अन्तर्राष्ट्रिय खेलकुदमा चामत्कारिक प्रदर्शन गरेर नेपालको नाम राख्नेमा क्रिकेट सबभन्दा अगाडि छ । पुरुष होस् या महिला क्रिकेट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही नै कमाएको छ । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल ग¥यो । नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम पनि जोडिएको छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको विश्वकप खेल्न जानुअघि यो टिममा कसैको नजरमा परेको थिएन । भनौँ बेवास्ता नै गरिएको थियो । अहिले विश्वकपमा उपविजेता बनेर नेपाल फर्केपछि नेपालको दृष्टिविहीन महिला क्रिकेटको पनि अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही भएको छ । यसले नेपाली महिला दृष्टिविहीन खेलाडी अहिले आत्मसम्मान र मनोरञ्जनका लागि मात्र खेल्दैनन्, देशकै नाम राख्नका लागि प्रतिस्पर्धा गर्छन् भन्ने सबैलाई हेक्का भएको देखिन्छ ।
दृष्टिविहीन महिला क्रिकेट टी–२० विश्वकप पहिलो पटक आयोजना भएको छ । जुन प्रतियोगितामा टेस्ट खेल्ने भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलियाका साथै अमेरिकाको पनि सहभागिता रहेको थियो । अमेरिका र नेपालबाहेक विश्वकपमा सहभागी अन्य राष्ट्र क्रिकेटको संस्कार भएका व्रिmकेटका ठुला नाम थिए । नेपालले यस प्रतियोगिता भारतसँग मात्र पराजय बेहो¥यो । नेपाल लिग चरण र उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । नेपालले अन्य सहभागी सबै राष्ट्रलाई हराएको थियो । अमेरिकाविरुद्धको खेलमा नेपालले दुई विश्व कीर्तिमान नै बनायो । अमेरिकालाई १७ रनमै अलआउट गरेर कीर्तिमान बनाएको नेपालले लक्ष्य चार बलमै भेट्टाएर अर्को विश्व कीर्तिमान कायम गरेको थियो । महिला दृष्टिविहीन क्रिकेटमा नाम कमाएको पाकिस्तानलाई नेपालले समूह चरण र सेमिफाइनलमा गरेर दुई पटक पराजित ग¥यो । त्यसैले पनि पहिलो संस्करणमै उपविजेता बनेर इतिहासको पानामा आफ्नो नाम सुनौलो अक्षरले लेखाउने नेपालको दृष्टिविहीन क्रिकेट टिमको वाहवाही भइरहेको छ ।
दृष्टिविहीन क्रिकेटको सुरुवात
नेपालमा दृष्टिविहीन क्रिकेट भित्रिएको सन् १९९० मा हो । सो समय शिक्षा आदानप्रदान भारत गएका दृष्टिविहीन विद्यालयका शिक्षकले दृष्टिविहीन क्रिकेटको अनुसरण गरेका थिए । नेपालमा सही अर्थमा दृष्टिविहीन क्रिकेटको सुरुवात सन् २००६ मा भएको हो । पाकिस्तान दृष्टिविहीन व्रिmकेट परिषद्को प्राविधिक सहयोगबाट नेपालमा यो खेलले विधिवत् प्रवेश पाएको होभन्दा फरक पर्दैन । २०६३ सालमा लक्ष्मण ज्ञवालीको अध्यक्षता नेत्रहीन क्रिकेट सङ्घ, नेपाल तदर्थ समितिको गठन भएको थियो । नेपालमा त्यसपछि दृष्टिविहीन क्रिकेटमा नियममा बाँधिएर खेल्न थालियो । नेपालमा दृष्टिविहीन क्रिकेट भित्र्याउने श्रेय अहिलेका अध्यक्ष पवन घिमिरेलाई दिँदा फरक पर्दैन । सन् २००६ मा पाकिस्तानमा तेस्रो पुरुष दृष्टिविहीन विश्वकप क्रिकेटमा पर्यवेक्षकका रूपमा सहभागी भएपछि घिमिरेले काठमाडौँ, भक्तपुर ललितपुर गरी तीन दृष्टिविहीन क्लब गठन गर्नुभएको हो । यी तिनै क्लबको सहभागितामा २०६३ मा पहिलो पटक नेपालमा दृष्टिविहीन क्रिकेट प्रतियोगिता पनि भयो । त्यसपछि कास्की, लुम्बिनीलगायत विभिन्न जिल्लाबाट दृष्टिविहीन क्रिकेट सिक्न अनुरोध आएको बताउनुहुन्छ, अध्यक्ष घिमिरे ।
