• १३ मंसिर २०८२, शनिबार

नौमती बाजाले छाएको खुसी

blog

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने नेपाली उखानलाई चन्द्रागिरी नगरपालिका–३, स्थित समृद्धि टोलमा अवस्थित ‘सिर्जनशील महिला संस्था’ ले चरितार्थ गरिदिएको छ । टोलमा बसोबास गर्ने केही महिला मिलेर २०७७ सालमा कानुनी प्रक्रिया पूरा गरी ‘सिर्जनशील महिला संस्था’ नामक संस्था दर्ता गरियो । नेपालमा परम्परादेखि चल्दै आएको बहुचर्चित मौलिक नौमती बाजाको संरक्षण र संवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो संस्था दर्ता गरिएको थियो । प्रारम्भमा केही जात विशेषले मात्र बाजा बजाउनुपर्ने प्रथा रहिआएकोमा पछिल्लो समयमा जनमानसमा चेतनाको विकास हुँदै आयो । राज्यले समानतामा आधारित विभेदरहित समाज निर्माणका लागि भन्दै जातीय, लिङ्गीय भेदभावविरुद्धको कानुन तर्जुमा गरेपछि तोकिएको जाति विशेषले मात्र नभई आन्य जाति वा जोकोहीले पनि परम्परागत पेसा परिवर्तन गरी बाजा बजाउन थालेको पाइन्छ । योभन्दा पनि परम्परागत आफ्नो मौलिक पेसाको रूपमा बाजा बजाउँदै आएका जातिले पेसा परिवर्तन गरी अन्य पेसा व्यवसाय अपनाउन थालेका छन् । रोजगारीका लागि बिदेसिने क्रम बढ्दै जाँदा बाजा बजाउने मानिसको अभाव खड्किन थाल्यो । जसले गर्दा महत्वपूर्ण मौलिक संस्कृतिका रूपमा रहेको नौमती बाजा लोप हुने अवस्थामा पुग्यो । 

हरेक धार्मिक, सांस्कृतिक, सामाजिक क्रियाकलापमा बजाइने नौमती बाजाको संरक्षण र संवर्धन गर्न सिर्जनशील महिला संस्थाले लामो इतिहास बोकेको यो बाजालाई समाजबाट लोप हुन नदिन संस्थागत रूपमा पहल ग¥यो । २०७७ सालदेखि निरन्तर धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा नौमती बाजा बजाइँदै आइरहेको छ । संस्थाकी अध्यक्ष बालकुमारी भुसालले दिएको जानकारी अनुसार नौमती बाजा बजाउने पुरुषको अभाव खड्किँदै गएको छ । जसले बजाउने कामलाई निरन्तरता दिइरहेका छन्, उनीहरूले पनि नियम र विधिसम्मत नबजाउने गरेकाले यसलाई बचाउन संस्था नै दर्ता गर्ने हिम्मत र साहस गरिएको थियो । संस्थामा आबद्ध सबै सदस्य र उनीहरूका घरपरिवारले समेत साथ दिएका कारण सफलता प्राप्त भएको संस्थाकी अध्यक्ष भुसाल बताउनुहुन्छ । 

संस्थाले नेपालको सुदूर पूर्व र सुदूर पश्चिमबाहेक धेरै जिल्लामा गएर विवाह, व्रतबन्ध, न्वारन, छेवर, पूजा, सप्ताह, उद्घाटन, स्वागत जस्ता धार्मिक र सामाजिक शुभ कार्यमा यो बाजा बजाउने गरेको छ । आयआर्जन, स्वास्थ्य र धार्मिक दृष्टिले पनि उपर्युक्त पेसा भएकाले यसप्रति महिलाको आकर्षण बढेको पाइन्छ । यसले महिला सशक्तीकरण र महिला जागरण कार्यमा समेत टेवा पु¥याउने काम गरेको पाइन्छ । यसै गरी यो संस्थाले नौमती बाजा बजाउने कार्यको माध्यमबाट विभेदरहित समाजको निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सुरुमा जात विशेषले, त्यो पनि पुरुषले मात्र बजाउनुपर्ने परम्परागत प्रचलन तोडी जुनसुकै जातिका महिला र पुरुषले बजाउन सक्ने नयाँ चलनको बिजारोपण गरी समानताको बिगुल फुक्ने काम भएको छ । जसले समाज परिवर्तनको दिशामा एउटा इँटा थपेको छ । यसरी बाजा बजाउने पेसा अबका दिनमा कुनै जाति विशेषको मात्र रहेन । 

नौमती बाजा बजाउने कामलाई निरन्तरता दिएर पुस्तान्तरण गर्न सिर्जनशील महिला संस्थाले पछिल्ला पुस्ताका महिलालाई बाजा बजाउने तालिमको व्यवस्था गरेको छ । यसले महिलालाई स्वरोजगारको साथै आत्मनिर्भर बनाउने काम पनि गरेको छ । चुलो चौको र घरभित्रको काममा मात्र सीमित महिलालाई घरबाहिर निस्केर आयआर्जनको काम गर्न प्रेरणा दिएको छ । यो एउटा सन्देशमूलक कार्य पनि हो । यसले संस्थामा आबद्ध महिलाको चेतनास्तर माथि उठाउने कार्य गरेको छ । संस्थाको यो महिला जागरण, महिला सशक्तीकरणको कार्यले निरन्तरता पाइरहोस् । 

