रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ११ गते । आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले दाबी गरेका छन् ।
निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ बागलुङले बुधबार आयोजना गरेको बैठकमा ३९ जनाले महाधिवेशन प्रतिनिधिका लागि दाबी गरेका हुन् । एमालेले सङ्घीय निर्वाचन क्षेत्रबाट १२ सय जना प्रतिनिधि बराबर एक युवा, एक महिला र दुई खुल्ला गरी चार जना र बढी सदस्य भएको ठाउँमा थप प्रतिनिधि हुने व्यवस्था गरेको छ ।
क्षेत्र नं. १ बाट खुल्लातर्फ ३ जना प्रतिनिधिका लागि २२ जना, महिलातर्फ दुई जनाका लागि सात जना र युवातर्फ एक जनाका लागि १० जनाले दावी गरेको निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ का संयोजक धनबहादुर परियारले जानकारी दिनुभयो ।
खुल्लातर्फ जिल्ला अध्यक्ष हीराबहादुर केसी, पूर्वअध्यक्ष जनकराज पौडेल, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, संविधानसभा सदस्य नरबहादुर थापासहित २२ जनाले दावी गर्नुभएको छ । यस्तै, लीला राना, नवराज पौडेल, अमर थापा, ध्रुवबहादुर केसी, गणेश थापा, लालबहादुर थापा, शिवप्रसाद सापकोटा, डिलबहादुर कार्की, भूपेन्द्र खड्का, रामकृष्ण शर्मा, बाबुलाल शाक्य, भरत पुरी, हरिनारायण गौतम, हिमाल शर्मा, रुद्रबहादुर केसी, खेमराज सापकोटा र सञ्जयकुमार श्रेष्ठले पनि प्रतिनिधिमा दाबी गर्नुभएको छ ।
दुई जना महिला प्रतिनिधिका लागि गीता शर्मा, ममतादेवी शर्मा, हुमा कुमारी जिसी.(अञ्जु), सरस्वती खड्का परियार, चित्रा श्रीस, हुमादेवी खड्का र कालिका सापकोटाले दावी गरेको संयोजक परियारले जानकारी दिनुभयो । परियारका अनुसार, एकजना युवा प्रतिनिधिका लागि सिर्जना पन्त, प्रेमबहादुर केसी, शिवप्रसाद शर्मा, राजु गौतम, सञ्जाल शर्मा, रमेशबहादुर केसी, बुद्ध बोहरा, शेखर खड्का, सन्दीप कँडेल र तिलक खड्काको दावी परेको छ ।
नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष हिराबहादुर केसीले तीन वटा कलष्टरमा दावी गर्नेहरु बीच छलफल गरी सर्वसम्मत गराउने प्रयास गरिने बताउनुभयो । ‘‘मङ्सिर १२ गतेसम्म सर्वसम्मतीका लागि प्रयास गर्छौ, सहमति नजुटे १३ गते मतदानमार्फत प्रतिनिधिको टुङ्गो लगाउँछौं’’ अध्यक्ष केसीले भन्नुभयो ।