पहिलो पटक दृष्टिविहीन क्रिकेट सिकाउने क्रममै ३५ जना महिलाको सहभागिता रहेको थियो । त्यसपछि दृष्टिविहीन महिला क्रिकेट टिम पनि बन्यो । अचम्म लाग्न सक्छ, नेपाल पहिलो दृष्टिविहीन महिला क्रिकेट टिम गठन गर्ने विश्वकै पहिलो राष्ट्र हो । अध्यक्ष घिमिरेका अनुसार नेपालले दृष्टिविहीन महिला व्रिmकेट टिम गठन गरेको धेरैपछि मात्र अन्य राष्ट्रले धेरैपछि मात्र दृष्टिविहीन महिला क्रिकेट टिम तयार पारेको हो । नेपालमा अहिले सात सय पुरुष र २५० महिला दृष्टिविहीन क्रिकेटर भएको बताइन्छ ।
अन्तर्राष्ट्रिय सहभागिता
करिब २० वर्षअघि नै दृष्टिविहीन महिला क्रिकेट टिम बने पनि नेपालको अन्तर्राष्ट्रिय सहभागिता औँलामा गन्न मिल्ने मात्र छ तर नेपालको दृष्टिविहीन महिला टिमले जति अन्तर्राष्ट्रिय खेल खेलेका छन्, ती सबैमा अब्बल बनेको छ । त्यसैले दृष्टिविहीन क्रिकेटमा नेपालको चर्चा भएको यो पहिलो पटक भने होइन । नेपालको नाम विश्वमै सम्मानका साथ लिइन्छ ।
क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड (क्याब) नेपालको आयोजनामा सन् २०१४ मा नेपाल र बेलायतको दृष्टिविहीन महिला टिमबिच तीन खेलको शृङ्खला भएको थियो । सो शृङ्खला ३–० ले नेपालको पक्षमा गएको थियो । विश्वमै पहिलो पटक महिला दृष्टिविहीन क्रिकेटमा दुई देशबिच भएको त्यो नै पहिलो शृङ्खला थियो तर सो शृङ्खलाले नेत्रहीन क्रिकेट परिषद्को मान्यता पाएको थिएन । यसबिच नेत्रहीन क्रिकेट परिषद्को मान्यताबिना नै अन्य केही देशबिच पनि दृष्टिविहीन महिला क्रिकेट शृङ्खला भएका छन् ।
त्यसपछि सन् २०१९ मा पाकिस्तानमा नेपालको महिला दृष्टिविहीन टिमले क्रिकेट शृङ्खला खेलेको थियो । जुन नेत्रहीन क्रिकेट परिषद्को मान्यताप्राप्त पहिलो अन्तर्राष्ट्रिय द्विपक्षीय शृङ्खला मानिएको छ । यस अर्थमा नेपाल र पाकिस्तानबिचको क्रिकेट शृङ्खला ऐतिहासिक भएको थियो । पाँच खेलको शृङ्खलामा नेपालले पाकिस्तानलाई उसकै भूमिमा ४–० ले हराएको थियो । ती खेल पाकिस्तानको लाहोर, रावलपिण्डी र इस्लामाबादमा भएको थियो । एक खेल वर्षाले रद्द भएको थियो ।
त्यसपछि २०२२ मा नेपालमा भारतविरुद्ध भएको पाँच खेलको शृङ्खलामा पनि नेपाल ३–१ ले विजयी भएको थियो । अर्को वर्ष भारतमा भएको शृङ्खलामा नेपाल पराजित भएको थियो । त्यसपछि नेपालको महिला क्रिकेट टिमले गत हप्ता एकै पटक प्रथम विश्वकप टी–२० महिला क्रिकेटमा सहभागी भएको हो ।
कसरी खेलिन्छ
दृष्टिविहीन क्रिकेट भन्नासाथ सर्वसाधारणमा नदेख्नेले कसरी खेल्छ भन्ने कौतुहल र खुलदुली हुन सक्छ । जुन स्वाभाविक पनि हो । यद्यपि दृष्टिविहीन क्रिकेटले पनि सामान्य क्रिकेटमा जस्तै रन लिन दौडन्छन्, चौका, छक्का प्रहार गर्छन् । आउट गर्न बोल्ड, एलबिडब्लु, रनआउट गर्छन् । यति हुँदाहँुदै यिनीहरूले क्रिकेट खेल्ने तरिका र नियम अलि भिन्न हुन्छ । यिनीहरू आवाजको भरमा क्रिकेट खेल्छन्भन्दा पनि फरक पर्दैन ।
