• १३ पुस २०८२, आइतबार

गोलन्जोरमा चौबिसै घण्टा सेवा

blog

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा भर्खरै सञ्चालनमा आएको १५ शøयाको आधारभूत अस्पताल । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, मङ्सिर ५ गते  । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारस्थित गोलन्जोर आधारभूत अस्पतालले अब चौबिसै घण्टा सेवा सुरु गरेको छ ।

‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार गत असोज ५ देखि १५ शøयाको उक्त अस्पताल सञ्चालनमा आएको थियो । उक्त अस्पतालले आफ्नो सेवा विस्तार गर्ने व्रmममा सोमबारदेखि पाँच श-याको आकस्मिक कक्षसहित अब चौबिसै घण्टा सेवा सुरु गरेको जनाएको छ ।

अब अस्पतालमा फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा नियमित रूपमा उपलब्ध भएको गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले जानकारी दिनुभयो । उक्त अस्पतालबाट गोलन्जोर गाउँपालिकाबाहेक छिमेकी फिक्कल र सुनकोशी गाउँपालिका तथा रामेछाप, ओखलढुङ्गा र खोटाङ जिल्लाका सीमावर्ती बासिन्दालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब आधारभूत स्वास्थ्य उपचारका लागि यस भेगका नागरिकले जिल्ला सदरमुकाम सिन्धुलीमाढी, धुलिखेल, काठमाडौँ तथा अन्य निजी अस्पताल खोज्दै धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरेको छु ।” मध्यपहाडी लोकमार्गको सहज पँहुचमा रहेको गोलन्जोर आधारभूत अस्पताल आउनजान यातायातको समस्या नपर्ने स्थानीय बताउँछन् ।

अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा पालिका जुटिरहेको गाउँपालिकाका अध्यक्ष बरालले सुनाउनुभयो । ग्वाल्टारमा सञ्चालित स्वास्थ्य चौकीको स्तरोन्नति गरी अस्पतालका लागि हुनुपर्ने मापदण्डबमोजिमको नयाँ भवन निर्माण गरेर उक्त अस्पताल सञ्चालन गरिएको हो । अस्पताल सञ्चालनका लागि कार्यालय सहयोगीबाहेक ३२ जना विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरेको गाउँपालिकाले जनाएको छ ।

“अहिले एक जना एमबिबिएस चिकित्सक व्यवस्था गरी नागरिकलाई सेवा प्रवाह भइरहेको छ,” गाउँपालिकाका अध्यक्ष बरालले भन्नुभयो, “स्रोतसाधन जुट्दै गएपछि त्यही अनुसार जनशक्ति पनि थपिँदै जाने छन् । अस्पताल पूर्ण रूपमा सञ्चालन हँुदा नौ जना विशेषज्ञ चिकित्सक नै रहने व्यवस्था गरिएको छ ।” 

अस्पताल सञ्चालनका लागि ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको प्राविधिक सहयोगमा छ करोड ७६ लाख २१ हजार १३५ रुपियाँको लागतमा नयाँ भवन निर्माण गरिएको छ । उक्त अस्पताल सञ्चालनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा र गोलन्जोर गाउँपालिकाबिच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्ने सम्झौता भएको छ । 

नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा नागरिकलाई स्थानीयस्तरमा नै आधारभूत स्वास्थ्य सेवा दिन पछिल्लो समयमा स्थानीय तहले उक्त अस्पताल सञ्चालन गर्दै गएका हुन् । हालसम्म कमलामाई नगरपालिकामा सय श-याको अस्पताल सञ्चालनमा रहेको छ । त्यस्तै दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाले पनि १५ शøयाको अस्पतालको भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइसकेका छन् । 

बाँकी हरिहरपुरगढी, मरिण, सुनकोशी गाउँपालिकामा उक्त आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । घ्याङलेख गाउँपालिका–३, सोलाभन्ज्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।