• ८ मंसिर २०८२, सोमबार

धर्तीको स्वर्ग रारा

blog

भाइबहिनीहरू, तपाईंहरूले राराको नाम पक्कै सुनेको हुनु पर्छ । रारालाई धर्तीको स्वर्ग भनेर पनि चिनिन्छ । धार्मिक मान्यता अनुसार नेपालमा विभिन्न धाम छन् । वराहक्षेत्र, पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, रुरुक्षेत्र जस्तै छायानाथ क्षेत्र छ । यो हिन्दुहरूको प्रसिद्ध धाम हो । कर्णाली प्रदेशमा रहेको मुगु जिल्लामा छायानाथ रारा नगरपालिका छ । साबिकको श्रीगर, कार्मीवाडा, रोवा, रुगा र पिना गाउँ विकास समितिलाई गाभेर नयाँ नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १४ वटा वडामा विभाजन गरिएको छ । 

नेपालको सबैभन्दा ठुलो राराताल यसै नगरपालिकामा पर्दछ । मुगु कर्णाली नदी पनि यसै नगरपालिका भएर बग्दछ । यहाँ छायानाथ ठाकुरको नित्यपूजा हुने गरेको छ । त्यसका लागि चैन गाउँमा गाथ रहेको छ । यहाँ ऋणी मोक्ष तीर्थस्थल, कालिका मालिका मन्दिर, थार्पा मन्दिर, महादेव मन्दिर आदि धार्मिक स्थल रहेका छन् । तपाईंहरूले एक रुपियाँको नोटको पछाडिपट्टि हिमालको तस्बिर देख्नुभएको छ ? त्यो तस्बिर चङ्खेली हिमालको हो । त्यो हिमाल पनि यसै नगरपालिकाभित्र पर्दछ । 

अचेल रारातालमा जानेको भिड अत्यधिक हुने गरेको छ । यातायातको सुविधाका कारण राराताल जान त्यति कठिन छैन । हवाई मार्ग भएर जाने हो भने नेपालगन्जदेखि विमानबाट जान सकिन्छ । मुगुको विमानस्थल ताल्चा भन्ने ठाउँमा भएकाले यहाँको विमानस्थललाई ताल्चा एयरपोर्ट भन्ने गरिन्छ । सवारीसाधनबाट जाँदा सुरुमा बाँकेको कोहलपुरबाट सुर्खेत पुग्नु पर्छ । त्यहाँबाट दैलेख, कालीकोट, जुम्ला हुँदै मुगु पुग्न सकिन्छ । ताल्चा एयरपोर्टबाट मुगुको सदरमुकाम गमगढी जाने र राराताल जाने बाटो छुट्टिन्छ । गाडीबाट झरेपछि राराताल पुग्न केही समय हिँड्नु पर्छ । हिँड्न नसक्नेका लागि घोडाको पनि सुविधा छ ।  

विसं २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यो नगरपालिकाको कुल जनसङ्ख्या २४ हजार ५२७ रहेको छ । यो नगरपालिकाको क्षेत्रफल ४८ हजार ६९ हेक्टर छ भने यहाँ खेतीयोग्य जमिन चार हजार ४०३ हेक्टर मात्र छ । यहाँ समथर भूमि खासै छैन । भिरालो जमिन भएकाले कृषि उत्पादन पर्याप्त हुन सकेको छैन । यहाँको सिमी नेपालभरि प्रख्यात छ । चिसो मौसममा उत्पादन हुने भएकाले सिमी मिठो हुन्छ । 

यहाँको साक्षरता दर ७०.७० प्रतिशत रहेको छ । यस नगरपालिकामा पुरुष करिब ८० प्रतिशत र महिला ६१ प्रतिशत साक्षर छन् । यस नगरपालिकामा विद्यालयमा ४४ र समुदायमा चार वटा बालविकास केन्द्र सञ्चालित छन् । सामुदायिक आधारभूत विद्यालय ३७ वटा र माध्यमिक विद्यालय आठ वटा छ भने संस्थागत आधारभूत विद्यालय एउटा र माध्यमिक विद्यालय तीन वटा छ । यस नगरपालिकामा छ वटा स्वास्थ्य चौकी, १० वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन वटा स्वास्थ्य सेवा एकाइ, नौ वटा बर्थिङ सेन्टर र २५ वटा खोप केन्द्र छन् ।        

– राजेन्द्र श्रेष्ठ   

   मुना