• १२ असार २०८१, बुधबार

राहदानी बनाउनेका पीडा

एक लाख खर्च भयो तर बनेन राहदानी

blog

राहदानी विभागमा लागेको भीड । तस्बिरः केशब गुरुङ

काठमाडौं, असार २३ गते । कञ्चनपुरका सुवर्णराज पुरी राहदानीका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग धाउन थालेको छ महिना बित्यो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सिफारिसमा उहाँ पुसदेखि विभाग धाउन थाल्नुभएको हो।

तर, उहाँको अझै राहदानी बन्न सकेको छैन । पुरी भन्नुहुन्छ ,‘गत साल पुस महिनादेखि राहधानीका लागि विभाग धाइरहेको छु । तर, यहाँ कहिले के मिलेन, कहिले के मिलेन, भनेर फर्काउनुहुन्छ ।अहिलेसम्म राहदानी बनेको छैन ।’

पुरानो फर्मले काम नगरेपछि नयाँ फर्म बनाउँदा फेरि जिल्ला नै गएको उहाँको भनाइ छ । यसरी कञ्चनपुर र काठमाडौं आठ पटक जाने आउने काम भएको पुरी बताउनुहुन्छ । केही दिनमै राहदानी बन्ला र लिएर फर्कौँला भन्ने आश बोकेर आउनुभएका पुरीलाई राहदानी कहिले बन्छ, अझैँ पत्तो छैन ।

मलिन मुख लगाउँदै भन्नुभयो,‘केही दिनमै राहदानी बन्छ र लिएर फर्कौँला भनेर आएको हो । तर, अहिलेसम्म राहदानी बनेको छैन, आउँदैपिच्छे थोरै समस्या देखाएर फर्काउँछन् । उहाँले थप्नुभयो –‘अहिलेसम्म कञ्चनपुरदेखि यहाँ आउँदा एक लाखभन्दा बढी रूपियाँ खर्च भयो, तर राहदानी बनेन ।’


यस्तै बर्दियाका नरेन्द्रबहादुर बुढा पनि राहदानी विभाग धाउन थालेको दुई हप्ता बित्यो । राहदानी नवीकरण गर्न आउनुभएको उहाँको पनि समस्या उस्तै छ । भन्नुहुन्छ, ‘राहदानी नवीकरण गर्न आएको दुई हप्ता बित्यो तर, दुई दिन पछि आउनु भन्दै पठाउनुहुन्छ । आउँदा कहिले यो कोठामा गएर आउनु, कहिले त्यो कोठामा गएर आउनु भनेर पठाउनुहुन्छ । अन्तिममा, आज हुँदैन भन्नुहुन्छ ।’

अहिलेसम्म ४६ हजार रूपियाँ खर्च भइसकेको उहाँको भनाइ छ । ‘ निम्न वर्गको मान्छे, हामी पैसामा कमजोरी पनि छौँ। आएको यत्रो दिन भइसक्यो, कहिले कैलाली, कहिले काठमाडौं गर्दा अहिलेसम्म ४६ हजार खर्च भइसक्यो । तर, काम नै बन्दैन,’ उहाँले भन्नुभयो ।

यस्तै, कैलालीका बिन्दु तिमल्सिना पनि दुई हप्तादेखि राहदानी विभाग धाउनुभएको छ । आइतबार पनि उहाँ सबेरै खाना नखाइकन राहदानी विभागको गेटमा लाइन लाग्नुभयो तर उहाँको बेलुका ४ बज्दा पनि पालो आएको छैन

‘बिहान ८ बजेदेखि नै लाइनमा बसेको हो । तर अहिलेसम्म पालो आएको छैन, काम बन्ला र कोठामा गएर खाना बनाएर खाउँला भन्ने सोचले आएको अझैँ पालो आएको छैन,’ उहाँले भन्नुभयो ‘अघिल्लो चोटी आउँदा भन्दा अहिले छिटो हुन्छ कि भन्ने सोचेको तर अहिले पनि यही समस्या भोग्नुपर्यो,’ उहाँले भन्नुभयो ।

विभागका कर्मचारीले अनायासै अल्मलाउने र थोरै समस्या भए पनि धेरै बेर कुराउने गरेको उहाँको दुःखेसो छ । ‘यहाँका कर्मचारीहरुले धेरै अल्मल्याइदिनुहुन्छ । कहिले परिचयपत्रका लागि सिंहदरबार जानूस् भन्नुहुन्छ । कतिखेर यहीँ बन्छ, भन्नुहुन्छ । आजमात्रै दुई पटक मेरो तस्बिर खिच्नपर्छ भन्नुभयो,’ तिमिल्सिना भन्नुहुन्छ ,‘खाजा खान गए पनि डेढ घण्टा लगाइदिनुहुन्छ, के गर्नु हामी त कुर्नैपर्यो ।’ यी त केही उदाहरण  घटना मात्र हुन् ।

दैनिकजसो राहदानी विभागको गेटमा लाइन बसेपछि कागजात पुगेन, पछि सबै लिएर आउनूस् भन्ने आदेशपछि धेरैजना फर्कनुहुन्छ ।

