• ७ जेठ २०८१, सोमबार

प्रदेश १ मा बढ्दै वित्तीय संस्थामा पहुँच

blog

विराटनगर, असार २४ गते । एक वर्षको अवधिमा प्रदेश १ मा बैङ्क खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको नौ महिना (चैत)सम्ममा बैङ्क तथा वित्तीय संस्थामा खोलिएका खाताको सङ्ख्या १२ लाख ७६ हजार ५२६ पुगेको हो ।

प्रदेश १ ले हालै सार्वजनिक गरेकोे आर्थिक सर्वेक्षणअनुसार यो गत वर्षको तुलनामा २८.०३ प्रतिशतले वृद्धि हो । प्रदेश १ मा ५४.१ प्रतिशत पुरुष र ४५.९ प्रतिशत महिलाका नाममा खाता रहेका छन् । 

कर्जा र निक्षेपमा मोरङ अगाडि

प्रदेश १ मा २०७७ चैत मसान्तको तुलनामा २०७८ चैत मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४.४ प्रतिशतले वृद्धि भएर तीन खर्ब ३२ अर्ब रुपियाँ पुगेको छ । कुल कर्जा भने १४.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब २७ अर्ब पुगेको छ । 

प्रदेश १ का जिल्लामध्ये मोरङमा सबैभन्दा बढी एक खर्ब तीन अर्ब रुपियाँ निक्षेप परिचालन भएको छ भने तेह्रथुममा सबैभन्दा कम चार अर्ब ४८ करोड रुपियाँ निक्षेप परिचालन भएको छ । प्रदेशको कुल निक्षेप परिचालनमा मोरङ, सुनसरी र झापाको जिल्लाको हिस्सा ७७.१ प्रतिशत देखिन्छ । 

२०७७ सालको तुलनामा भोजपुर जिल्लाको निक्षेप सबैभन्दा बढी १७.४ प्रतिशतले वृद्धि भएको छ भने झापाको निक्षेप वृद्धि ०.३ प्रतिशत मात्रै भएको छ । सबैभन्दा बढी कर्जा प्रवाह गर्ने जिल्लामा पनि मोरङ नै रहेको छ । मोरङमा मात्रै दुई खर्ब २४ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा दुई अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ । प्रदेशको कुल कर्जा प्रवाहमा मोरङ, सुनसरी र झापाको हिस्सा ८७.८ प्रतिशत रहेको छ ।

प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा धितोपत्र दलालले धितोपत्र कारोबार सेवा विस्तार गरेका छन् । २०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा धितोपत्र दलालहरूको १४ वटा शाखा रहेका छन् । यो बागमती प्रदेशपछिको दोस्रो हो । 

यसैगरी प्रदेश १ मा इन्टरनेट बैङ्किङ सेवा लिने ग्राहकको सङ्ख्या ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्टअनुसार इन्टरनेट बैङ्किङ सेवा लिनेको सङ्ख्या २०७७ सालमा ८३ हजार २८३ थियो । चालू आर्थिक वर्षमा उक्त सङ्ख्या बढेर एक लाख ३७ हजार ९६६ 

पुगेको छ । 

बढ्यो मोबाइल बैङ्किङ

यस्तै मोबाइल बैङ्किङ सेवा लिने सेवाग्राहीको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैङ्किङ सेवा लिएकामा अहिले २४ लाख ८६ हजार ९८२ पुगेको छ ।

डेबिट कार्ड प्रयोगमा पनि २५.७ प्रतिशतले वृद्धि भएको छ भने क्रेडिट कार्ड लिनेको सङ्ख्या ३६.९ प्रतिशत, प्रिपेड कार्ड लिनेको सङ्ख्या १०१ प्रतिशतले बढेको छ । यसै अवधिमा शाखारहित बैङ्किङ सेवा भने ७.२ प्रतिशतले घटेको छ । 

प्रदेश १ मा एक हजार ८४१ बैङ्क तथा वित्तीय संस्था र ५४१ बीमक कार्यालय स्थापना भएका छन् । जसमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्था छन् । हालसम्म ८६६ लघुवित्त, ७५३ वाणिज्य, १९० विकास र ३२ वटा वित्त कम्पनीका शाखा रहेका छन् । 


Author

नवराज कट्टेल