काठमाडौँ, मङ्सिर १६ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पारेको हो ।
जनकपुरले चितवन राइनोजलाई छ विकेटले पराजित गर्दै अङ्क तालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो । यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा बढेको छ । बाँकी रहेका दुई खेलमा फराकिलो जित निकालेर मात्रै त्यो सम्भावना सम्भावना रहने नभई जनकपुरले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ ।
आजको जितमा अनिल साह ‘म्याच विनर’ बने । ६१ रन हिर्काउनुका साथै एक विकेट लिनुभएका अनिल ‘प्लेयर अफ दी म्याच’ चुनिनुभयो । जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा शाहले ‘प्लेअफ’को सम्भावना बाँकी रहेको बताउनुभयो ।
“अझै दुई खेल बाँकी छन् । ती खेल जितेर प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छौँ । लगातारको हारले टोलीको मनोबल खस्किएको भए पनि आजको जितले आगामी खेलमा सहज हुने छ”, उहाँले भन्नुभयो, “पछिल्ला खेलमा रन ननिस्किँदा त्यही दबाब महसुस गर्नुभएको थियो । आज टिम ब्याक गर्दा रन पनि निस्किनु मेरो लागि खुसीको क्षण हो ।”
पाँचौँ खेलमा तेस्रो हारपछि चितवन राइनोजको ‘प्लेअफ’को बाटो साँघुरो बन्न थालेको छ । बाँकी दुई खेलमा उसले जित निकाल्नुपर्ने दबाब बढेको छ ।
आजको हारपछि चितवनका विदेशी खेलाडी डेबिड मालनले आगामी दुई खेल जित्दा ‘प्लेअफ’ पुग्ने सम्भावना रहेकाले जित निकाल्न मेहनत गरिने बताउनुभयो ।