दृष्टिविहीन क्रिकेटरलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानमा पूर्ण रूपमा दृष्टिविहीन, बी टुमा अलिअलि दृष्टिले कमजोर (पाँच मिटर टाढा नदेख्ने) र बी थ्रीमा (बिस मिटर टाढा नदेख्ने) अल्प दृष्टिविहीन हुन्छन् । प्लेइङ ११ मा पूर्ण रूपमा दृष्टिविहीन चार जना हुनै पर्छ । त्यसपछि बी टुका तीन र बी थ्रीका चार खेलाडी रहने हुन्छ । प्रत्येक क्याटेगोरीका एक/एक एक्स्ट्रा खेलाडी हुन्छन् । बी वान क्याटेगोरीका ब्याटर आफैँ रन लिन सक्दैनन् । त्यसैले अन्य दुई क्याटेगोरीबाट एक खेलाडी रन लिन रनरका रूपमा प्रयोग गर्छन् । यसै गरी बी वान क्याटेगोरीका खेलाडीले बनाएको रनसमेत डबल हुन्छ । बी वान क्याटेगोरीका खेलाडीले एक रन प्रहार गर्दा दुई रन गनिन्छ । यसै गरी चौकामा आठ रन र छक्कामा १२ रन प्राप्त गर्छन् । आवाज आउने बल हुन्छ । बलिङ गर्ने एक्सन पनि फरक हुन्छ । साधारण क्रिकेटमा जस्तो ओभरआर्म बलिङ नभई बलरले पिचमा गुडाएर बज्ने बल फ्याँक्ने गर्दछ । प्रत्येक ओभरको सुरुमा विकेटकिपर भनेर कराएपछि ‘एस, एस’ भनेर जवाफ फर्काउँछ । त्यसपछि ब्याट्सम्यानलाई ‘आर यु रेडी’ भनी सोध्नु पर्छ । त्यसपछि मात्र बलरले बल फाल्छ । आवाज सुनेपछि ब्याट्सम्यानले प्रहार गर्छन् ।
अपाङ्गताका लागि पनि खेलकुद
खेलकुद सपाङ्गका लागि मात्र होइन । यो शारीरिक अपाङ्गता भएकाका लागि पनि हो । विश्व खेलकुदमा यही सोचमा पारा खेलकुदको विकास भएको हो । अपाङ्गता भएका खेलाडीमा लाग्नुका कारण जीवनको नयाँ लक्ष्य भेट्याउन पनि हो । यिनीहरूले खेललाई आफ्नो जीवनलाई नयाँ लक्ष्य बनाउँछन् । उनीहरू खेलले आफू समाजमा कमजोर छु भन्ने भावना हटेको बताउँछन् । उनीहरू ठान्छन्– अब हामीविरुद्धको हेय र विभेद कम हुने छ । त्यसैले पनि सरोकारवालाले यस्ता खेलकुदलाई पनि प्राथमिकतामा राख्न जरुरी छ । दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टिम नै प्रतियोगिता खेल्न जाँदा ठुलो दुःखकष्ट बेहोर्नु परेको थियो । विश्वकप जस्तो मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पनि अभ्यास गर्ने मैदान थिएन । अभ्यास गर्दा जर्सी पनि आफैँले जुटाउनुपर्ने बाध्यता थियो । म्याच फी थिएन ।
विश्वकप उपविजेता बनेर नेपाल फर्केपछि कप्तान गीता पौडेलले भन्नुभयो, “विश्वकप जित्ने राम्रो अवसर थियो तर तयारी स्रोतसाधनको अभाव र अन्य कारणले अन्तिम बाधा पार गर्न सकेनौँ । हामीसँग भएको पूर्ण क्षमताको उपयोग हुन सकेन । अभ्यास गर्न मैदानका लागि भौँतारिनु प¥यो । काठमाडौँमा मैदान नपाउँदा नै पोखरासम्म गएर अभ्यास गर्नु प¥यो । सानो क्रिकेट एकेडेमीमा अभ्यास ग¥यौँ ।” उहाँले अहिले पनि केही आधारभूत सुविधा मात्र प्राप्त भएमा पनि खुसी हुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “छुट्टै रङ्गशाला चाहियो भन्दैनौ तर खेल्न चाहेका बेला सहज रूपमा मैदान उपलब्ध हुनु प¥यो । स्रोतसाधन चाहियो । समग्रमा खेलाडीलाई चाहिने आवश्यक बल, ब्याट, जर्सी, जुत्ता र मैदान भएमा पनि हामी सन्तुष्ट हुन्छौँ ।”
विश्वकप उपविजेता बनेपछि प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री निवासमै बोलाएर बधाई दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपिएलमै १० लाख रुपियाँले सम्मान गरेको छ । अब सम्मान र सहयोग गर्ने पालो सरकारको हो ।
विश्वकप उपविजेता नेपाली टिम
गीता पौडेल (३० वर्ष) कप्तान
विनिता पुन (२२ वर्ष) उपकप्तान
सुषमा तामाङ (२४ वर्ष)
पुनमकुमारी चौधरी (२६ वर्ष)
लक्ष्मी लामा (३० वर्ष)
प्रतिभा राई (२६ वर्ष)
इसरा माया लुङ्गेली (२९ वर्ष)
दिल्लीसरा धमला (२० वर्ष)
सरिता घिमिरे (२५ वर्ष)
मनकेसी चौधरी (२८ वर्ष)
विनिता सेमाइ (१७ वर्ष)
कान्ति चौधरी (२२ वर्ष)
विमला राई (२९ वर्ष)
देवकी थापामगर (१९ वर्ष)
एन्जिला ढकाल (३० वर्ष)
सुनिता भुजेल (२२ वर्ष)