिक्यौँ, सुन्दरता केवल सजिलो बाटोमा भेटिँदैन; कहिलेकाहीँ कठिन यात्रामै वास्तविक आनन्द लुकेका हुन्छन् ।
यो समाप्ति होइन, नयाँ आरम्भ हो
से फोक्सुन्डो ताल केवल एउटा ताल होइन, त्यो हाम्रो स्मृतिको हिस्सा बनिसक्यो । जब पनि जीवन थाक्ला, हामी त्यो निलो पानी, त्यो हिउँ र ती साथीको हाँसो सम्झने छौँ । हामी दुई जनाको त्यो यात्रा अहिले पनि मनमा बाँचिरहेको छ– एउटा कथा, जसले हरेक पलमा मुस्कान ल्याउँछ र भन्छ, “जीवनलाई यात्रा जस्तै बाँच, यात्राको अर्थ जीवन नै यात्रा हो ।”
से फोक्सुन्डो तालको त्यो अनुभवले बुझायो, जीवन केवल गन्तव्य होइन, बाटो पनि सुन्दर हुन्छ । कहिलेकाहीँ दुःख, चिसो, थकाइ र एक्लोपन नै हाम्रो सबभन्दा सुन्दर शिक्षक बन्ने रहेछन् । आज पनि जब कोही सोध्छ, “से फोक्सुन्डो जानलायक छ ?” म मुस्कुराएर भन्छु, “त्यो ठाउँमा पुगेपछि शब्द हराउँछन्, मन बोल्छ । त्यहाँ पुग्दा तपाईं आफैँ से फोक्सुन्डो जस्तै गहिरो बन्नु हुने छ । कहिलेकाहीँ कठिन तर सधैँ सुन्दर ।”