यता, राहदानी विभागका प्रवक्ता शरदराज आरनले सेवाग्राहीलाई प्रक्रिया बारेमा प्रर्याप्त ज्ञान नहुँदा पनि समस्या भएको बताउनुभएको छ । 'धेरै सेवाग्राहीहरु प्रक्रिया ने नपुर्याइकन आउनुहुन्छ । त्यसपछि लाइन बसेर अन्तिममा दुःख पाउनुहुन्छ', उहाँले भन्नुभयो ।


परिचयपत्र बनेको तीन दिनसम्म राहदानीका लागि आवेदन नभर्न उहाँको आग्रह छ । ‘अधिकांश सेवाग्राहीहरु परिचयपत्रका लागि फोटो खिचेपछि तत्काल राहदानीका लागि आवेदन भरेर आउनुहुन्छ,’आरनले भन्नुभयो तर बनेको कोड नम्बर म्यासेजमा नआएसम्म राहदानी बनाउँदा 'एसेप्ट' गर्दैन त्यसकारण उहाँहरुको काम तत्काल बन्दैन, अनि हामीसँग गुनासो गर्नुहुन्छ ।’

कतिपय सेवाग्राहीहरु आफ्नो समयभन्दा अघि नै आएर लाइन बस्ने कारणले पनि भीड भएको उहाँ बताउनुहुन्छ । जिल्लाबाट पनि राहदानी बनाउने गरिए पनि धेरैले राहदानीका लागि जिल्ला छाडेर काठमाडौं नै आउने गरेको उहाँको भनाइ छ ।

‘जिल्लाबाट पनि राहदानी बन्छ । तर, धेरैलाई काठमाडौं गएपछि राहदानी पनि छिटो बन्छ । घुमघाम पनि हुन्छ, आफन्त पनि भेट्न पाइन्छ भन्ने मानसिकता हुन्छ, त्यसकारण विभागमा बढी भीड भएको छ,’ उहाँले भन्नुभयो । ‘धेरैलाई जिल्लाबाट आवेदन गर्दा ३० देखि ४५ दिन लाग्छ भन्ने बुझाइ छ’, विभागका प्रवक्ता आरन भन्नुहुन्छ, ‘त्यो पूर्ण रूपमा गलत हो । काठमाडौंबाट नजिकका जिल्लामा ढिलोमा १० दिन र टाढाका जिल्लामा १५ दिनमा पाइन्छ ।’


अहिले विभागले दिनमा २४ सयका दरले फारम भर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ । तर पहिलेका म्याद सकिएका राहदानी नवीकरण गर्न आउने भएका कारण भीड देखिएको उहाँकाे भनाइ छ । उहाँका अनुसार प्रत्येक हप्ता जिल्लाबाट आएका पासपोर्टका आवेदनका आधारमा छपाई गर्ने र हुलाकमार्फत पठाउने व्यवस्था मिलाइएको छ । ‘जसलाई इमर्जेन्सी परेको छ र एक हप्तामा पासपोर्ट चाहिएको छ उहाँहरु मात्र काठमाडौं आउनु उपयुक्त हुन्छ’, आरनले भन्नुभयो, ‘छिटो हुन्छ भनेर आउनेको भीड काठमाडौंमा बढेको छ ।’

उहाँले अहिले राहदानी विभागले दैनिक नाै हजारसम्म पासपोर्ट छपाई गर्नसक्ने बताउनुहुन्छ । विभागका अनुसार अहिलेसम्म ५५ जिल्ला प्रशासन कार्यालय र ८ वटा इलाका प्रशासन कार्यालयबाट ई–पासपोर्टको आवेदन दिने व्यवस्था भइसकेको छ । उहाँले काठमाडौंमा आएर आवेदन गर्नेले पनि अहिले ३ दिन भित्र पासपोर्ट पाउने अवस्था नरहेको बताउनुभयो ।


जिल्लाबाट पासपोर्ट आवेदन गर्न ५ हजार रूपियाँ शुल्क लाग्छ भने काठमाडौंमा तीन दिनभित्र पासपोर्ट प्राप्त गर्न १२ हजार रूपियाँ शुल्क तोकिएको छ । पासपोर्ट हराएर आवेदन गर्नेलाई विभागले १७ हजार रूपियाँ शुल्क लिने गरको छ । ६४ पेजको पासपोर्ट लिनेलाई २० हजार  रूपियाँ शुल्क लिने गरेको छ । ६४ पृष्ठको पासपोर्ट हराउनेलाई विभागले २५ हजार  रूपियाँ शुल्क लिने व्यवस्था गरेको छ ।

ई–पासपोर्ट सेवा उपलब्ध गराउन सुरू गरेका जिल्ला प्रशासन कार्यालयले कर्मचारी अभाव रहेको बताउँदै आएका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा ई–पासपोर्टको आवेदन दिन विहान ४ बजेदेखि नै सर्वसाधारण लाइन लाग्न पुग्ने गरेका छन् ।



Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।