• १२ असार २०८१, बुधबार

माथिल्लो मुगुको कार्मारोङ क्षेत्रको गुम्बा संरक्षणको पर्खाइमा

blog

माथिल्लो मुगुको गुम्बामा बौद्धको दुर्लभ कलात्मक चित्र र मुर्ति । तस्विर – हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, असार २४ गते । माथिल्लो मुगु (कार्मारोङ) जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकामा रहेका गुम्बाहरु भग्नावशेषमा परिणत भएका छन् ।

ती गुम्बाहरु १५ औं शताब्दीमा निर्माण भएको बताइएको छ । त्यहाँ मौलिक ऐतिहासिक सम्पदाका चित्रहरु छन् ।

गुम्बाका जानकार वला लामा दोर्जीका अनुसार यी गुम्बाहरु भोटेपात्रो अनुसार हरेक महिनाको १० र २५ गतेका दिनमा विशेष खालको ज्ञान र पूजाआजा गरिँदै आएको छ ।

उहाँका अनुसार कार्मारोङ समुदायमा बच्चा जन्मिँदा, कोही मृत्यु भएमा र व्यापारका लागि घरबाहिर जानुपरेमा लामा गुरुबाट पूजाआजा गर्ने चलन छ ।

तर पातलिँदै गएको वस्ती र सम्बद्ध पक्षको चासो नगएका कारणले ती गुम्बाहरु जीर्ण हुने स्थितिमा पुगेको छ ।

यस्तो छ इतिहास

हालको सिंजा क्षेत्रमा ११ औं शताब्दीतिर भोटे राजा होसुङ्को नाति गुगेबाट आएर  सिंजाको राज्य सुरुवात गरेको इतिहास छ । प्राचीन सभ्यताअनुसार मानिसहरूले यस ठाउँलाई याचेको नामले चिन्दथे । त्यसपछि करिब १२ शताब्दीपछि त्यहाँ खस राजाका आगमन हुन पुग्यो ।  १४ औं शताब्दीतिर सिंजाको राज्यमा भोटे राजा र खस राज्य एक आपसमा मनमुटाव भएपछि गुगेबाट आएका राजाहरु पुनः आफ्नो ठाँउमा फर्केको कार्मारोङका इतिहासकार लामा दोर्जी कार्मारोङ बताउनुहुन्छ ।

उहाँका अनुसार राजाका नजिकका भाइ (चोबो) काम गर्नेले कार्मारोङमा आएर शासन   गरी राज्य विस्तार गरेका थिए । सो राज्य किम्रि गाउँको माथि टोक्चोङ भन्ने ठाउँ (परलोक) मा राज्य विस्तार गरी त्यहीँबेला भोटे र खसालले आलोपालो गरी शासन चलाएको पाइन्छ । उक्त ठाउँमा १४ औं शताब्दीतिर धर्मकर्म गर्नलाई पहिलो झमपा गुम्बा निर्माण गरिएको  पाइन्छ ।


मुगुबाट सिंजा गएका कल्याल (बलि) राजाले सिंजाबाट जुम्ला, हुम्लादेखि डोल्पासम्म राज्य र शासन विस्तार गरे पनि कार्मारोङको परलोकमा कल्याल राजाले शासन नगरेको र बेलाबखत बलि राजाले टोक्चोङ (परलोक) बाट कर लिएको इतिहासकार कार्मारोङको भनाइ छ ।

कल्याल राजाका जेठा छोरा वाँछा राजाले हिन्दु, बौद्ध र मष्टा धर्म मान्नेलाई सम्मान गर्नुहुन्थ्यो । र, उहाँले दरबारमा बोलाएर सबैलाई दानदक्षिणा दिने गरेको पाइन्छ ।

कार्मारोङ डोल्फुका खेन्फो ज्याम्याङले गुम्बा बनाइ पाउँ भन्ने राजासँग अनुरोध गरेपछि बलिराजाका छोरा वाँछा राजाले खेन्फो ज्याम्याङलाई आर्थिक सहयोग गरी देसा गुम्बा निर्माण गरिएकाे हो ।