• १७ मङ्सिर २०८२, बुधबार

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

blog

जकार्ता, मङ्सिर १७ गते । इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद व्यवस्थापन निकायले बुधबार जनाएको छ ।

निकायका अनुसार मङ्गलबार मात्र ४० टन राहत सामग्री प्राप्त भएको छ, जसमा खाद्यान्न, खानेपानी, औषधी तथा उपचार सामग्री समावेश छन् । यी सामग्री प्रभावित बस्तीमा पठाइने तयारी भइरहेको छ । अर्थसम्बन्धी समन्वय मन्त्री एर्लाङ्गा हार्तार्टोले राहत साधनले विपद ग्रस्त नागरिकप्रतिको सरकारको चिन्ता झल्किने बताउनुभयो । 

उहाँका अनुसार यस सहयोगले ‘तात्कालिक आवश्यकता पूरा गर्न, उद्धार तथा राहत कार्यलाई छरितो बनाउने र पुनः स्थापनाका प्रयासमा जुटेकालाई बल प्रदान गर्ने’ विश्वास गरिएको छ । राष्ट्रपति प्रबोवो सुबियाँतोले पनि प्रभावित जनताको आवश्यकता तत्काल सम्बोधन गर्ने, सामाजिक-आर्थिक पुनर्जीवनलाई छिटो अघि बढाउने तथा क्षतिग्रस्त पूर्वाधारको मर्मत र पुनर्निर्माणलाई सरकारको मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । रासस/सिन्ह्वा