नौमती बाजाको इतिहास 

नौमती बाजा नेपालको बहुमूल्य परम्परागत सांस्कृतिक सम्पदा हो । जसले सामाजिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको छ । यो नेपालको हिमाली तथा पहाडी समुदायमा बजाइने परम्परागत धुन बाजाहरूको समूह हो । प्राचीन भारतीय–हिमालयन संस्कृतिका शाही बाद्यवाधन (नगारा, नरसिंह आदि) बाट विकसित भएर नेपालमा ‘नौ वटा बाद्य मिलेर बज्ने समूह’ को रूपमा स्थापित भएको हो । नौ वटा बाजामा नरसिंह, करनाल, नगारा, दमाहा, झ्याली, ताल, ढोलकी, सहनाइ र बाँसुरी पर्छन् । 

नौमती बाजाको प्राचीनतालाई अध्ययन गर्दा प्रामाणिक रूपमा लिच्छविकालीन इस्वी संवत् ३०० देखि ८७९ का अभिलेखमा नगरा र डम्फु जस्ता बाजा राजदरबार र देवपूजामा बजाइने उल्लेख छ । यसले यो बाजाको प्रचलन लिच्छविकालभन्दा अगाडिदेखि नै रहेको पुष्टि हुन्छ । त्यति बेलाका राजा महाराजाको दरबारमा विजय उत्सव र धार्मिक अनुष्ठानका समयमा बजाइने गरिन्थ्यो । तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा नौमती बाजालाई सैनिक तथा राजकीय प्रतिष्ठाको प्रतीकको रूपमा लिइन्थ्यो । युद्धमा सेना परिचालन गर्दा, राजाको उपस्थितिको घोषणा र विजय उत्सवमा अनिवार्य रूपमा बजाउनु पर्दथ्यो । पछिल्लो समयमा गाउँघरका विभिन्न धार्मिक, सामाजिक कार्यमा बजाउन थालियो । खास गरी विवाह, व्रतबन्ध, न्वारन, पास्नी, देवताको पूजाआजा, उद्घाटन, जात्रापर्व जस्ता शुभकार्यमा नैमती बाजा बजाउने गरिन्छ । 

नौमती बाजालाई नेपाली संस्कृतिमा शुभ र समृद्धिको प्रतीकका रूपमा लिइन्छ । कहीँ नौमती बाजा बज्दा ‘शुभ कार्य हुँदै छ’ भन्ने बुझिन्छ । यसलाई नेपाली समाजमा एकता र मेलमिलापको प्रतीक मानिन्छ । नौमतीको ध्वनिले वातावरण शुद्ध र पवित्र हुन्छ भन्ने जनविश्वास छ । नगरा र नरसिंह देवी देवताको वाहनस्वरूप मानिन्छ । विवाहमा नयाँ जीवनमा शक्ति, शान्ति र समृद्धि प्रवेशको प्रतीकको रूपमा बजाइन्छ । जनविश्वास अनुसार नौमती बाजाको ध्वनि तरङ्गले वातावरणमा कम्पन पैदा गर्छ । मानिसमा उत्साह, उमङ्ग र ऊर्जा बढाउँछ । समूहमा एकता र जोस पैदा गराउँछ । जसका कारणले सैनिकले युद्ध अगाडि यो बाजा बजाउँछन् । 

ऐतिहासिक नौमती बाजा बजाएर यसको संरक्षण र संवर्धनमा लाग्ने सिर्जनशील महिला संस्थाको हिम्मत, आँट र साहसलाई सबैले मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । हाम्रो समाज अझै पनि रूढिवादी सङ्कुचित सोच र अन्धविश्वासबाट माथि उठ्न नसकिरहेको अवस्थामा महिलाले बाजा बजाउने पेसा अपनाउनु खुसीको कुरा हो । घरपरिवारले पक्कै पनि सहज रूपमा स्वीकार गरेको थिएन । समाजले हेर्ने दृष्टिकोण पक्कै सकारात्मक थिएन । नातेदार, आफन्तलाई पचाउन निकै कठिन भयो होला । तथापि जे त होला भनेर आँखा चिम्लेर धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक महत्वको नौमती बाजालाई बजाएर संरक्षण र संवर्धन गर्ने एउटै मात्र अर्जुनदृष्टिका साथ अगाडि बढेका कारण हिम्मतवाली, साहसी महिलाको संस्था सिर्जनशील महिला संस्थाले आज नौमती बाजा बजाउने कार्यमा उत्कृष्ट पहिचान बनाउन सफल भएको छ । संस्थामा आबद्ध महिलाप्रति घरपरिवार, नातेदार, आफन्तको, समाजको हेर्ने दृष्टिकोण फरक भएको छ वा सकारात्मक भएको छ । यो संस्था र संस्थामा आबद्ध महिलाको ठुलो उपलब्धि हो । भनिन्छ– हजार माइलको यात्रा पार गर्न पहिलो पाहिलाबाटै सुरुवात गर्नु पर्छ । पहिलो पाइला नै चालिएन भने कसरी हजार माइलको यात्रा पार गर्न सकिन्छ ।