नेपाल अहिले विकासको नयाँ मोडमा उभिएको छ । सडक, पुल, भवन, उद्योग, जलविद्युत् र अन्तर्राष्ट्रिय सहयोगका चर्चा भइरहेका छन् तर यिनै विकास अवधारणाका बिच एउटा पुस्ता हामीकहाँ मौन छैन । उनीहरू प्रश्न गरिरहेछन्–विकास के हो ? कति पुल, कति सडक, कति भ्यु टावर ? कति भव्य भवन देखाएर मात्रै विकासको परिभाषा पूरा हुन्छ ? आजको नेपाली युवा, खास गरी जेनजी पुस्ता, विकासलाई भुइँमा देखिने कङ्क्रिटभन्दा मनमा बस्ने सम्भावना र अनुभूतिबाट नाप्न थालेको छन् ।
यो पुस्ताको बाल्यकाल हातमा किताबभन्दा पहिले मोबाइल, ल्यापटप अन्य विद्युतीय सामग्री देखेर सुरु भएको थियो । उनीहरूले संसारका अवसर आफ्ना गाउँघरमै बसी/बसी देखे । फेसबुक, टिकटक, युट्युब र इन्टरनेटका ती पर्दाले उनीहरूलाई केवल मनोरञ्जन मात्र दिएनन्, अधिकार, प्रतिरोध, सिप, उद्यम र वैकल्पिक अवसरका थुप्रै ढोका पनि खोले । उनीहरूले नक्सामा पुगेका देशहरूको विकास देखे, अनि भर्खर बन्दै गरेका सपना मेटाउने गरी, ‘हामी गरिब देशमा जन्मेका छौँ’ भन्ने अभागी निराशालाई अस्वीकार गर्दै, ‘हामी अवसरबाट वञ्चित बनाइएका नागरिक हौँ’ भन्ने चेतनासमेत बोक्न थाले । यही चेतनाले उनीहरूको विकास चाहनामाथि नयाँ भाषा र नयाँ स्वर दिन थालेको छ ।
अघिल्ला पुस्ताले विकासलाई देखिने संरचना, भौतिक परिवर्तन र तत्कालका उपलब्धि बाट मापन गरे । भौतिक संरचनाको ठुलो जमघटमा बस्दा पनि उनीहरूको जीवनमा परिवर्तनको अनुभूति सीमित रह्यो । सडक, भवन, पुल, विद्युत् सबै बने तर अझै धेरै मानिस अवसरको खोजीमा बिदेसिनुपर्ने वास्तविकता जस्ताको त्यस्तै छ । यही यथार्थ हेरिरहेकै अवस्थामा हुर्केको जेनजीलाई विकास अब उपलब्धि होइन, अवसर सिर्जनाकै मानक जस्तै लाग्न थालेको छ । उनीहरूको चाहना कुनै ठुलो संरचना होइन, संरचना बनाउन सक्ने क्षमता हो; कुनै योजना होइन, योजनालाई उपयोग गर्न सक्ने स्वाभिमानी वातावरण हो; कुनै सुविधा होइन, सुविधामाथि प्रतिस्पर्धी रूपमा हक जमाउन सक्ने एक उन्नत सिप पनि हो ।
यही कारणले उनीहरू विकासको परिभाषामा ठुलो तर सानो एउटा शब्द खोज्छन्–डिजिटल समानता । यस पुस्ताले विकासलाई कम्प्युटर, इन्टरनेट र प्रविधिसँग जोडेर हेर्न थालेको छ । प्रविधि अब उनीहरूका लागि विलासी वस्तु होइन, अवसर खोल्ने चाबी हो । सडकले कुनै गाउँसम्म मालसामान पु¥यायो भने इन्टरनेटले त्यो गाउँका युवाहरूलाई विश्वसम्म पु¥याउँछ । सूचना, सिप, रोजगारी, बजार, व्यापार, कला, संस्कृतिको अभिव्यक्ति–सबै कुरा आज प्रविधिमै छन् । यसैले उनीहरूको विकासभित्र प्रविधि मात्र होइन, सुगम डिजिटल सेवा, सरकारी पारदर्शिता, अनलाइन शिक्षा, सुरक्षित डिजिटल वातावरण र नीतिगत समर्थनको माग पनि अटिन्छ ।
अघिल्लो पुस्ताको अभिलाषा सरकारी जागिर थियो, देशको आर्थिक भविष्य सरकारी कार्यालयमा टाँसिएको थियो । आजको जेनजी पुस्ताले जागिर खोज्दा पनि आफ्नै पहिचान नखोस् भन्ने चाहन्छ । उनीहरूको विकास बोधमा रोजगारीको परिभाषा ‘काम पाउनु’ होइन, ‘काम सिर्जना गर्नु’ मा केन्द्रित छ । उद्यमशीलता, नवप्रवर्तन, स्टार्टअप संस्कृति, सामाजिक व्यवसाय, स्थानीय सिपलाई विश्व बजारसँग जोड्ने योजना यी सबै विकासका नवीनतम रूप हुन् । उनीहरूले बैङ्क र सरकारी फाइलको ढोकामा कुर्न चाहँदैनन्, बरु आफ्नै विचारमा लगानी गर्ने संरचना खोज्छन् । उनीहरूले नाफा चाहन्छन् तर समाजलाई उज्यालो बनाउने नाफा । यिनै सोचहरूले आजको विकासलाई आर्थिक लाभसँगै सामाजिक उत्तरदायित्वमा बाँधिदिएको छ ।
