• १३ मंसिर २०८२, शनिबार

भाषा, समावेशिता र शान्ति

blog

राष्ट्रको समान विकासका लागि समान पहुँच र सहभागितालाई ग्यारेन्टी गर्न संवैधानिक व्यवस्था मात्रै यथेष्ट हुँदैन । समान विकास हुँदा मात्रै दिगो शान्ति स्थापना हुने हुँदा समावेशिता र शान्ति एकअर्काका पर्याय बन्न पुग्छन् । जसलाई गोरखापत्रले विभिन्न ४६ भाषामा समाचार, लेखरचनाको प्रकाशनमार्फत प्रमाणित गर्दै आएको छ । 

भाषा केवल संवादको साधन मात्रै नभएर पहिचान, संस्कृति, ज्ञान र सत्तासँग पनि सम्बन्ध बनाउने माध्यम हो । भाषालाई समावेशी बनाउँदा विविध पहिचानको सम्मान हुन्छ । नागरिकको सहभागिता बढ्छ । सेवा प्रवाह समान र प्रभावकारी हुन्छ । कमजोर र अपहेलित भनिएको समुदाय पनि सशक्त भएर अघि बढ्न सक्छ । मुलुकमा भएको राजनीतिक परिवर्तनको लाभ सबैले लिन सकून् भन्ने उद्देश्यलाई भाषाको समावेशीकरणमार्फत अभ्यासमा ल्याएर गोरखापत्रले ऐतिहासिक योगदान पु¥याइरहेको छ ।

द्वन्द्व व्यवस्थापन र भाषा 

विसं २०५२ बाट नेपालमा प्रारम्भ भएको माओवादी सशस्त्र द्वन्द्व करिब १७ हजारको बलिदानीपछिको १९ दिने जनआन्दोलनपश्चात् शान्तिपूर्ण वार्ताका माध्यमबाट टुङ्गियो । पछिल्लो जेनजी आन्दोलनमा समेत धेरैको ज्यान गयो । निजी तथा सरकारी घर जल्न गई खर्बौंको क्षति भयो । यस्तो भयावह स्थितिलाई शान्तिपूर्ण रूपान्तरण गर्ने कडी भनेकै भाषा र संस्कृति हुन सक्छन् । द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । द्वन्द्व व्यवस्थापन विविध भाषा र संस्कृतिको संलग्नताले सहज बन्दै गएको अनुभव भएको छ । विसं २०६४ असोज १ गते बाट मैथिली, मगर, तामाङ, राई र नेपाल भाषाको लेखरचनालाई स्मरण गर्दा रोचक प्रसङ्ग थाहा पाउन सकिन्छ । 


जनकपुरमे धुम मचल अछि, सङ्गीत पसाहिन 

आइ अछि ।

चाचिक हाथमे तेल तेल फुलेल मामिक हाथ 

कसार अछि ।।

मैथिली भाषाको यो गीत साहित्य गोरखापत्रमा सविस्तार पढ्न पाउँदा सम्पूर्ण तराईवासी तथा मैथिली भाषाप्रेमीले अपनत्व महसुस गरे । राज्यप्रतिको द्वेष घट्न गई सबैले आफ्नो ठान्ने स्वराज्यको अनुभूति सांस्कृतिक रूपले गर्न पाए ।


“ बाहभाइ मष्ट भाइयौ तमी साक्षी भया ।

नवै बहिनी दुर्गा भाइयौ तमी साक्षी भया ।।

पश्चिमी नेपालमा मान्ने मष्टो देवताको गान सुन्न पाउँदा पश्चिम नेपालका साथै मुलुकभरका खसहरूले प्रसन्नता व्यक्त गर्न सके ।


कहाँ माताको जरमन कहाँ रजथान ।

विन्ध्याचल जरमन हिमजल रजथान ।। 

सुदूरपश्चिमको बडीमालिका भगवतीको स्तुति धामीका मुखराविन्दबाट सुन्दा निर्माण भएको फागहरूले पूर्वदेखि पश्चिमसम्मका सबै खुसी भए । परिवर्तनका लागि रक्तपातपूर्ण सङ्घर्षमा उत्रिएकाहरू समेतलाई साम्य पार्न उनीहरूले बुझ्ने प्रजातन्त्र, राष्ट्रियता र समावेशी सिद्धान्तलाई सम्बोधन गर्न संस्कृतका सूत्रले आर्य समुदायको साथै विद्रोही पक्ष पनि आश्वस्त हुन पुग्छन् । 

‘स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौं’ भन्ने ऋगवेदको गायनले द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँछ । यही भावनाका आधारमा कवि महेश प्रसाईंद्वारा रचिएको मिलाप गीत शान्ति अभियानको महत्वपूर्ण सङ्गीत बन्न पुगेको छ ।

