ज्ञानु पंगेनी
मध्यविन्दु, मङ्सिर, १८ गते । नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरणमा कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाईसी) फर्म भर्नेहरू भिडभाड बढेको छ ।
आगामी दिनमा विद्युतसम्बन्धी सबै सूचनाहरू अनलाइन मार्फत प्रदान गर्ने कार्यको थालनी गर्नका लागि नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै ग्राहकलाई (केवाईसी) फर्म भर्न भनेको हो ।
फर्म भर्नका लागि सुरुका दिनहरूमा फाटफुट रुपमा ग्राहक आएका थिए । पछिल्लो केही दिनयता ग्राहकको भिड बढेको छ । अहिले दैनिक रुपमा ६ सय हाराहारी ग्राहक फर्म भर्न आउने गरेको कार्यालयका चौथोतहका सिनियर मिटर रिडर दुर्गादत्त पौडेलले जानकारी दिनुभयो ।
अहिलेको समय प्राविधिको समय भएको हुँदा विद्युत कार्यालयले दिने सेवा पनि अनलाइनकै माध्यमबाट प्रवाह गर्ने उद्देश्यका साथ (केवाईसी) फर्म भर्ने काम थालिएको पौडेलले बताउनुभयो ।
उहाँका अनुसार (केवाइसि) फर्म भर्ने काम चरणबद्ध रुपमा हुनेछ । कावासोती वितरण केन्द्र अन्तरगत ८८ हजार ग्राहक रहेका छन् । सबैलाई एकैपटक फर्म भर्न सम्भव नहुने भएको हुँदा मिटर रिडिङ गर्न छुट्याइएको क्षेत्र अनुसार फर्म भर्ने काम गरिएको पौडलले बताउनुभयो । ‘‘कार्यालयबाट गएका मिटर रिडर मार्फत ग्राहकलाई फर्म वितरण गरिएको छ । ग्राहकले घरमै जति कुरा भर्न जान्नुहुछ, त्यति घरमै भरेर आउनुहुन्छ नजानेका कुरा कार्यालयमा आएर भर्नुहुन्छ त्यसका लागि हामी आठ–दस जना कर्मचारीले सहजीकरण गरिरहेका छौँ ।’’ पौडेलले भन्नुभयो ।
अहिलेसम्म ८ हजार ३०७ जना ग्राहकले फर्र्म भरिसकेको पौडेलले बताउनुभयो ।
(केवाईसी) फर्ममा ग्राहकको तीनपुस्ते विवरण, फोन नं., जिमेल एकाउन्ट सबै भर्नुपर्ने हुन्छ । सबै ग्राहकको अनलाइन इन्ट्री भएपछि ग्राहकलाई एसएमएस मार्फत सूचनाहरू पठाइने छ । फर्म भर्नका लागि कुनै पनि शुल्क लाग्दैन । फर्म, फाइल, फोटोकपि लगायतका सबै आवश्यक सामग्रीहरू कार्यालयले नै उपलब्ध गराएको छ । ग्राहकले आफ्ना लालपुर्जा, नागरिकताको फोटो कपी र भए राष्ट्रिय परिचयपत्र बोकेर कार्यालयमा आउनुपर्ने पौडेलले जानकारी दिनुभयो ।
चैत मसान्तसम्मका लागि फर्म भर्ने समय तोकिएको छ । काम सम्पन्न नभए समय थप हुन सक्ने जनाइएको छ ।