• ११ मंसिर २०८२, बिहिबार

स्टार्टअप कर्जा माग्ने दोब्बर बढे

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, मङ्सिर ११ गते । स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यम कर्जामा आकर्षण बढ्दै गएकाले गत वर्षभन्दा दोब्बर सङ्ख्यामा परियोजनाको प्रस्ताव परेको जानकारी दिनुभयो । “यस वर्ष बजेट कम भएकाले चार सय देखि ५५० उद्यमीलाई कर्जा उपलब्ध गराउने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो । “छनोटमा परेका उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा पाँच लाखदेखि २० लाख रुपियाँसम्म कर्जा उपलब्ध गराइने छ ।

प्रतिष्ठानमै आई दुई हजार ४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएको र अनलाइनमार्फत आठ हजार २०३ जनाले प्रस्ताव दर्ता गराएको उहाँले जानकारी दिनुभयो । 

सरकारले चालु आवका लागि स्टार्टअप कर्जा दिन ७३ करोड रुपियाँ बजेट छुट्याएको छ । विनियोजित बजेटबाट प्रशासनिक खर्चका लागि तीन प्रतिशत कटाएर बाँकी रकम कर्जा प्रवाह गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपियाँसम्म कर्जा वितरण गर्दै आएको थियो । यस पटक कार्यविधि संशोधन गरेर कर्जाको सीमा २० लाख पियाँसम्म झारेकोछ । प्रतिष्ठानले गत आव २०८१/८२ मा छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपियाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो । 

यस्तै आव २०८०/८१ मा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो ।