• १७ मङ्सिर २०८२, बुधबार

घामेमा दाइँको उत्साह (फोटो फिचर)

blog

पाख्रिवास नगरपालिका ८ घामेमा स्थानीय देवीबहादुर पुरीले लगाएकाे दाइँमा देखिएको उत्साह । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले, मङ्सिर १७ गते ।
पछिल्लो समय धनकुटामा पनि गोरु नारेर दाइँ गर्ने प्रचलन हराउँदै गएको छ । कृषिमा प्रविधि भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै जाँदा दाइँ हाल्ने परम्परा पनि हराउँदै जान थालेको हो ।

युवा विदेसिने प्रवृत्ति र सहरीकरणका कारण गाउँघरमा मानिसहरू बस्न छाडेका छन्, जसका कारण कृषि गर्ने परम्परा पनि घट्दै गएको छ । तर धनकुटाको पाख्रिवास नगरपालिका ८ घामेमा भने अहिले पनि यो परम्परालाई स्थानीयले जोगाइरहेका छन् ।

स्थानीय देवीबहादुर पुरीले लगाएकाे दाइँमा निक्कै उत्साह देखियो । काम गर्ने जनशक्ति गोरु अभाव हुँदाहुँदै पनि पुरानो तरिकाले गर्ने दाइँको रौनाक नै बेग्लै हुने भएकाले दाइँ गोरु नारेरै गरिएको उहाँको भनाइ छ । पछिल्लो समय लोप हुँदै गएको दाइँको यो परम्परा हेर्न र रमाउन भेला भएका स्थानीयको कारण निक्कै रमाइलो माहौल बनेको स्थानीय पूजन पुरी बताउनुहुन्छ ।


खेत जोत्न पावर ट्रिलर वा हाते ट्याक्टर अनुदानमा वितरण गर्न थालेपछि खेत जोत्न प्रयोग हुने गोरु विस्थापित भइरहेका छन् । गोरुभन्दा छिटो र सरल तरिकाले जोत्ने भएकाले हाते ट्याक्टरतर्फ किसानको आकर्षण बढेको छ । तर हो हो माले हो हो हो हो तारे हो हो भन्दै दाइँ गीत गाएर काम गर्नुको मजा नै छुट्टै हुने गरेका स्थानीय टङ्कबहादुर गिरी बताउनुहुन्छ ।