• ३० कात्तिक २०८२, आइतबार

दलितको दुध किन्दा डेरी नै बन्द

blog

२६ वर्षदेखि उन्नत जातको गाईपालन गर्दै आउनुभएका शेरबहादुर कुँवर दम्पती ।

अहिले समय केही फेरिएको छ । समाजमा जागरण फैलिएपछि सार्वजनिक स्थानमा दलितमाथि हुने विभेद हट्दै गएको छ । राज्य र स्थानीय तहले सहयोग गरेर दलित समुदायको दुध पुनः किन्ने अभियान चलाउने योजनामा छु ।

गोकर्ण दयाल

बैतडी, कात्तिक  ३० गते । बैतडीमा उन्नत जातका गाई भित्र्याएर दुधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले समेत पहिलो पटक जातीय विभेदको पीडा खेप्नु परेको छ । डेरी पसलमा दलित समुदायको दुध किन्न सुरु गरेपछि उहाँले जातीय विभेदको पीडा मात्रै खेप्नु भएन, उहाँको डेरी पसल नै बन्द भएको छ । 

दशरथ चन्द नगरपालिका–५, नौहाटका शेरबहादुर कुँवरले २६ वर्षदेखि उन्नत जातको गाई पाल्दै आउनुभएको छ । जिल्ला सदरमुकामका होटेलमा दुधको आपूर्ति गर्न उहाँले २०५६ सालमा भारतको पिथौरागढबाट उन्नत जातको गाई भित्र्याएको बताउनुभयो । सदरमुकाममा मात्रै अहिले चार सयभन्दा बढी उन्नत जातका गाई रहेको नगरपालिकाको तथ्याङ्क छ । 

उहाँले भन्नुभयो, “मेरो ससुराली भारतको पिथौरागढ हो । त्यहाँ उन्नत जातको गाई पालन गरेको देखेपछि २०५६ सालमा सात दिन हिँडेर उन्नत जातको गाई बैतडी ल्याइपु¥याएँ । दलित, गैरदलित सबै किसानलाई आबद्ध गरेर कामधेनु दुग्ध सहकारी खोलेँ । दलित समुदायको दुध किन्न सुरु मात्र के गरेको थिएँ, शेरबहादुरले त दलितको दुध किन्न थाल्यो भन्दै हल्ला फैलियो । त्योबेला दलितलाई होटेलमा प्रवेश गर्न समेत दिइँदैनथ्यो । दुध किन्ने ग्राहक भड्किएपछि डेरी पसल बन्द भयो । दुध खेर जाने अवस्था आयो ।” कुँवरको डेरी पसल बन्द भएयता अहिले पनि दलित समुदायको दुध बिक्री हुँदैन ।

पीडा सुनाउँदै उहाँले थप्नुभयो, “सदरमुकामका अधिकांश होटेलमा पाउडर दुधको चिया खानुपर्ने बाध्यता भएका बेला दुधको आपूर्ति गर्न खोज्दा जातीय विभेदको पर्खाल खडा भयो । तैपनि हिम्मत हारिनँ । गाउँभरिको दुध घरमै सङ्कलन गरेर बिक्री गर्न सुरु गरेँ ।” भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । उहाँलाई धर्मपत्नी देवकी कुँवरले हौसला दिनुभयो । डेरी पसल बन्द भए पनि दलितलाई घरमै दुध लिन आउने सुझाव दिएपछि शेरबहादुरले जर्किनमा दुध बोकेर सरकारी कर्मचारी, सेनाप्रहरीका ब्यारेक र डेरामा बस्ने दलित विद्यार्थीलाई दुधको आपूर्ति गर्न सुरु गर्नुभयो । कष्टका दिन सम्झिँदै देवकी कुँवरले भन्नुभयो, “डेरी पसलमा दलित समुदायले सबैभन्दा राम्रो दुध ल्याउँथे । दुधको शुद्धता परीक्षण गर्दा पानीको एक थोपा पनि मिसाइएको हुँदैनथ्यो । तैपनि समाजले कुरा काट्न थालेपछि डेरी पसल बन्द भयो ।” 

डेरी बन्द भए पनि कुँवर दम्पतीले उन्नत जातको गाईका बाच्छाबाच्छी हुर्काएर बिक्री गर्दै गाईपालनको यात्रा अहिलेसम्म निरन्तर चलिरहेको छ । उहाँका छोरा हेमन्त कुँवर मोटरसाइकलमा घर घरमा दुध पु¥याउँदै आउनुभएको छ । आमाबुवाको सपनालाई छोराबुहारीले पूरा गरिरहेको हेमन्तले बताउनुभयो । कुँवर दम्पतीको घरमा अहिले होलेस्टाइन ब्रिजिया जातको उन्नत गाईले दैनिक ३० लिटर दुध दिने गरेको छ । हेमन्त कुँवर दुध बेच्न बजार जाँदा मोटरसाइकलमा अन्य गाउँलेको पनि दुध बिक्री गरिदिने काममा सघाइरहनुभएको छ ।

उन्नत जातको बहर छैन

उन्नत जातको गाईपालन गर्दा जिल्लामा उन्नत जातको बहर नहुँदा गाईपालन गर्ने उहाँ जस्तै किसान समस्यामा परेका छन् । गाईको गर्भाधारण हुने बेला दुई महिनाअघि जिल्लामा बहर र कृत्रिम गर्भाधान गर्ने सुविधा नहुँदा भारतको पिथौरागढबाट पशुविज्ञ चिकित्सक बोलाएर कृत्रिम गर्भाधान गराएको कुँवर दम्पतीले बताउनुभयो । 

ब्युँतियो कामधेनु गोरस भण्डार

दुध बेच्न पाइलैपिच्छे सङ्घर्ष गर्दै आउनुभएका कुँवरले हाल फेरि सदरमुकामको दशरथ चन्द नगरपालिका–४, शाहीलेक बजारमा कामधेनु गोरस भण्डार स्थापना गरेर दुग्धजन्य पदार्थ, मोही, खुवा र पनिर बनाउन सुरु गर्नुभएको छ । 

सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो । सदरमुकाममा पुनस्र्थापना गरेको कामधेनु गोरस भण्डारलाई भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले खुवा बनाउने मेसिन उपकरण सहयोग गरेको छ । अहिले त समय केही फेरिएको छ । समाजमा जागरण फैलिएपछि सार्वजनिक स्थानमा दलितमाथि हुने विभेद हट्दै गएको छ । राज्य र स्थानीय तहले सहयोग गरेर दलित समुदायको दुध पुनः किन्ने अभियान जिल्लाव्यापी बनाउने सोच रहेको उहाँले बताउनुभयो ।