भौतिक संरचनाले मात्र देश समृद्ध हुँदैन भन्ने अनुभूति जेनजी पुस्तासँग जन्मजात जस्तै छ । उनीहरूले विकासलाई मनोवैज्ञानिक, शैक्षिक र सांस्कृतिक आयामसँग जोडेका छन् । स्वास्थ्यभन्दा बढी मानसिक स्वास्थ्यको सुरक्षा, पढाइभन्दा बढी शिक्षा गुणस्तर, डिग्रीभन्दा बढी जीवन उपयोगी सिप मूल्य, देशभक्तिको शब्दभन्दा बढी स्वाभिमानको अवसर यिनै विकासका अंश उनीहरूले अवचेतनमै खोजेका छन् । उनीहरू कुनै परम्परा तोड्न चाहँदैनन्; परम्परालाई आधुनिक अभिव्यक्तिमा पुनर्जीवित गर्न चाहन्छन् । नेपालको खाना, पहिरन, संस्कृतिलाई विश्व बजारमा बेच्ने, आफ्नो पहिचानलाई ‘ब्रान्ड’ बनाएर प्रस्तुत गर्ने, जातीय विविधतालाई आधुनिक सौन्दर्यमा बदल्ने चाहना अब जेनजीको विकास सोचमा स्थापित भइसकेको छ । उनीहरूको दृष्टिमा राष्ट्रको विकास केवल ‘आगलागी छुटाउने फायर ब्रिगेड जस्तो तत्काल समस्या समाधान गर्ने कार्य होइन; विकास दीर्घकालीन, टिकाउ, दिगो, वातावरणमैत्री र स्वाभिमानयुक्त हुनु पर्छ । भौतिक चमत्कारी निर्माणले वातावरणलाई क्षति पु¥यायो भने त्यो विकास अपराध जस्तै ठहरिन्छ । अहिलेको युवा पुस्ताले विकास र प्रकृतिलाई दुई विरोधी शक्तिका रूपमा स्वीकार्दैन; बरु टिकाउ विकासलाई नयाँ सभ्यता बनाउन खोज्छ । हरित ऊर्जा, स्मार्ट नागरिकता, स्वच्छ सहर, वैज्ञानिक योजना र पर्यावरणीय न्याय–यी उनका लक्ष्य मात्र होइन, नैतिक आग्रह पनि हुन् ।
देशमा नेतृत्वबारे उनीहरूको विचार पनि भिन्न छ । उनीहरू नेता बन्ने होइन, नेतृत्व जन्माउने नवीनतम प्रणाली खोज्छन् । भाषणले होइन, डाटाले बोल्ने सत्ता; घोषणा हुँदैमा होइन, डिजिटल पारदर्शिताबाट प्रमाणित हुने नीति; पार्टीभन्दा माथि उठेर राष्ट्र सम्झने शासन; भावनाभन्दा बढी बुद्धि र नैतिकता–यस्तो नेतृत्व उनीहरू विकाससँग जोडेर बुझ्छन् । आजका युवाले चिच्याएका नाराभन्दा एउटा साझा सवाल मात्र उठाइरहेका छन विकास किन जनता जस्तै इमानदार, बुद्धिमान र पारदर्शी हुन सक्दैन ?
एक दिन नेपाली युवालाई विदेश जान बाध्यता हुन छाडेर, नेपालमै बसेर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण मिल्यो भने, त्यो दिन विकासको मापन सडकको लम्बाइले होइन, नागरिकको आत्मसम्मानले हुने छ । जेनजी पुस्ताले खोजेको विकास कुनै वैकल्पिक दर्शन होइन; यही देशको भविष्य हो । उनीहरूको हतासा होइन, उनीहरूको अपेक्षा नै नेपालले नयाँ इन्जिन जस्तै बोकेर हिँडेको छ । अब सरकार, समाज र अभिभावकको कर्तव्य उनीहरूको ऊर्जा रोक्नु होइन, सही दिशातिर बहाइदिनु हो ।
अतः विकास भनेको भवन होइन, भिजन हो । अवसर होइन भने उपलब्धि पनि केवल सजावटको सामान मात्र हो । जेनजीले राष्ट्रसँग अवसर मागेका छैनन्, भारत, अमेरिका, जापान जस्ता मुलुकसँग बराबरी गर्दै हिँड्न सक्ने क्षमता मागेका छन् । उनीहरूको विकास चिन्तन राष्ट्रलाई अलमल्याउने होइन, राष्ट्रलाई जगाउने आवाज हो, जसलाई भविष्यले इतिहासको रूपमा सम्झिने छ ।