चिनमय जीवन स्वराज होस्

बान्धव दिल सधैँ साथ होस्

सतराग अनुराग होस्

मिलाप होस्, प्रेमालाप होस् ।

धर्ती रज उष्ण प्राणी जाति

सूर्य र चन्द्र खगोल माथि 

वसुधैव कुटुम्बकार होस्

मिलाप होस्, प्रेमालाप होस् ।।

शिक्षामा भएको कमीकमजोरी गोरखापत्रमा प्रकाशित हुने विभिन्न भाषाका सामग्रीले हटाउन मद्दत गरेको छ । नैतिक शिक्षा पाठ्यव्रmमबाट हटेको विषय धेरैमा चासो र चिन्ताको विषय बनेको छ । यस्तो अवस्थामा आफ्नो मातृभाषामा आफ्नो धर्म संस्कृतिबारे जान्न पाउने अवसरले समाजप्रतिको दायित्व पाठकमा बढेर जान्छ । मुलुकको परिचयबारे अनभिज्ञ विद्यार्थीलाई आआफ्नो भाषा संस्कृतिप्रतिको अगाध प्रेम बढाउने खालका लेखरचनाले धेरैको ज्ञान बढेको बुझ्न सकिन्छ । राष्ट्रिय एकीकरणलाई बोध गराउने योगी नरहरिनाथद्वारा रचित कविताले इतिहासकै ज्ञान गराउँछ ।


“गोर्खा सैनिक कोटमा कटकमा कैलाशका कुटमा

 गङ्गाका तटमा हिमाल मुकुटमा राष्ट्रध्वजा भोटमा ।

हल्लि हल्लि वतासले विजयका बाजासितै तालमा

लम्क्यो लम्कि रहोस सदा अटल होस् शार्दुलका चालमा ।।” 

विसं २०६४ जेठ २० गतेपछि ‘स्वायत्तता र स्वतन्त्रता’ गोरखापत्रको नारा बन्न पुग्यो । असार २० गते को प्रकाशकीयमा ‘... एउटा त्यस्तो सङ्घीय र समावेशी नयाँ नेपालको सिर्जना, जहाँ जनताका लागि न्याय, शान्ति र लोकतन्त्र हुन्छ, जहाँ राजा र रैती हुने होइन, जहाँ जनता स्वयम्ले आफूमाथि शासन गर्ने छन् ..’ प्रकाशित भएसँगै “‘नयाँ नेपाल’ शीर्षकमा प्रकाशित हुने विभिन्न भाषाले सैद्धान्तिक मार्ग पहिल्याएका छन् । महात्मा गान्धीले पनि जनता आफैँले शासन गर्ने कुरालाई स्वराज्यको रूपमा बुझाउँदै स्वायत्तता र स्वतन्त्रताको कुरा गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रिय भाषा मानेको छ । धारा ७ (ख) अनुरूप नेपाली भाषाका अतिरिक्त प्रदेशले सरकारी कामकाजका लागि सो प्रदेशको बहुसङ्ख्यक जनसङ्ख्याले बोल्ने एक वा एकभन्दा बढी अन्य भाषा छनोट गर्न सक्ने छ । प्रतिनिधि सभा नियमावली, २०७५ र राष्ट्रिय सभा नियमावली, २०७५ मा सदस्यले आफ्नो मातृभाषामा बोल्न पाउने र त्यसको अभिलेखीकरण गर्न सकिने व्यवस्था गरेको छ । स्थानीय सरकारलाई पनि स्थानीय भाषा संस्कृतिको संरक्षण गर्ने संवैधानिक अधिकार भएकाले भाषाको संरक्षण र विकासमा राज्यका तिनै तहको संलग्नता रहेको छ । संविधानको धारा २८७ मा भाषा आयोगको गठन हुने प्रावधान अनुरूप भाषा आयोगमार्फत विभिन्न भाषालाई सरकारी कामकाजको भाषाका रूपमा अभ्यासमा ल्याउन सिफारिस गर्ने व्यवस्था अनुरूप विभिन्न एघार भाषाको सिफारिस भएको छ । विभिन्न भाषाको अध्ययन अनुसन्धान गर्नुपर्ने दायित्व अनुरूपको कार्यलाई गोरखापत्रमा निरन्तर प्रकाशित हुने सामग्रीले सहयोग पु¥याइरहेको छ । 

सङ्क्रमणकालीन न्यायको काम पनि टुङ्गिन नसकिरहेको अवस्थामा खट्किएको ‘शान्ति सचिवालय’ को आवश्यकतालाई गोरखापत्र संस्थानको भाषिक समावेशीकरणको संरचनाले पूरा गराउन सक्ने छ । आपसी प्रेम, सहयोग र मेलमिलापको वातावरण बनाउन भाषिक स्रष्टाको ऐक्यबद्धताले मद्दत पुग्ने छ । प्रदेश, जिल्ला तथा स्थानीय तहमा आयोजना गरिने व्यापारिक, सांस्कृतिक महोत्सवलाई समन्वय गर्दै स्थानीय भाषा महोत्सवका रूपमा रूपान्तरण गर्न सकिने छ । कक्षा १ देखि ८ सम्मको स्कुल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषा संस्कृति समावेश गरी पठनपाठनमा ल्याउन सहयोग पु¥याउन सकिन्छ । शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता सर्वत्र आवश्यक भएकाले गोरखापत्रले यसको नेतृत्व लिन सक्नु पर्छ ।