• १९ मङ्सिर २०८२, शुक्रबार

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बन्यो : सञ्चारमन्त्री खरेल

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । फाइल तस्बिर

काठमाडौँ, मङसिर १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनु भएको छ । 

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदैँ मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”

यसअघिका बैठकहरु दुई पक्षीय र त्रिपक्षीय हुदैँ आएकोमा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उहाँको भनाइ छ ।

मन्त्री खरेलले सरकारकोतर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिदैँ यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताउनुभयो ।

“विगतका निर्वाचनहरुमा जे–जस्ता चुनौतिहरु देखिएका थिए, फेक न्यूज, मिस इन्फरमेशन, डिसइन्फरमेसनबारे खुलेर कुराकानी भएको छ”, उहाँले भन्नुभयो,“यी सवालमा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा चुनौतिको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएको छ, सरकार त्यसप्रति सचेत छ ।”

मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादको निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरु पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरु, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुबीच संयुक्त बैठक भएको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरणका लागि आजको छलफल उपलब्धिमूलक रहेको भन्दै राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन चाहिएकाले यो प्रक्रियालाई सार्थक बनाउन सबैको  साच चाहिने बताउनु भएको थियो ।

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिह्नाको पनि सहभागिता थियो । 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनैजना आयुक्त, सचिवलगायत चारवटैसुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

यस्तै, प्रमुख राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको उपस्थिति थियो ।